|

सन्दर्भ वि. सं. २०३६ तिरको हो, जतिबेला देशमा पंचायतविरुद्ध आन्दोलन चलिरहेको थियो। तात्कालीन राजनीतिक दलका नेता, कार्यकर्ता भूमिगत जीवन बिताइरहेका थिए। अर्कातिर विद्यार्थी आन्दोलन चर्किंदै थियो। जनमतसंग्रहको माहोल बन्दै थियो। 

तात्कालीन नेकपा (माले) पनि पंचायतविरोधी आन्दोलनमा सक्रिय थियो। धेरै नेताहरू भूमिगत रूपमा आन्दोलनको मोर्चामा थिए। कोही भारत प्रवासमा रहेर पंचायतविरुद्ध गतिविधि गरिरहेका थिए भने कोही देशभित्रै लुकेर।

युवावयका त्रिलोचन ढकाल त्यस समय माले निकट विद्यार्थी संगठन अनेरास्ववियुमा थिए। पार्टीले अनेरास्ववियुको पर्चा छाप्न उनलाई वनारस पठाउने निर्णय गर्‍यो। पर्टीकै निर्णय मुताबिक उनी लागे वनारसतर्फ। तर उनलाई वनारस पुग्नु त्यति सहज कहाँ थियो र!

उनी पाल्पा पुगे पहिले, जहाँ जीवराज आश्रित थिए। जीवराजलाई भेटेपछि उनी रूपन्देहीतर्फ लागे, जहाँ प्रदीप नेपाल थिए। हो, उनै प्रदीप नेपालले ढकाललाई वनारसमा कसलाई, कहाँ भेट्ने भनेर जानकारी गराए। ‘प्रदीप नेपालले नारायण भन्ने व्यक्तिको ठेगाना दिनुभयो’, ढकालले भने, ‘म खोज्दै उनीकहाँ पुगेँ।’

त्यही बेला अर्का नेता मोदनाथ प्रश्रित पनि वनारस पुगेका रहेछन्– पार्टीका दस्तावेजहरू छाप्न। उता मदन भण्डारी पनि ती दस्तावेज लिन वनारस नै पुगेका रहेछन्। भर्खर भूमिगत राजनीति सुरु गरेका ढकालले मदन भण्डारीसँग पहिलो पटक त्यहीँ भेटेछन्। केही दिनको भण्डारीसँगको बसाइले उनलाई अझ बढी दृढ बनाएछ- राजनीतिमा लाग्न। ‘पाँच-छ दिन सँगै बसियो’, ढकाल भन्छन्, ‘उहाँ (मदन)को राजनीतिक दर्शनको व्याख्या र प्रस्तुतिले यति प्रमावित पारेछ कि म पूरै जीवन राजनीतिमा सक्रिय बनेँ।’

मदन भण्डारी रसिक मिजाजका भएको उनको भनाइ छ। वनारसमा रहँदा पनि गीत गाउने र गीतबाटै आन्दोलनका लागि ऊर्जा दिलाउने भण्डारीको स्वभाव रहेको ढकाल बताउँछन्। ‘उहाँ क्रान्तिकारी गीत गाऔँ भन्नुहुन्थ्यो’, ढकालले भने, ‘मैले गीत त गाएँ तर मिलेनछ अनि चौधरीले सिकाउनुभएन? भनेर सोध्नुभयो।’ वामदेव गौतमको छद्मनाम रहेछ चौधरी।

त्यसपछि मदनले गाएछन् :

आउँदैन है जनवाद भाषण ठोकेर
आउँदैन है जनवाद बाकस थापेर।

मदनले मीठो भाकामा यो गीत गाएपछि त्रिलोचनले यही गीत टिपेर ल्याएछन् र गाउँघरमा लोकप्रिय बनाएछन्। ‘त्यसबेला यो गीत निकै लोकप्रिया बनेको थियो’, ढकाल सम्झन्छन्।

सन्दर्भ वि. सं. २०४२ तिरको हो। उनी भूमिगत थिए, उनी जस्तै प्रायः सबै नेता भूमिगत थिए किनभने देशमा निर्दलीय पंचायती व्यवस्था कायम थियो। अझ २०३७ सालको जनमतसंग्रहमा बहुदल हारिसकेको थियो। 

उनी त्यसबेला पार्टीका गण्डकी-धवलागिरि कमिटीका सचिव थिए। पार्टीको केन्द्रीय कमिटी बैठक उक्त क्षेत्रमा आयोजना गर्ने निर्णय भयो। बैठक तयारीको जिम्मेवारी पाए ढकालले। झलनाथ खनाल महासचिव थिए त्यसबेला। हो, त्यहीँ भेट भयो उनको मदनसँग दोस्रो पटक। मदनले सोधेछन्, ‘हेर्नुहोस् राजन कामरेड (त्यसबेला त्रिलोचनको भूमिगत नाम रहेछ राजन), पंचायत निर्दल छ, कसैको अस्तित्व स्वीकार्दैन। हामी कम्युनिस्टले स्वीकार्ने कि नस्वीकार्ने?’

