|

पोखरा : पोखरामा जारी पहिलो पोखरा प्रिमियर लिग (पीपीएल) को फाइनलमा टस जितेर बलिङ रोजेको पोखरालाई चितवन राइनोजले १६१ रनको टार्गेट पेस गरेको छ। उपाधीका लागि पोखरा रंगशालामा भएको फाइनल खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १६० रन बनाएको हो।

फुटबलको राजधानीको रूपमा चिनिएको पोखरामा पहिलो पटक आइसीसीले नै मान्यता दिएको पीपीएलमा चितवन राइनोजका कप्तान पारस खड्काले पोखराविरुद्ध अर्धशतकको उत्कृष्ठ पारी खेले। उनले ३७ बलमा ५१ रन हिर्काए। त्यस्तै, चितवनका लागि सन्नी पटेलले विष्फोटक ब्याटिङ गरे। उनी यस सिरिजकै उत्कृष्ठ ब्याट्सम्यानसमेत हुन्। उनी म्यान अफ द सिरिजका दाबेदारसमेत हुन्। उनले २१ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ४३ रन बनाए। आरिफ शेख १४ रनमा नटआउट नै रहे।

त्यस्तै, ओपनर अनिल कुमार शाहले ३७ रन बनाएर आउट भए। चितवनका लागि कप्तान पारस खड्का र अनिलकुमार शाहले लामो इनिङ सम्हाले। ९ रन बनाएको अवस्थामा हरिशंकर शाहलाई गुमाएको चितवनले ८५ रन हुँदा दोस्रो विकेटको रूपमा पारसलाई गुमायो। अनिल र पारसको साझेदारीमा पछि आएका सन्नी पटेलको विस्फोटले १६१ रन को लक्ष्य दिन मद्दत गर्‍यो। 

पोखराका लागि कृष्ण कार्कीले २ तथा ललितनारायण राजवंशी र मोहम्मद नाभिदले समान १–१ विकेट लिए।

शरद भेषावकरको कप्तानीमा रहेको पोखरा लिग चरणको अंक तालिकामा ६ अंकसहित रन रेटका आधारमा शीर्ष स्थानमा रहँदै उपाधी भिडन्तमा प्रवेश गरेको हो। लिग चरणमा दुवै टोलीले समान ३ जित र २ हारका साथ ६ अंक जोडे पनि चितवन रनरेटका आधारमा दोस्रो स्थानमा सिमित भएको थियो। दुई टोलीबीच लिग चरणमा भएको खेलमा पोखराले चितवनलाई ५ विकेटले हराएको थियो।

चितवन सामु फाइनलमा पोखरालाई हराउँदै लिग चरणमा भोगेको हारको बदला लिने मौका छ भने पोखरालाई लिगमा जितेको आत्मविश्वास र घरेलु मैदान र दर्शक साथ छ। लिग विजेताले २७ लाख रुपैँया पाउनेछ।  उपविजेताले १० लाख पाउनेछ भने सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्सम्यान र बलरलाई सुजुकीको मोटरसाइकल प्रदान गरिनेछ। अहिले पोखराले जवाफी ब्याटिङ गरिरहेको छ।      

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.