|

जनकपुरधाम : धनुषा क्षिरेश्वरनाथ नगरपालिकास्थित जानकी मेडिकल कलेजमा दुई पक्षीय विवादमा पक्राउ परेका एक कर्मचारी रिहा भएका छन्। धनुषाको रमदैया भवाडीस्थित जानकी मेडिकल कलेजमा कर्मचारी र विद्यार्थी बीचको विवादमा पक्राउ परेका कर्मचारी संघर्ष समितिका संयोजक उमेश यादव रिहा भएका हुन्।

विद्यार्थीले गरेको गुनासोको आधारमा पक्राउ गरेर मुद्दा चलाएको संयोजक यादवलाई जिल्ला प्रशासन कार्यालय धनुषामा उपस्थित गराई रिहा गरेको छ। इलाका प्रहरी कार्यालय महेन्द्रनगरले गत ९ गते यादवलाई पक्राउ गरी सार्वजनिक अपराधमा १० दिनको म्याद थप गरी अनुसन्धानको लागि राखेको  प्रहरी निरीक्षक अरुण कुशवाहाले जानकारी दिए।

कलेजमा विद्यार्थीको एक समूह र कर्मचारी संघले गरेको आन्दोलनमा एक पक्षले सहमति गरी ताला खोलेको विषयमा विद्यार्थी र कर्मचारी बीचको विवाद इप्रकामा पुगेपछि कर्मचारी यादवलाई इप्रकाले पक्राउ गरेको थियो। कर्मचारी संघर्ष समितिले तलब निकासको लागि आन्दोलनसहित कलेज प्रशासनमा तालाबन्दी गरेको थियो भने विद्यार्थीहरूले पनि त्यही समयमा इन्टर्नको लागि दिइने ८ हजार रुपैयाँमा ५ हजार थपको मागसहित प्रशासनलाई दबाब दिदै अर्को ताल्चा लगाएको थियो।

यता कर्मचार संघर्ष समिति र मेडिकल कलेजका सिइओ धञ्धोज मल्ल ठकुरीबीच तलब निकासको विषयमा सहमति जुटेपछि ताला खोल्ने सहमति अनुसार नै समितिका संयोजक यादवले ताला खोल्दा विद्यार्थीले लगायको ताला स्वतः खुलेपछि कर्मचारी र विद्यार्थीबीच विवाद भएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.