|

सात दशक उमेरपछि पनि युवाजत्तिकै जोश र जाँगर कमैमा हुन्छ। गल्दो शरीर, कमजोर हुँदै जाने स्मरणशक्ति, शिथिल बन्दै जाने उत्साह, अहँ देखिँदैन कतै। उस्तै जोश, उस्तै उमङ्ग, उस्तै क्रियाशीलता, जो हिजो थियो।

सत्तरी वर्षअघि पश्चिम नेपालको अर्धाखाँची जिल्लामा जन्मिएका लोकबहादुर राना बाल्यकालमै छिमेकी मुलुक हिन्दूस्तान छिर्छन्। त्यहीँ म्याट्रिकसम्म अध्ययन गर्छन् र विक्रमको २० को दशकमा नेपाल छिर्छन्।

नेपाली नागरिकता प्राप्त गर्न उनलाई केही समय लाग्छ। त्यसबीचमा उनी भैरहवामा रिक्सा चलाउँछन्। जीवन निर्वाहका क्रममा आएका कुनै पनि कामलाई सानो या ठूलो ठान्दैनन् उनी। भन्छन्, 'जीवन जिउनु भनेकै यही त हो।' जीवन जिउने क्रममै लोकबहादुर राना भैरहवामा नै रक्सी पसल, चिया पसल चलाउँछन्। भुटेका चना र भटमासका प्याकेट बनाएर पनि बेच्छन्। केही समय पुराना अखबारका कलात्मक सामग्री हस्तकलाका रूपमा निर्माण गरेर बेच्छन्। यद्यपि, यसमा उनी सन्तुष्ट बन्छन्, बाँच्नुको र्सार्थकताको खोजी जो गरिरहेका हुन्छन्। जीवनलाई सधैँ एकनास होस् भन्ने कामना गर्नु एउटा कुरा तर जीवन त विविध भोगाइमा बाँडिन्छ भन्छन् उनी।

'जुन कुराले कुनै रचना गजल बन्छ, त्यही कुरा नै त्यागिदिँदा त गजल हुँदैन', राना भन्छन्, 'लय, काफिया, भाव र शिल्पलाई नै पालना नगर्दा त हामीले कसरी गजल लेख्छौँ र?'

०२९ सालदेखि लोकबहादुर रानाको जीवनले कोल्टे फेर्छ। स्थानीय एउटा विद्यालयमा निमावि स्थायी शिक्षकका रूपमा जागिरे बन्छन् उनी। झन्डै पाँच वर्षस्थायी शिक्षकको जागिर खाएपछि उनी पुग्छन् तात्कालीन क्रान्तिकारी शक्ति लम्साल र मोदनाथ प्रश्रितको सङ्गतमा। सानैदेखि अन्याय, शोषण र अत्याचार नसहने स्वभावका राना मार्क्सवादी दर्शनबाट प्रेरित हुन्छन् र होमिन्छन् राजनीतिमा। स्थायी शिक्षकको जागिरलाई बिदा दिन्छन् र जनपक्षीय उम्मेदवारका रूपमा निर्वाचनमा सहभागी हुन्छन्। गाउँ पञ्चायतका उपप्रधानपञ्चसम्म बनेका राना यसपछि पनि राजनीतिमा क्रियाशीलता जनाइरहन्छन्। २०५६ को आमनिर्वाचनमा रुपन्देही- २ बाट नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका राना ३०० मतको झिनो अन्तरले हार्छन् र पूर्णरूपेण जस्तै नेपाली साहित्यको सेवामा समर्पित रहन्छन्।

हो, यहाँ लोकप्रिय गजलकार बूँद रानाको कुरा भइरहेको छ। परिवर्तनकारी, लयवद्ध र सन्देशमूलक गजललेखनमा प्रखर बूँद राना गजलवाचनमा पनि उत्तिकै सशक्त छन्। त्यसो त लोकसाहित्य सिर्जना र लोकसाहित्यको विकासमा पनि उनको उत्तिकै क्रियाशीलता देख्न सकिन्छ। बालसाहित्यको विकास र प्रवर्द्धनमा पनि बूँद राना लागिपरेकै छन्। भन्छन्, 'एउटा स्रष्टाको धर्म निभाइरहेको छु।'

प्रसिद्ध गजलकार बूँद रानाले भारत पश्चिम बंगालमा बाल्यकाल बिताए। त्यसबेला उनले प्रसिद्ध भारतीय कविहरू तुलसीदास, कवीरदास, रहिम जस्ता स्रष्टाका छन्दोबद्ध कविता पढ्ने अवसर पाए, जसले उनलाई पद्यसाहित्यप्रति आकषिर्त गर्‍यो। भन्छन्, 'मलाई पनि त्यस्तै छन्दोबद्ध कविता रचना गर्न मन लाग्थ्यो।' त्यसकै प्रभाव हुन सक्छ, उनी आज पनि नेपाली लोकलय, गीतिलय तथा शास्त्रीय छन्द वा बहरमा कविता, गजल रचना गर्न रुचाउँछन्।

