|

धनगढी : वेदकोट नगरपालिकामा करिब चार दशक पहिले भेटिएका कडा माटोका ढिस्कालाई स्थानीय बासिन्दाहरुले शिवलिङ्गका रूपमा पूजा गर्दै आएका थिए। धेरै वर्ष पहिले यो क्षेत्रमा खडेरी परेको र लिङ्गामा पूजा गरेपछि पानी परेको किंवदन्ती स्थानीय बासिन्दा सुनाउँछन्।

धार्मिक आस्थाको केन्द्र रहेको शिवलिङ्गेश्वर धामलाई अहिले पर्यटकीय दृष्टिकोणबाट हेर्न थालिएको छ। लिङ्गाको अवलोकन गर्न पुगेका आन्तरिक पर्यटकले यहाँसम्म पुग्ने सडक र भौतिक संरचना निर्मार्ण गर्नसके पर्यटकको पहिलो रोजाइमा पर्ने बताएका छन्।

यहाँ प्रत्येक वर्ष  जेठ र फागुनको शुक्ल अष्टमीमा मेला लाग्छ। लिङ्गा क्षेत्रमा पूजा गरे मनोकांक्षा पूरा हुन्छ भन्ने जनविश्वास छ। ‘हामी वर्षाैँदेखि पूजा गर्थ्यौँ। अहिले टाढा टाढाबाट पनि पर्यटक आउन थालेका छन्।’ वेदकोट नगरपालिका ४ का स्थानीय यशोदा भट्टले बताइन्। समयक्रमसँगै धार्मिक क्षेत्रका रूपमा रहेको धाम पर्यटकीय क्षेत्रमा परिणत भएको हो।

पूर्व पश्चिम राजमार्गबाट अन्तर्गत कञ्चनपुरको दैजीबाट १० किलोमिटर उत्तरमा अवस्थित लिङ्गामा पर्यटकको संख्या वद्धि भए पनि सडक पूर्वाधार निमार्ण नहुँदा समस्या भएको पर्यटकहरूको गुनासो छ। ‘यो ठाँउ अचम्मलाग्दो रहेछ, निकै मन पर्‍यो तर, यहाँसम्म आउने बाटो राम्रो नहुँदा समस्या भयो’ कैलालीको पहलमानपुरबाट लिङ्गा पुगेकी सुजना भण्डारीले सुनाइन्। 

जिर्ण सडक, अस्तव्यस्त पार्किङ स्थल तथा पिकनिक आउनेहरूको व्यवस्थापन हुन नसक्दा पछिल्लो समय लिङ्गामा फोहर व्यवस्थापन चुनौती बनेको संरक्षण समितिका सचिव गणेशदत्त भट्टले बताए। ‘देशी विदेशी सबै पर्यटक आउँछन्। धेरै पर्यटक आउदा फोहर व्यवस्थापन र यातयात राख्ने स्थानको अभाव हुने गरेको छ।’

शिवलिङ्गेस्वर धामको विकास, प्रचार प्रसार र पर्यटन प्रवर्द्धनका लागि वेतकोट नगरपालिकाले केही संरचना तयार पारेको छ तर, ती संरचनाहरु पर्याप्त भने छैनन्। ‘हामी क्रमिक रूपले लिङ्गाको विकासमा लाग्छौँ’ वेदकोट नगरपालिका प्रमुख अशोक चन्दले भने, ‘यसको विकासका लागि बजेट विनियोन गरिएको छ। केही समयमा लिङ्गाको स्वरूप फेरिनेछ।’

अहिले दैनिक ५०० को हाराहारीमा पर्यटक यहाँ आउने गरेको नगर प्रमुख चन्दले बताए। विदाको दिनमा घुम्न आउनेहरुको संख्या तेब्बर बढी हुने यहाँका स्थानीयले जानकारी दिए। सडक, खानेपानीका लगाएतको व्यवस्थापन नहुँदा यहाँ पुग्ने पर्यटकहरूलाई सकस हुने गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.