घटनाको छानबिन गर्ने उपप्रमुखकाे माग

|

संखुवासभा : विपत् व्यवस्थापनको तालिममा सहभागी हुन पाँचखपन नगरपालिकाका दुई कर्मचारी साथमा धनकुटा लगिएको गाडी सुनसरीको जिल्लाको भण्टा बारीमा रहस्यमय ढंगले दुर्घटनामा परेको पाइएको छ। तर नगरप्रमुख विपिन राई भने उक्त गाडी दुर्घटनाबाट आफू बेखबर रहेको बताएका छन्।

गत कात्तिक १५ गते गाडी दुर्घटना परी चालक सुजन थापा गम्भीर घाइते भएका थिए। दुर्घटनाबाट नगरपालिकाको बा १ ज ५४० नम्बरको गाडी काम नलाग्ने अवस्थामा पुगेको छ। प्रमुख प्रशासकीय अधिकृत रामबहादुर श्रेष्ठ र नायक सुब्बा प्रेमबहादुर श्रेष्ठ कात्तिक १५ र १६ गते विपत् व्यवस्थापनको तालिममा सहभागी हुन नगरपालिकाको गाडी लिएर धनकुटा गएको उपप्रमुख भीमादेवी राईले जानकारी दिएकी छन्।

उपप्रमुख राईले भनिन् 'धनकुटासम्म जाने अनुमति लिएको गाडी कसरी सुनसरीको भण्टाबारीमा दुर्घटना भयो। गाडी दुर्घटना परी चालक सुजन थापा र अर्का एक जान घाइते भएर उपचारका लागी विराटनगर पुर्‍याएपछि प्रहरीले फोन गर्‍याे। त्यसपछि मात्र नगरपालिको गाडी दुर्घटना परेको थाहा भयाे। यसको छानबिन गरिन्छ।' तर प्रमुख राईले गाडी दुर्घटनाको बचाउ गर्दै आफूलाई केही जानकारी नभएको बताए।

प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले पनि बचाउ गर्दै गाडी अफिसकै कामका लागि प्रमुख राईले काठमाडौं पठाइएको तर के काम थियो भन्ने जानकारी नभएको बताए। उता चालक सुजनले आफू व्यत्तिगत काममा नभर्इ अफिसकै काममा काठमाडौं जाने क्रममा साइकल यात्री जोगउन खोज्दा दुर्घटनामा परेको बताए।

चालक थापाको टाउको, आँखा र हातको नारीमा आठ टाँचा गरिएको छ। चालक थापाको विराटनगरको गोल्डेन हस्पिटलमा उपचार भइरहेको छ। गाडी काम नलाग्ने अवस्थामा भएकाले मर्मतका लागि अहिले सुनसरी जिल्ला इटहरीमा ल्याइएको प्रशासकीय अधिकृत श्रेष्ठले जानकारी दिए। सरकारी सम्पतिको दुरुपयोग भएको भन्दै स्थानीयहरूले उक्त घटनाको विरोध जनाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.