ढकालले भनेछन्, ‘सबैको अस्तित्व स्वीकार्ने।’ ढकाललाई अहिले लाग्छ, सायद पंचायतको निर्दलीयताको पीडाका कारण मदनले यसरी उदार हुने सोच बनाएका हुन्।

वि.सं. २०४३ मा राष्ट्रिय पंचायतको चुनाव हुने भयो। माले पार्टीले उक्त चुनावको ‘उपयोग गर्ने’ भन्ने निर्णय गर्‍यो। उक्त निर्णय पनि मदनकै भएको ढकाल बताउँछन्। ‘हुनत नेता झलनाथ हुनुहुन्थ्यो तर उक्त निर्णयचाहिँ मदनकै थियो।’ 

यस निर्णयले ठूलै तहल्का निम्त्यायो। पद्मरत्न तुलाधर, सोमनाथ प्यासी, जागृत भेटवाल, द्रोणाचार्य क्षेत्रीलगायतका नेताले राष्ट्रिय पंचायतमा निकै ठूलो भूमिका खेलेको ढकालको भनाइ छ।

यसपछि पार्टीभित्र कम्युनिस्ट निरंकुश हुनुहुँदैन भन्ने कुरालाई मदनले स्थापित गराएको ढकाल बताउँछन्। ‘कम्युनिस्ट निरंकुश हुनुहुँदैन भन्ने मान्यता नै मदन भण्डारीको हो’, ढकाल भन्छन्, ‘त्यसपछि मार्क्सवादबारे पनि व्यापक बहस भयो पार्टीभित्र।’

ढकालका अनुसार पार्टीभित्र मदनभन्दा सिनियर अन्य धेरै भए पनि धेरैजसो कुरा मदनकै मानिने गर्थ्यो। मदनको तर्कपूर्ण अडानका कारण पनि अरूले उनका कुरा काट्न नसकेको ढकाल बताउँछन्। यसबीचमा पार्टीभित्र मार्क्सवादबारे निकै गहन र लामो छलफल भएको र अन्त्यमा मार्क्सवाद एकतन्त्रीय र निरंकुश होइन भन्ने निष्कर्षमा पार्टी पुगेको ढकालले बताए।

वि.सं. २०४६ मा पार्टीको चौथो महाधिवेशन भयो। महाधिवेशनले ‘नौलो जनवाद’लाई त्यागेर ‘बहुदलीय जनवाद’लाई पास गर्‍यो। पर्टीभित्र बहुदलीय व्यवस्थालाई कि संविधानसभालाई कार्यनीति बनाउने भन्ने विषयमा व्यापक बहस भयो। पछि बहुदलीय व्यवस्थाका लागि आन्दोलन गर्ने कुरा भयो, त्यो पनि मदन भण्डारीकै प्रस्तावमा।

वि. सं. २०४६ भदौमा भएको चौथो महाधिवेशनबाट भण्डारी पार्टी महासचिव बने।

मदन भण्डारी लोकप्रिय बन्दै थिए, उनको भाषण र तर्क कला अनि साहसका कारण राष्ट्रिय, अन्तर्राष्ट्रिय ध्यान उनीमाथि थियो। त्यही बेला अमेरिकाको एउटा अखबार ‘न्यूजविक’ले ‘कार्ल मार्क्स नेपालमा जीवित छन्’ भनेर लेख्यो। ‘हामीले ठान्यौँ– पश्चिमाले उहाँलाई कति छिटो चिनेछ’, ढकालले भने, ‘तर पछि उहाँको रहस्यमय हत्या भयो।’

त्यही साल मंसिरमा पोखरामा केन्द्रीय कमिटी बैठक भयो। त्यस बेलैदेखि ढकाल पनि पार्टीका केन्द्रीय सदस्य बनेका थिए। बैठकले संयुक्त वाम मोर्चा बनाएर कांग्रेससँग मिलेर पंचायतविरुद्ध आन्दोलन गर्ने निर्णय गर्‍यो, त्यो पनि मदन भण्डारीकै पहलमा।

आन्दोलन भयो। आन्दोलन सफल पनि भयो। तर मदन आफू भने सार्वजनिक भएनन्। झलनाथ खनाललाई अघि सारे। ‘हुनसक्थ्यो फेरि भूमिगत हुनुपर्ने आँकलन थियो उहाँ (मदन)मा’, ढकालले भने, ‘त्यही भएर उहाँ सार्वजनिक हुन चाहनुभएन।’

