|

पोखरा : पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत शनिवारको खेलमा रेफ्रीसँग विवाद गरेपछि विराटनगर टाइटन्सका क्याप्टेन सन्दीप लामिछानेलाई कारवाही गरिएको छ।

शनिवार चितवन राइनोजसँगको खेलमा गलत निर्णय गरेको भन्दै सन्दीप रेफ्री सञ्जय सिग्देलसँग विवाद गरेका थिए। विवाद गरेपछि म्याच रेफ्री सत्यजित सरकारले कारवाहीसहित डि–मेरिट अंक दिएका थिए।

खेलको दोस्रो इनिंगको चौथो ओभरको अन्तिम बल लिएर आएका टाइटन्सका बलर किशोर महतोको बललाई नोबल घोषणा गरेपछि सन्दिपले त्यसको विरोधमा अन्फिल्ड अम्पायर सिग्देलसंग विवाद गरेका थिए।

दर्शकले नै घमण्डी सन्दीप भनेपछि

नेपालका लागि र व्यक्तिगत क्रिकेटका लागि एक पछि अर्काे छलाङ मारिरहेका लेग स्पिनर लामिछानेले शनिबारको खेलमा रेफ्रिसँग गरेको विवाद पोखरेली दर्शकले पनि मन पराएनन्। केही बेरअघिसम्म 'सन्दिप सन्दिप' भनेर हुटिङ गरिरहेका दर्शकले एक्कासि 'घमण्डी सन्दीप, घमण्डी सन्दीप' भनेर नारा लगाउन थाले। दर्शकको हुटिङ सुनेर कुनै प्रतिक्रिया नदिएका लामिछानेले केहीबेर पछि दायाँ हात हल्लाउँदै दर्शक दिर्घाकै छेउमा गएर ताली बजाए। आईसीसीले मान्यता दिएको खेलमा खेलाडीलाई अनुशासनमा राख्नका लागि डी मेरिट अंक दिने गरिन्छ। 

दुई खेलाडीलाई स्पष्टीकरण 

पीपीएलमा अन्य दुई खेलाडीलाई स्पष्टीकरण नै लिइएको छ।  सन्दीपकै जस्तो रेफ्रीको निर्णयलाई नस्वीकारेका टाइटन्सकै किशोर महतो र चितवन राइनोजका सन्नी पटेललाई निर्णयबारे अनावश्यक विवाद गरेको आरोपमा म्याच रेफ्रीले स्पष्टीकरण लिएका हुन्। उनीहरु दुवैलाई विज्ञप्ति नै जारी गरी कारबाहीको चेतावनी समेत दिइएको छ। 

शनिवारकै खेलमा काठमाडौँका अमरसिंहलाई पनि डी मेरिट अंक दिइएको छ। रेफ्रिको निर्णयविरुद्ध स्वीकार नगरी अनावश्क विवाद गरेपछि उनलाई पनि म्याच रेफ्रिले डि–मेरिट अंक दिएका हुन्। सन्दिपसँगै अरु खेलाडीले पनि रेफ्रीसँग आफ्नो गल्ती स्वीकारेका कारण अरु कारबाही भने नहुने भएको छ। आरोप लागेका सम्पूर्ण खेलाडीले म्याच रेफ्रीसँग गल्ती स्वीकार गरेका कारण अन्य कारवाही गरिएन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.