सिस्‍नुपानीमा ईश्‍वर पोखरेलका दुई प्रसंग

|

काठमाडौं : सिस्‍नुपानी नेपालले यसवर्ष पनि 'प्रज्ञा सिस्‍नुपानी देउसीभैलो' कार्यक्रममार्फत सरकार र राजनीतिक दलविरुद्ध चटिलो व्यङ्ग्य गर्‍यो। भएका कामको प्रशंसा र  हुन नसकेको काम होस् भन्‍ने शुभकामना 'प्रज्ञा सिस्‍नुपानी देउसीभैलो' को टुक्‍का बने। 

नेपाल प्रज्ञा प्रतिष्ठानमा मंगलबार बेलुकी सिस्‍नुपानी नेपालले आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्रीहरु, प्रशासक, कर्मचारी, सर्वसाधारणको उपस्थितिमा देउसी चल्‍यो। साढे दुई घण्टासम्म गरिएको उक्त कार्यक्रममा उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्‍वर पोखरेलसहित पूर्वप्रधानमन्त्री र वर्तमान मन्त्रीहरूको पनि उपस्थिति थियो। 

कार्यक्रममा प्रथम महिला राधिका शाक्य, पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल, झलनाथ खनाल, मन्त्री परिषद्का अध्यक्ष खिलराज रेग्मी, पुर्व प्रधानन्यायाधीश शुशिला कार्की, नेकपा नेताहरू वामदेव गौतम, सुवासचन्द्र नेम्वाङ, कांग्रेस नेता रामचन्द्र पौडेल, अर्जुननरसिंह केसी, प्रदीप गिरी, गगन थापा, मन्त्रीहरु रामबहादुर थापा, प्रदीप ज्ञवाली, वर्षमान पुन, गोकर्ण विष्ट, रवीन्द्र अधिकारी, लालबाबु पण्डित, शक्ति बस्नेत र रघुवीर महासेठलगायतको सहभागिता थियो।

सिस्‍नुपानी नेपालले हरेक वर्ष राजनीतिक विकृति र विसंगतिमाथि व्यंग्य प्रहार गर्दै आएको सिस्‍नुपानीले यस वर्ष पनि दुई तिहाइको सरकार, नेकपाको एकता, छिमेकी सम्बन्ध, परराष्ट्र नीति, प्रतिपक्षी कांग्रेस, दलभित्रका गुटदेखि स्थानीय तहले बढाएको कर लगायतका विषयमा तिखो व्यंग्य प्रहार गर्‍यो। 

सिस्‍नुपानीमा ईश्‍वर पोखरेलका दुई प्रसंग

देउसीभैलो कार्यक्रममा प्रमुख अतिथिको रूपमा रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलले सिस्‍नुपानी नेपालले प्रगतिको विरुद्धमा देखिएका पात्रहरूको विरुद्धमा साँचो अर्थमा सिस्नुपानि बनेर अगाडि बढ्न आग्रह गरे। 'प्रगतिको विरुद्धमा देखिएका पात्रहरू देख्नुभएको छ। त्यसको विरुद्धमा साँचो अर्थमा सिस्नुपानी बनेर अगाडि बढ्नुहोस्', पोखरेलले भने। 

सिस्‍नुपानी शब्द आउँदा दुई प्रसंग आफूले सम्झिनेगरेको भन्दै उनले पहिलो केटाकेटी हुँदा सिस्‍नुपानी व्यहोरेको र दोस्रो सिस्‍नुपानी नेपालको अभियान भएको पोखरेलले बताए।  'मैले केटाकेटी हुदा बेलाबेला सिस्‍नुपानी सहेको छु त्यो सिस्‍नुपानीको भोगाइ मैले बुझेको छु। अहिले यो सिस्‍नुपानी अभियान सामाजिक आन्दोलन सामाजिक अभियानको रुपमा अगाडि आइरहेको छ।'

सिस्‍नुपानी नेपालको अभियान सामाजिक, साँस्कृतिक आन्दोलनको अंग बन्नुपर्ने भन्दै उपप्रधानमन्त्री पोखरेलले शुभकामना समेत व्यक्त गरे। कांग्रेस नेता रामचन्द्र पौडेलले देउसी कार्यक्रमले विकृति, विसंगति भ्रष्टाचारको उछिटो काढ्न खोजिरहेको भएपनिअहिलेसम्म सफल हुन नसकेको भन्दै अभियान सिस्‍नुपानीभन्दा अझ कडा भएर प्रस्तुत हुन आग्रह गरभए खोट लगाउन अनुरोध गरे।

नेपालले निकै ठूलो अवसर पाएको भन्दै त्यसको सदुपयोग गर्न समेत पौडेलले सत्तापक्षलाई आग्रह गरे। उनले भने, 'नेपालमा सुशासन कायम गर्न सकियोस्। सरकारले कहिल्यै नपाएको अवसरको सदुपयोग गर्न सकोस्।'