वि. सं. २०२२ तिरै बूँदले गजल लेखेका हुन्। भारतमै छँदा हिन्दी भाषामा गजल लेखेर गोष्ठीहरूमा सुनाउने गर्थे उनी। तर उनको गजल पहिलो पटक प्रकाशन भएको चाहिँ वि. सं. २०४५ सालमा 'विमर्श' साप्ताहिकमा हो- 'चिम्लेर आँखा मैले हेरूँ कसरी सपना...।' त्यसपछि भने राना निरन्तर गजलसाहित्यमै समर्पित छन्।

राना पछिल्लो नेपाली भाषाको विवादलाई हठवादिता भन्छन्। 'कुनै व्यक्तिविशेषको हठवादिताका कारण जन्मिएको हो यो', रानाको बुझाइ छ, 'सीमित व्यक्तिको महत्त्वाकाङ्क्षा र आफ्ना कमजोरीलाई सच्याउने तत्परताको अभावमा यो भएको हो।'

साहित्यिक कार्यक्रममा धेरै नबोल्ने उनको बानी छ। भाषण भुषणमा समय खर्चिनु भन्दा एउटा सुन्दर सिर्जना प्रस्तुत गर्नुले बरु साहित्यको विकासमा टेवा पुग्ने उनको मत छ। कुनै पनि साहित्यिक कार्यक्रममा बूँद रानाको उपस्थितिले नै उपस्थित श्रोताहरू सन्तुष्ट बन्ने गर्छन्, कारण- रानाको मन्त्रमुग्ध हुनेगरी लयमा गजलवाचन। वाह वाह र तालीका पर्राले झनै उत्साहित बनाउँछ रानालाई। 'एउटा स्रष्टाले प्राप्त गर्ने सन्तुष्टि यही होइन र', राना भन्छन्। त्यसो त साहित्यमा लागेर प्राप्त हुने एउटा विशिष्ट उपलब्धि नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य बनिसकेका छन् उनी। 'त्यहाँ पनि महत्त्वपूर्ण जिम्मेवारी पाएँ- लोकवार्ता विभाग', राना भन्छन्, 'लोकवार्ता, लोकसाहित्य, लोकसंस्कृति हाम्रा आदर्श हुन्, पहिचान हुन्, जसको विकासका निम्ति काम गर्ने जिम्मेवारी पाउनु मेरा निम्ति सौभाग्य हो।' प्रतिष्ठानमै रहँदा उनले संस्कृति मन्त्रालयलाई अलग बनाउनुपर्ने, त्रिभुवन विश्वविद्यालय जस्तो प्राज्ञिक निकायमा लोकसाहित्य अध्यापन गराइनुपर्ने जस्ता महत्त्वपूर्ण प्रस्ताव अघि सारे, जसमा संस्कृति मन्त्रालय अन्य मन्त्रालयभन्दा अगाडि (नाममा भए पनि) राखिएको छ भने त्रिविले लोकसाहित्यको पाठ्यक्रम निर्माण गरिरहेको छ।

विषय गजल लेख्ने प्रेरणातिर मोडियो। उनले गजलमै उत्तर दिए-

'आँगन टेक्दा भान्सैमा पस्ने तलतली लाउने,

पसेर फिर्ने मनै नलाग्ने ठाम हो गजल।'

उनले लेखेका प्रायः सबैजसो गजलमा देश, राजनीति, अव्यवस्था, कुरीति, विकृति, सीमान्तकृतका आवाज, मानवीय संवेदना आदि विषय बनेर आएका हुन्छन्। के उनीसँग माया (प्रेम) गर्ने मुटु छैन- 'किन नहुनु, प्रेम त शास्वत चिज हो, जो हरेक प्राणीमा हुन्छ', राना भन्छन्, 'मसँग पनि छ।' तर किन गजल, जो यसको उद्भवका आधारमा प्रेमिकासँगको वार्तालापका रूपमा परिचित छ, उनका गजलमा शृङ्गार पाइँदैन त?

गजलकार फैज अहमद फैजले भनेझैँ उनको जवाफ आयो-

 'फुर्सद छैन हिसाब गर्दा घाउ र चोटको

कसरी मैले तारिफ गरौँ गाला र ओठको?'

