'समाजका विभेद अन्त्यका लागि क्रियाशील योद्धा'

|

काठमाडौं : नेपाली  राजनीति र मानवअधिकारका क्षेत्रमा नाम चलेका व्यक्तित्व पद्मरत्न तुलाधरको आइतबार निधन भएको छ। तुलाधर नेपाली राजनीतिमा पंचायतकालदेखि नै सक्रिय भएर लागेका थिए।

'पंचायतविरोधी'का रूपमा राजनीतिमा उदाएका तुलाधर तत्कालीन एमाले र अहिलेको सरकारको नेतृत्व गरिरहेको दल नेपाल कम्युनिस्ट पार्टीको निर्वाचन चिह्न भएको 'सूर्य'का पहिलो उम्मेदवार थिए। उनले २०४३ सालमा भएको राष्ट्रिय पंचायत चुनावमा 'सूर्य' चुनाव चिह्न लिएर जनपक्षीय उम्मेदवारका रूपमा काठमाडौंमा निर्वाचन लडी तत्कालीन प्रभावशाली नेता जोगमेहर श्रेष्ठलाई पराजित गरेका थिए।

राजनीतिक दलहरू प्रतिबन्धमा रहेका बेला स्वतन्त्र उम्मेदवार बनेरै तुलाधर राष्ट्रिय पंचायत सदस्य बनेका थिए। उनका समकालीन नेता भने वामपन्थी विचारधाराका थिए। वामपन्थी नेताहरू कोही जेलमा थिए भने कोही भूमिगत राजनीति गरिरहेका थिए। जनपक्षीय उम्मेदवार बनेर राष्ट्रिय पंचायत सदस्य बन्न भने वामपन्थी दल मालेले साथ दिएको थियो। तुलाधरलाई प्रत्यक्ष निर्वाचनमा सहयोग गरेर आफूलाई राजनीतिक दलको रूपमा जनतामा स्थापित गराउने नीति मालेको थियो। २०४६ सालको पंचायतविरोधी आन्दोलनमा पद्मरत्नले महत्त्वपूर्ण भूमिका खेलेका थिए। राष्ट्रिय पंचायतभित्रै पनि उनले प्रजातन्त्रका पक्षमा आवाज उठाएका थिए।

२०४८ सालको निर्वाचनमा पद्मरत्न विजयी भएको निर्वाचन चिह्न 'सूर्य'लाई तत्कालीन एमालेले आफ्नो चुनाव चिह्नका रूपमा निर्वाचन आयोगमा दर्ता गरायो। नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ पद्मरत्नले 'सूर्य' चुनाव चिह्नलाई जनपक्षीय बनाएकाले नै एमालेलाई उक्त चिह्न लिएर जनतामा सहज भएको बताउँछन्। त्यतिबेला नेकपा एमालेभित्र चुनाव चिह्न के बनाउने भन्ने विषयमा छलफल भएको थियो। कम्युनिस्ट पार्टी भएकाले एमालेले 'हँसिया-हथौडा'लाई चुनाव चिह्न बनाउने विषयमा छलफल भएको तर पद्मरत्नले 'सूर्य'लाई जनतामा स्थापित गरेको र उनी पनि एमालेको समर्थनमा नै चुनाव लडेकाले उक्त चिह्न निर्वाचन आयोगमा दर्ता गरिएको नेम्वाङ बताउँछन्। वि. सं. २०४३ मा आफू समर्थित उम्मेदवारहरूलाई देशभर 'सूर्य' चुनाव लिएर चुनावमा पठाउने योजना रहे पनि विविध कारणले नसकिएको नेम्वाङले बताए।

'पद्मरत्न : प्रजातान्त्रिक अधिकार स्थापित गराउने योद्धा'

पद्मरत्न तुलाधर २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको सरकारमा स्वास्थ्यमन्त्री भएका थिए। तत्कालीन एमालेको चुनाव चिह्न 'सूर्य' लिएर निर्वाचित भए पनि स्वतन्त्र सांसदका रूपमा उनको परिचय थियो। उनी अधिकारीको मन्त्रिपरिषद्‌मा पनि स्वतन्त्र रूपमा नै सदस्य रहे।

प्रधानमन्त्री केपी शर्मा ओलीले पद्मरत्न तुलाधरले नेपालको वाम आन्दोलनमा पुर्‍याएको योगदान सदा स्मरणीय रहने बताएका छन्। उनले तुलाधरको निधनको खबरले आफूलाई दुःख लागेको सामाजिक संजाल ट्विटरमा लेखेका छन्। नेपालको वाम आन्दोलनमा तुलाधरले पुर्‍याएको योगदान सदा स्मरणीय रहने नेकपाका अध्यक्षसमेत रहेका ओलीले उल्लेख गरेका छन्।

पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पद्मरत्न अस्पताल भर्ना भएपछि पटक पटक तुलाधरको स्वास्थ्यस्थितिबारे चासो राखेका थिए। अस्पतालमै पुगेरसमेत स्वास्थ्यस्थितिबारे जानकारी लिएका प्रचण्डले पद्मरत्नको निधनपछि राष्ट्रलाई ठूलो क्षति भएको बताएका छन्। 'उहाँ जनआन्दोलन र सांस्कृतिक आन्दोलनको संवर्द्धनको क्षेत्रमा ऐतिहासिक भूमिका खेल्नुहुने व्यक्ति हुनुहुन्थ्यो', प्रचण्डले भनेका छन्। नेपालको शान्ति प्रक्रियामा पद्मरत्नले खेलेको भूमिका सम्झिँदै प्रचण्डले भनेका छन्, 'उहाँले नेपालको शान्ति प्रक्रियाका लागि वातावरण बनाउन मध्यस्थकर्ताका रूपमा महत्त्वपूर्ण भूमिका खेल्नुभएको थियो। पहिचान र संघीयताका पक्षधर वाम बुद्धिजीवी दिवंगत तुलाधरप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै शोक सन्तप्त परिवारजन र आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दछु।'

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पनि पद्मरत्नको निधनमा दुःख व्यक्त गरेका छन्। सामाजिक संजाल ट्विटरमार्फत् व्यक्त गरेको शोकमा लेखेका छन्, 'मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको निधनको खबरले दुःखी भएको छु। नेपालको मानवअधिकार र भाषा आन्दोलनमा उहाँको योगदान स्मरणीय रहनेछ। उहाँको आत्माको चीर शान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु।'

नयाँ शक्ति पार्टी, नेपालका संयोजकसमेत रहेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पद्मरत्न नेपालको इतिहासका असाधारण व्यक्ति भएको भन्दै सम्झिएका छन्।उनले सामाजिक संजाल ट्विटरमा पद्मरत्नको निधनप्रति श्रदाञ्जलि दिँदै लेखेका छन् :

त्यसैगरी, पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाललगायत नेताहरूले पनि पद्मरत्नको निधनले नेपाललाई ठूलो क्षति भएको बताएका छन्।

मनमोहन अधिकारी नेतृत्वको मन्त्रिपरिषद्‌मा कानुनमन्त्रीका रूपमा पद्मरत्नसँगै जिम्मेवारी सम्हालेका थिए नेम्वाङले। नेम्वाङ पद्मरत्नलाई 'निरंकुशताविरोधी प्रजातान्तत्रिक आन्दोलनका निरन्तर अविचलित योद्धा'का रूपमा सम्झिन्छन्।

सिंहदरबारस्थित नेकपाको संसदीय दलको कार्यालयमा तुलाधरका योगदान र उनीसँग काम गर्दाका क्षण सम्झिँदै नेम्वाङले भने, 'नेपालको निरंकुशताविरोधी आन्दोलन स्थापित गराउने र मानवअधिकार प्रत्याभूत गर्ने तथा प्रजातान्त्रिक हक अधिकारलाई सुनिश्चित गर्ने आन्दोलनमा पद्मरत्नजीलाई अग्रपंक्तिमा सम्झिने गरेको छु। पंचायतविरोधी आन्दोलनमा अग्रस्थानमा रहनुभयो।'

पद्मरत्न तुलाधर आन्दोलनबाटै स्थापित भएको नेम्वाङको भनाइ रहेको छ। उनको निरन्तर क्रियाशीलताले नेपालको राजनीतिक र प्रजातान्त्रिक आन्दोलनलाई स्थापित गर्न योगदान पुर्‍याएको नेम्वाङको विश्लेषण छ। 'समाजमा रहेका विभेदहरूलाई अन्त्य गर्न निरन्तर जीवनपर्यन्त क्रियाशील रहनुभयो। उहाँले शरीर त्याग्दाका अन्तिम क्षणसम्म पनि आफ्नो आस्थामा नथाकीकन क्रियाशील रहनुभयो', नेम्वाङ भन्छन्।

