नगर प्रमुख गिरीको टाउकोमा ५ टाँका

|

कालिकोट : रारा ताल भ्रमणबाट फर्किएका स्याङजा चापाकोट नगरपालिका प्रमुख कालिकोटमा मदिरा सेवन गरेर झगडा हुँदा घाइते भएका छन्। सरकारी खर्चमा राराताल भ्रमणमा आएको नगरप्रमुख शिव गिरीको टोली र भक्तपुर जिल्लाबाट आएको टोलीबीच झडप हुँदा नगर प्रमुख घाइते भएका हुन्।

शनिबार राती दुवै टोली कालिकोटको सनलाइट होटेलमा बास बसेका बेला नगर प्रमुख गिरी र भक्तपुरबाट आएको टोलीबीच च्याङ्ग्रा मासु खाने विषयमा झडप भएको हो। झडपमा परी नगर प्रमुख गिरीसहित उनका स्वकीय सचिव राजकुमार मल्ल र नगर प्रहरी इन्चार्ज शोभित थापा र  सवारी चालक घाइते भएका छन्। नगर प्रमुख गिरीको टाउकोमा ५ वटा टाँका, स्वीकय मल्ललाई १६ वटा टाँका लगाइएको र जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको छ।

रारा भ्रमण निस्केको भक्तपुरको भ्रमण टोली र चापाकोट नगरपालिकाको टोलीबीच मदिरा सेवन गरेर च्याङग्राको मासु पोलेर खाने बेला दुई टोलीबीच अपशब्द बोल्दै झगडा भएपछि कुटपिट गर्ने ८ जनालाई प्रहरी नियन्त्रणमा लगिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख बिनोद शर्माले बताए। ‘दुवै टोली एउटै होटेलमा बसेका बेला च्याङग्राको मासु पोलेर खाने विषयमा झगडा भएको हो।’ उनले भने, ‘दुवै पक्षले अत्यधिक मादक पदार्थ सेवन गरेका थिए।’ घाइतेको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको र ८ जनालाई प्रहरी नियन्त्रण राखिएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.