फैजले पनि हिन्दी गजललाई शृङ्गारबाट बाहिर ल्याउन भनेका थिए-

'और भी गम है जमाने मे मोहब्बत के शिवा' अर्थात् माया प्रेम भन्दा बाहेक अरू दुःख पनि छन् दुनियाँमा। रानाको भनाइ छ, 'समय र सन्दर्भ हरेक कुराको हुन्छ, हाम्रो वर्तमान मायाप्रीतिमा अलमलिने होइन।' तर जीवनमा जस्तै लेखनमा पनि प्रेमलाई चटक्कै बेवास्ता गर्न भने नसकिने उनको बुझाइ छ।

प्रसंग नेपाली गजलमा देखिएको विवादतिर मोडियो। उनलाई यो सामान्य लागेको छ, कारण हामी गजललेखनको प्रारम्भिक चरणमै छौँ। साथसाथै अहिले नेपाली भाषामा गजल लेख्नेको संख्या असंख्य छ, जसले गर्दा फरक मतहरू आउनु र वादविवाद हुनु अन्यथा होइन भन्ने बुझाइ छ रानाको। तर गजल शास्त्रीय विधा भएकाले यसका आधारभूत संरचनाका पक्षहरू लय, काफिया, भाव, शिल्प जस्ता कुरालाई भने बेवास्ता गर्नु नहुने उनको मत छ। 'जुन कुराले कुनै रचना गजल बन्छ, त्यही कुरा नै त्यागिदिँदा त गजल हुँदैन', राना भन्छन्, 'लय, काफिया, भाव र शिल्पलाई नै पालना नगर्दा त हामीले कसरी गजल लेख्छौँ र?' नेपाली गजलमा देखिएको पछिल्लो महत्त्वपूर्ण विवाद लयको बारेमा उनको मध्यमार्गी धारणा आयो। भने, 'हिन्दी, उर्दूमा शास्त्रीय बहरलाई अनिवार्य जस्तै मानिए पनि हामीले सोही स्तरका हाम्रा लोकलय तथा गीतिलयलाई पनि प्रयोग गर्न स्वीकार्य हुनुपर्छ।'

नेपाली भाषा साहित्यमै र्सर्पित भएकाले पछिल्लो समय चलेको भाषा विवादबाट राना पनि टाढा भाग्न सक्दैनन्। मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालमार्फत् नेपाली भाषा बचाउने अभियानमा समेत क्रियाशील राना पछिल्लो नेपाली भाषाको विवादलाई हठवादिता भन्छन्। 'कुनै व्यक्तिविशेषको हठवादिताका कारण जन्मिएको हो यो', रानाको बुझाइ छ, 'सीमित व्यक्तिको महत्त्वाकाङ्क्षा र आफ्ना कमजोरीलाई सच्याउने तत्परताको अभावमा यो भएको हो।' यसको समाधानमा सबै सरोकारवालाको वृहत छलफल र मन्थन आवश्यक भएको उनको धारणा छ। बहुमान्य मानक निर्माणका लागि तत्काल केही काम जरुरी भएको उनी बताउँछन्।

यति लामो जीवन भोगाइमा बूँद रानालाई देशको अवस्था देखेर ज्यादै दुःख लागेको छ। सार्वभौमिकतामाथि पटकपटकको प्रहार उनले सहन सकेका छैनन्। यस्तो कष्टसाध्य जनताको जीवन पनि उनलाई टिठलाग्दो लागेको छ। यही भएर उनी आफ्ना सिर्जनामा देश र जनता मात्र देख्छन्। त्यही विषय बनाउँछन् र आमश्रोता पाठकबाट वाहवाही पाउँछन्, माया र सम्मान पाउँछन् ।

अब जीवनको यो उत्तरार्द्धमा उनलाई धेरै केही गर्न मन छैन, तथापि धेरै साथीभाइको सल्लाह छ- एउटा आत्मकथा लेखून्। तर उनी यसका निम्ति बेफुर्सदी छन्, झनै एकाग्रताको अभाव छ उनमा। बरु एउटा गजलकृति पो निकाल्ने कि भन्ने सोचमा छन्। 'हेर्दै जाऊँ, संभव भएमा केही काम गरिएला', राना भन्छन्।

जीवन क्षणिक हो, यसलाई सकेसम्म सही ढङ्गले सदुपयोग गर्नुपर्छ भन्ने धारणा छ रानाको। धर्म, भगवानमा खासै विश्वास नगर्ने राना अर्को जन्मको भ्रममा छैनन्। यही जीवन नै पहिलो र अन्तिम ठान्छन् उनी। भन्छन्-

'अर्को जनम कसैले देख्यो न देख्न सक्छ,

यही जिन्दगीमै बाजी मारे पो जिन्दगी हो ।'

अन्तिम प्रश्न- जीवनप्रति केही कुनासा वा असन्तुष्टि छन् कि?

भने, 'चल्दै छ जिन्दगी।'

चलिरहोस् प्रसिद्ध गजलकार प्राज्ञ बूँद रानाको जिन्दगी यसरी नै निरन्तर, शुभकामना हाम्रो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.