भाषा र आदिवासी जनजाति आन्दोलनका नेता

पद्मरत्न तुलाधरको जीवनमा जोडिएको अर्को पाटो हो, भाषा आन्दोलन। उनले 'नेपाल भाषा' (नेवारी भाषा)को विकासमा महत्त्वपूर्ण योगदान गरेका थिए। उनले 'नेपाल भाषा मंका : खल' नामक संस्था स्थापना गरेर नेवारी भाषाको उत्थानमा ठूलो योगदान गरेका छन्। उनले भाषिक आन्दोलनको सुरुवात नै उक्त संस्थाको अध्यक्ष भएर गरेका थिए।

पद्मरत्न नेवारी भाषाको आन्दोनलसँगै २०६० को दशकमा आदिवासी जनजाति आन्दोलनका नेता पनि बने। उनी यस आन्दोलनका प्रेरणादायी व्यक्तिका रूपमा चिनिन्छन्। आदिवासी जनताजातिहरूलाई राज्यले सम्मानजनक अधिकार दिनुपर्छ भन्ने विषयलाई राजनीतिक बहसको विषय बनाएका उनले उक्त मुद्दा स्थापित गरेका थिए। संविधान निर्माणको क्रममा उक्त मुद्दालाई स्थापित गराउन उनले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।

त्यस्तै, नेवारी संस्कृतिका अग्रज शंखधर साख्वालाई राष्ट्रिय विभूति घोषणा गर्न पनि तुलाधरले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। उनका नेपाली र नेवारी भाषामा राजनीतिक, सांस्कृति र सामाजिक विषयवस्तुमा लेखिएका झन्डै डेढ दर्जन पुस्तक प्रकाशित छन्।

माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन सहजकर्ता

एक समय यस्तो थियो, माओवादी अध्यक्ष प्रचण्ड भनेका पद्मरत्न तुलाधर नै हुन् भनिन्थ्यो। यो अभियोगमा उनलाई राज्यले निगरानीमा पनि राखेको थियो। पुष्पकमल दाहाल प्रचण्ड भूमिगत रहेका बेला प्रचण्ड भनेर पद्मरत्नलाई नै बुझ्नेहरू पनि थिए। तर पछि गएर तिनै पद्मरत्नले हतियारसहितको युद्धमा रहेको माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन सहजकर्ताको भूमिका निर्वाह गरे।

पद्मरत्नले द्वन्द्वका बेला काठमाडौंमा तत्कालीन माओवादी अध्यक्ष प्रचण्डलाई 'सेल्टर' दिएको पनि सार्वजनिक भइसकेको छ। प्रचण्डले पनि नेपालको राजनीतिक परिवर्तनमा पद्मरत्नको योगदान महत्त्वपूर्ण रहेको बेलाबेला बताउने गरेका छन्।

माओवादी आन्दोलनमा भूमिका खेलेको भन्ने विषयमा उनको विवाद पनि भयो। त्यस्तै, आदिवासी जनजातिका विषयमा बढी नै लागेको भनेर उनको आलोचना गर्नेहरू पनि छन्। उनी स्वास्थ्यमन्त्री भएको बेला दिएको अभिव्यक्तिले पनि विवाद सिर्जना गरेको थियो। आफ्नो धर्म मान्नेहरूले उक्त धर्मअनुसार स्वतन्त्रता पाउँछन् भन्ने भावका साथ मुस्लिम धर्मावलम्बीले गाई खाने गरेको भनेर बारा जिल्लामा तुलाधरले दिएको अभिव्यक्तिलाई 'गाईकाण्ड'का रूपमा लिइन्छ। उक्त काण्डले मनमोहन अधिकारी नेतृत्वको सरकार अप्ठ्यारोमा परेको थियो भने स्वास्थ्यमन्त्री रहेका पद्मरत्नको झन्डै पद नै गुमेको थियो।

२०५४ सालमा एमाले विभाजनमा पद्मरत्नको महत्त्वपूर्ण भूमिका रह्यो। तत्कालीन संसदमा एमालेको चुनाव चिह्न 'सूर्य'बाट निर्वाचित उनी एमाले विभाजन गर्ने नेता वामदेव गौतमको पक्षमा लागे। उनी गौतमको पक्षमा नलागेका भए एमाले नफुट्ने तत्कालीन एमालेका नेतहरू बताउँछन्। त्यस समय महाकाली सन्धिको विषयमा एमाले विभाजित भएको थियो। सोही मुद्दामा पद्मरत्नले पनि विपक्षमा पनि मतदान गरेका थिए। उनलाई नेवारी भोटको बलमा जितेको भन्ने आरोप पनि लाग्ने गरेको थियो। 

नेपालको राजनीति र पहिचानका मुद्दा अनि मानवअधिकारका क्षेत्रमा सक्रिय एक योद्धाको अन्तत: ७८ वर्षको उमेरमा आइतबार निधन भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.