जुम्लाका बौद्धमार्गीले बनाए आठ करोडमा बोधी चैत्य

|

काठमाडौं : चन्दननाथ नगरपालिकास्थित जुम्ला सदरमुकाम खस, आर्यको बाहुल्य भएको क्षेत्र हो। तत्कालीन कर्णाली अंचल सदरमुकाम रहेको जुम्ला विभिन्‍न नामले परिचित छ। मार्सी धान, जुम्ली सिमी, खस भाषाको उद्गमस्थल सिंजा उपत्यका, स्याउलगायत यहाँका विशेषता हुन्।

यी थुप्रै विशेषताहरूमध्ये जुम्लाका निम्ति अर्को विशेषता पनि थपिएको छ। अब जुम्लालाई बौद्धमार्गीहरूको आस्थाको केन्द्र बोधी चैत्य (डुडुल चैत्य) भएको ठाउँ भनेरसमेत चिनिनेछ। खस, आर्यको बसोबास रहेको जुम्ला अंचल सदरमुकाम भएका कारण लामो समयदेखि मुगुलगायत आसपासका जिल्लाबाट बसाइ सरेर आउने बौद्धमार्गीहरूको बाक्लो बसाइ छ। विशेषतः मुगु जिल्लाबाट आउने बौद्धमार्गीलाई जुम्लामा मुग्याल भनिन्छ। 

त्यही मुग्याल समुदायले जुम्लामा बोधी चैत्य (डुडुल चैत्य) निर्माण गरेका हुन्। जुम्ला सदरमुकाम एउटा सुन्दर उपत्यकामा अवस्थित छ। त्यही उपत्यकालाई अवलोकन गर्न सकिने स्थानमा जुम्लाका बौद्धमार्गीहरूले स्तुपा निर्माण गरेका हुन्। जुम्ला सदरमुकाममा बस्दै आएका बौद्धमार्गीहरूको संस्था दि हिमालयन पिस एसोसिएसन नामक संस्थाले उक्त गुम्बा निर्माण गरेको हो।  

प्राकृतिक सौन्दर्यका हिसाबले कर्णाली क्षेत्र (तत्कालीन कर्णाली अंचल) सम्पन्‍न छ। अझ पर्यटकीय हिसाबले निकै धनी क्षेत्रका रूपमा कर्णालीलाई हामी चिन्‍न सक्छौँ। त्यही सौन्दर्यका बीचमा अर्को सौन्दर्य बनेको छ- बौद्धमार्गीको स्तुपा, जसलाई नेपाल सरकारले पहिचान गरेको १०० पर्यटकीय गन्तव्यमा समेत पारेको छ। 

एसोसिएसनको सक्रियतामा विभिन्न व्यक्ति, संस्था र नेपाल सरकारको लगानीमा उक्त स्तुपा निर्माण गरिएको हो। स्तुपाको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र बौद्ध धर्मगुरु सेचेन राब्ज्यम रिम्पोचेले जुम्ला पुगेर उद्घाटन गरे। 

यस कारण बन्यो स्तुपा

मुगु जिल्लामा बौद्धमार्गी हिमाली समुदायको बाक्लो बसोबास छ। अंचल सदरमुकाम जुम्ला भएसँगै बसाइँसराइले पनि गति लिन थाल्यो। जुम्ला सदरमुकाममा मुगु जिल्लाबासीको उपस्थिति बाक्लिँदै गयो, जहाँ बुढापाकादेखि केटाकेटी सबै थिए। उनीहरू बौद्ध धर्म मान्छन् तर उनीहरूले अनुष्ठान गर्ने बौद्ध गुम्बा, चैत्य, छोर्तेन केही पनि थिएन जुम्लामा। त्यसैले त्यस क्षेत्रका मुग्याल अगुवाहरूले जुम्लामा चैत्य बनाउने अभियान संचालन गरे।

जुम्लामा डुडुल चैत्य बनाउने सपना धेरै पहिले देखेका हुन् तर त्यसको जग भने उनीहरूले २०६४ सालमा मात्र हाले। यसको थालनी स्वरूप दि हिमालयन पिस एसोसिएसनको कार्यसमितिमा रहेका १० जनाले पैसा संकलन गरेर १६ लाख रुपैयाँमा साढे पाँच रोपनी जग्गा खरिद गरे। एसोसिएसनका पूर्वअध्यक्ष बुम्क्याप लामा २०६८ सालबाट स्तुपा निर्माण सुरु गरिएको बताउँछन्।