२०४७ बैशाख ३ गतेको पार्टी केन्द्रीय कमिटीको बैठकमा अचानक मदनले पार्टी खुला गर्ने प्रस्ताव ल्याए तर सीपी मैनालीलगायतका केही नेता भने पार्टी खुला नगर्ने पक्षमा थिए। ‘अचानक मदनले पार्टी खुलाको प्रस्ताव ल्याउनुभयो’, ढकालले भने, ‘त्यसबेलासम्म पार्टी खुला गर्ने भन्ने कुरै थिएन।’ त्यसपछि सीपीलगायतका नेतालाई पार्टी खुलाका लागि ‘कन्भिन्स’ गर्न मदनलाई निकै जोड परेको ढकालले बताए। यद्यपि, मदनले आफूलाई पार्टी महासचिव नभनेर पार्टी प्रवक्ताको रूपमा मात्र चिनाए त्यसबेला। २०४७ कार्तिक २३ गते, जब संविधान जारी भयो, त्यसपछि ने मदन पार्टी महासचिवका रूपमा सार्वजनिक भएका ढकाल बताउँछन्।

घर र गाडी अस्वीकार

मदन सादा जीवन, उच्च विचारमा विश्वास गर्थे। धेरै कुरा नगर्ने, राजनीतिक, सैद्धान्तिक कुरा मात्र गर्ने, साधारण जीवनशैली मनपराउने मदन प्रायः साइकलमा हिँड्थे। 

ज्ञानेश्वरमा डेरामा बस्दै आएका मदनलाई एक पटक उनको डेराका छिमेकी घरका व्यक्तिले भनेछन्, ‘तपाईं पार्टी महासचिव, म घर बनाइदिन्छु।’ उनले भनेछन्, ‘मलाई किन चाहियो घर? डेरा छँदै छ नि!’ त्यसपछि तिनै व्यक्तिले पुनः प्रस्ताव गरेछन्, ‘तपाईंको सुरक्षाका लागि साइकल होइन, कार जरुरी छ, म किनिदिन्छु।’ भण्डारीले उक्त प्रस्ताव पनि अस्वीकार गरेछन्। ‘त्यसपछि ती छिमेकीले मदनलाई आफ्नै कारमा राखेर हिँडाउन थाले’, ढकालले भने।

पछि पार्टीले पजेरो किन्यो, जुन पजेरो दुर्घटनामा मदन र जीवराजको मृत्यु भयो।

वि. सं. २०४९ मा पार्टीको पाँचौँ महाधिवेशन भयो। महाधिवेशनमा ‘सत्ता वर्गीय हुन्छ र सत्ताले एउटा वर्गको मात्र प्रतिनिधित्व गर्छ’ भन्ने मार्क्सवादी मान्यतामाथि बहस भयो। र, मदनकै प्रस्तावमा ‘सर्वहारा अधिनायकत्व स्थापित गर्ने’ शब्दावली हटाइयो। ‘मदनको मान्यता थियो कि सर्वहारा सत्तामा पुगेपछि स्वतः सर्वहारा अधिनायकत्व स्थापित हुन्छ’, ढकालले भने।

सीपी मैनाली पार्टीभित्रका प्रतिपक्षी

सीपी र मदनबीच निकै टकराव भइरहन्थ्यो। पाँचौँ महाधिवेशनमा मदनलाई सीपी र झलनाथले ‘संशोधनवादी’को आरोप पनि लगाए। ‘मदन र सीपीबीच निकै तल्लोस्तरको अपमानजनक व्यवहारसम्म हुन्थ्यो’, ढकालले भने। पछि पार्टीले किनेको पजेरोलाई लिएर पनि सीपी र मदनबीच विवाद हुने गरेको ढकालले बताए। ‘पार्टीले किनेको पजेरो मदनलाई मात्र किन? मलाई पनि चाहियो भनेर गाडी लिएर हिँड्थे सीपी’, ढकालले भने।

मदन भण्डारी लोकप्रिय बन्दै थिए, उनको भाषण र तर्क कला अनि साहसका कारण राष्ट्रिय, अन्तर्राष्ट्रिय ध्यान उनीमाथि थियो। त्यही बेला अमेरिकाको एउटा अखबार ‘न्यूजविक’ले ‘कार्ल मार्क्स नेपालमा जीवित छन्’ भनेर लेख्यो। ‘हामीले ठान्यौँ– पश्चिमाले उहाँलाई कति छिटो चिनेछ’, ढकालले भने, ‘तर पछि उहाँको रहस्यमय हत्या भयो।’

ढकाल मदनलाई क्रान्तिपछि पनि बहुलवाद लागू गर्ने संसारमै कहीँ नभएको मान्यता अघि सारेर स्थापित गर्ने नेताका रूपमा स्मरण गर्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.