|

काठमाडौं : तिहार भन्नेबित्तिकै विभिन्न प्रकारका रङ, बत्ती, मिठाइ, रोटीहरूको पर्व भनेर चिनिन्छ। अझ तिहारमा धेरैको घरमा दाजुभाइका लागि सेलरोटीसहित विभिन्नखालका रोटीका परिकारहरु पाक्ने गर्छ।

दाजुभाइ र चेलीबीचको आत्मीयता बलियो बनाउने पर्वमा टीका लगाएर दिदीबहिनीले आफ्ना दाजुभाइलाई विभिन्न प्रकारका मिठाइका साथै रोटीहरू भाइमसलाका रूपमा दिने गरेको पाइन्छ। दिदीबहिनीले मायास्वरूप दिएका विभिन्नखालमा परिकारले दाजुभाइको  स्वास्थ्यमा कत्तिको असर गरिरहेको छ? मिठाइमा मिसाइने रसायन र रङहरूले तत्कालीन रूपमा फुड प्वाइजन हुन सक्छ भने स्वास्थ्यमा दीर्घकालसम्म असर गर्न सक्छ। त्यसैले यस्ता मिठाइहरू किन्दा विशेष ख्याल गर्नुपर्छ।

 बजारका मिठाइ कम दिऊँ

भाइटीकामा टीका लगाइसकेपछि विशेषगरी मधुमेह, उच्च कोलेस्ट्रोललगायतका समस्याबाट पीडित आफ्ना दाजुभाइहरूलाई सकेसम्म बजारमा विभिन्न केमिकलहरू प्रयोग गरेर बनाइएका खानेकुरा नदिँदा राम्रो हुन्छ।

विभिन्न प्रकारका रोटी र मिठाइहरूको प्रयोग तिहारमा बढी नै हुने गर्छ। तर तिहारमा दाजुभाइलाई सगुनको रूपमा दिइने कतिपय यस्ता खानेकुरा स्वास्थ्यको दृष्टिकोणले हानिकारक पनि हुन्छन्। तिहारमा बासी तेल र विभिन्न रसायनिक रङहरूको प्रयोगबाट बनाइने यस्ता मिठाइहरू खाँदा शरीरमा चिनीको मात्रा बढ्नुका साथै धेरै गुलियोले माइग्रेन, मिर्गौलाको समस्या देखिने गर्छ।

साथै यस्ता मिठाइहरू धेरैजसो दूध र मैदाबाट बनाइने हुँदा ग्यास्ट्रिक हुनसक्ने सम्भावना बढी हुन्छ। सकेसम्म बजारमा बनाइएका यस्ता मिठाइहरू खान नदिनु नै राम्रो हो। विभिन्न रङहरूको प्रयोग गरेर बनाइने मिठाइहरूमा रङमा हुने विभिन्नखालका केमिकलहरुले गर्दा क्यान्सर हुने उस्तै जोखिम हुन्छ।

घरमै बनाएका खानेकुरा उत्तम

टीका लगाएपछि दाजुभाइलाई लामो समयदेखि बनाएर लामो समयदेखि प्लाष्टिकमा राखिएका खानेकुराहरू दिनुभन्दा सकेसम्म घरमै बनाएको खानेकुरा दिनु राम्रो हुन्छ। यस्ता खानेकुराले दाजुबहिनी, दिदीभाइबीचको आत्मीयतालाई बलियो बनाउनुका साथै स्वास्थ्यका लागि पनि त्यति धेरै हानिकारक हुँदैन। घरकै ताजा ध्यू, तेलमा बनाइएको विभिन्न प्रकारका रोटीहरू स्वादिष्ट हुनुका साथै शक्तिवर्द्धक पनि हुने गर्छन्।

बदाम, ओखर,पास्ता, काजु दिनु राम्रो

टीका लगाएर दाजुभाइलाई सगुनको रूपमा ओखर, पास्ता, बदाम, काजुजस्ता खानेकुरा दिने गरिन्छ। यस्ता खानेकुराहरू सकेसम्म धेरै दिँदा राम्रो हुन्छ। दैनिकरूपमा थोरै थोरै मिलाएर यस्ता खानेकुरा खाने गर्नाले शरीरलाई चाहिने आवश्यक पोषकतत्त्वहरु पनि प्रशस्त पाइने गर्छ। ओखरमा हुने तेल मुटुका लागि अत्यन्त राम्रो मानिन्छ। यस्तै, ओखरमा क्याल्सियम प्रशस्त मात्रामा हुने हुँदा यसले हड्डी र छालालाई राम्रो बनाउने विभिन्न प्रकारका भिटामिन, मिनरल, आइरन पाइन्छ। ओखरमा क्यान्सरबाट बचाउने विशेष प्रकारको तत्त्व पनि पाइन्छ।

बदाममा खाना खानुपहिले (फास्टिङ) र खानापछिको ब्लड सुगरबाहेक इन्सुलिनको मात्रा कम गर्ने विशेष गुण हुन्छ। यसले अक्सिडेटिभ तनाव कम गर्छ, जो मधुमेह तथा मुटु रोगको कारण बन्ने गर्छ। यस्तै, पास्ता मधुमेहबाट ग्रसित व्यक्तिलाई खुवाएमा उसको फास्टिङ पहिलेको ब्लड ग्लुकोज तथा एचबीए वान सीको स्तर कम हुने गर्छ। त्यस्तै, ब्लड ग्लुकोजको स्तरमा समेत कमी आउने गर्छ। जसले गर्दा यस्ता खानेकुराहरु सकेसम्म दाजुभाइलाई धेरै दिँदा राम्रो हुन्छ।

फलफूल तथा सलाद धेरै दिऊँ

तिहारमा दिदीबहिनीले दाजुभाइलाई स्नेहपूर्ण रूपमा दिइने खानेकुराहरूमा सकेसम्म मिठाइ, तथा चिल्ला रोटीभन्दा फलफूल, दही र विभिन्न प्रकारका सलादहरू दिनु राम्रो हुन्छ। तिहारको बेलामा धेरै प्रयोग हुने गुलिया परिकारहरूले शरीरमा ठूलो हानि पुर्‍याइरहेका हुन्छन्। जसले गर्दा तिहारलगत्तै मधुमेह उच्च हुनुका साथै कोलेस्ट्रोरोल पनि बढाउने गर्छ। त्यसैले सकेसम्म मौसमअनुसारका विभिन्न प्रकारका फलफूल, दूध दही दिनु राम्रो हुन्छ। यी खानेकुरा सजिलै पच्ने र स्वास्थ्यको दृष्टिकोणले पनि राम्रा मानिन्छन्।

डा. अनुप बाँस्तोलासँग गरिएको कुराकानीमा आधारित

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.