करिब सात वर्षको मिहिनेतपछि स्तुपा निर्माण सम्पन्न भएको हो। अझै वरिपरिको पर्खाल र बगैँचा निर्माण कार्य सम्पन्न गर्न नसकिएको बताउँदै उनी स्तुपा वरिपरि बगैँचा राम्रो बनाउने, पिकनिक स्पट बनाउने र एउटा होटल बनाएर त्यहाँ आउने पर्यटकलाई बस्‍ने व्यवस्था मिलाउने उद्देश्य रहेको बताउँछन्। 

बौद्ध धर्म मान्‍ने धर्मकर्म गर्ने थलो बनाएर कर्णालीमा पर्यटकीय क्षेत्रको विकास गर्नका निम्ति स्तुपा निर्माण गरिएको पूर्वअध्यक्ष तथा सल्लाहकार लामा बताउँछन्। ११६ घरधुरी मुग्याल, करानी, जुम्लालगायतका स्थानका बौद्ध धर्मावलम्बीका लागि मात्र नभएर समग्रमा कर्णालीको पर्यटकीय विकासमा स्तुपाले भूमिका खेल्‍ने उनीहरूको अपेक्षा छ। 'हाम्रो उद्देश्य हामी बौद्ध धर्मावलम्बीहरूको आस्था गर्ने थलो मात्र नभएर समग्र कर्णालीको पर्यटकीय विकासमा टेवा पुगोस् भन्‍ने हो', पूर्वअध्यक्ष लामाले भने, 'अझ थुप्रै निर्माण कार्य बाँकी छ। यहाँ बगैँचा बनाउनुपर्नेछ। पर्यटकका लागि बस्ने व्यवस्थासहितको होटल बनाउने योजना पनि छ।'

जग्गा खरिददेखि स्तुपा निर्माण गर्दा आठ करोड रुपैयाँ खर्च भएको एसोसिएसनका सदस्य दावा लामाले जानकारी दिए। त्यसमध्ये पर्यटन मन्त्रालय, विभिन्न सरकारी निकाय, सांसदलगायतले एक करोड १५ लाख ९५ हजार रुपैयाँ सहयोग गरेका छन्। बाँकी रकम एसोसिएसनको पहलमा विभिन्न व्यक्ति, संस्थाले सहयोग गरेका हुन्। 

अझै पनि निर्माण सम्पन्न नभइसकेकाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ५० लाख रुपैयाँ बिनियोजन गरेको पर्यटनमन्त्री अधिकारीले त्यस अवसरमा जानकारी दिए। जुम्ला तत्कालीन कर्णाली अंचलको सदरमुकाम हो। त्यसैले यहाँ कर्णाली क्षेत्रका सबै बासिन्दाहरू केन्द्रित हुने ठाउँ पनि हो। त्यसैले कर्णालीका अन्य जिल्लाबाट जुम्लामा बसाइँ सरेर आउनेहरूको संख्या पनि बाक्लै छ।

राजा महेन्द्रले पहिलो पटक रारा भ्रमण गरेपछि त्यहीँ बसेर 'रारा कि अप्सरा' भनेर कवितासमेत लेखेका थिए। कर्णालीमा बाटो खुलेसँगै अहिले रारा जाने पर्यटकहरू बढ्दै गएका छन्। त्यही रारा जाने द्वारसमेत हो जुम्ला। त्यसैलाई केन्द्रित गरेर जुम्लामा स्तुपा निर्माण गरिएको छ, जुन ठाउँबाट काञ्जिरोवा हिमालको समेत अवलोकन गर्न सकिन्छ। त्यस्तै, डोल्पा जिल्लामा अवस्थित शे-फोक्सुण्डो ताललगायतका पर्यटकीय क्षेत्रहरूको अवलोकनका निम्ति प्रस्थान गर्ने क्षेत्रसमेत हो जुम्ला।

हेर्नुहोस् जुम्लामा निर्मित डुडुल चैत्य र जुम्लाका केही तस्वीरहरू

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.