कार्यक्रममा सिस्नुपानि देउसीभैलोका संयोजक टंक आचार्य र अध्यक्ष लक्ष्मण गाम्नानेको समुहले तिखो व्यङ्ग्य प्रस्तुत गरेको थियो।

त्यस सन्दर्भमा 'खलास' शीर्षकमा प्रहसन गरिएको थियो। जसमा प्रधानमन्त्री केपी शर्मा ओलीको भूमिकामा सीताराम कट्टेल 'धुर्मुस', नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भूमिकामा मनोज गजुरेल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भूमिकामा दमन रुपाखेती र चित्रगुप्तीकाको भूमिकामा कुञ्जना घिमिरे 'सुन्तली'ले अभिनय गरेका थिए। कार्यक्रममा हाँस्यकलाकार राजा राजेन्द्रले कलाकार जेबी टुहुरेको भूमिकामा गीत प्रस्तुत गरेका थिए।

सिस्‍नुपानीको देउसीभैलोका केही अंश हेर्नुस्:

हे भन भन साथी हो – देउसिरे
राम्ररी भन – देउसिरे
उहिले उहिले हाम्रो – बेलैमा
सत्ता ढलाउने – खेलैमा

छिनछिनमा सरकार – फेरिन्थे
दूतावासद्वारा –घेरिन्थे
टाला र टुली – गाँसिन्थे
नौ मैना नभै – मासिन्थे

दिल्लीमा गई – मुख बाउँथे
उहीँबाट पिएम – भै आउँथे
अहिले त सरकार – सग्लो छ
धरहराभन्दा – अग्लो छ

ललाट ठूलै – भाको छ
जनताको साथ – पाको छ
तै पनि कामकुरो – छिन्दैन
छिटो हिँड भन्यो – हिन्दैन।

नहिँड्या किन – राम जाने
के गरे हिँड्ला – राम जाने

राम जाने, राम जाने
यो सरकारलाई के ले रोक्यो – राम जाने
हे दुई तिहाइलाई के ले छेक्यो – राम जाने

हामी त्यसै आएनौँ जनताले पठाए
दुई तिहाईलाई खबरदारी गर्न खटाए
यसपालि त देउसीभैलो खेल्न मनै थिएन
अरिङ्गालले चिलेर बस्नै दिएन

यो सरकारको दिमाग चल्छ किन अङ्ग चल्दैन
डकारेको ग्याँसले घरको चुलोे बल्दैन
पहिलो निसान सरकारले सिण्डिकेटलाई ताकेको
एकदुई पाइला चाल्दैमा किन थाकेको ?

पाँच महिनामा प्रगतिको ठूलै ग्रन्थ निस्केको
सात महिनामा जादू हो र भन्दै जिस्केको
आकाशमार्ग मोडायौ जलमार्ग जोडायौ
भारतजीको एकाधिकार झण्डै तोडायौ

अनिवार्य निशुल्क भर्ना अभियान चलाउँछौ
स्कूल मात्रै बोलाउँछौ कि साँच्चै पढाउँछौ
सुन काण्डको छानबिन टोली फास्सफुस्स सेलायो
कसलाई जोगाउनु थ्यो र सरकार लोलायो

छानबिनमाथि छानबिनमाथि छानबिनमाथि छानबिन
निर्मलाको दोषी खोज्न बोलाऊ अनमिन

हाम्रा देशका सन्चारमन्त्री, कति मिठो बोलेका
नि लै लै
पत्रकारलाई ङ्याकेर, दिगम्बरलाई च्यापेर
लोकतन्त्रमा हिलो छ्यापेका

सरकारैका मन्त्री बादल, गड्याङगुडुङ गर्जिन्छन्
नि लै लै
असिना नि झार्दैनन्, मसिना चैँ छाड्दैनन्
ठूला माछा मार्दै मार्दैनन्

भन भन साथी – जनता
सबैभन्दा माथि –जनता
आँगन बढार्छ –जनता
सडकमा झार्छ –जनता
घुस दिन जान्छ –जनता
भ्रष्टाचार भन्छ –जनता

मान्छेलाई ठग्छ –जनता
ढुङ्गालाई ढोग्छ –जनता
बासी भात बेच्छ –जनता
अनुगमन छेक्छ – जनता
दलालकाँ जान्छ –जनता
तीन बल्ड्याङ खान्छ –जनता
खेत बाँझो राख्छ– जनता
चाउचाउ ताक्छ – जनता

नदीनाला मिच्छ – जनता
छोरी चेली बेच्छ – जनता
रक्सीमा बिक्छ – जनता
कर छल्न सिक्छ – जनता
झाँक्री भई काम्छ – जनता
बोक्सी भन्दै डाम्छ – जनता
दाइजो फलाउँछ – जनता
बुहारी जलाउँछ – जनता

तीनमहिना दर खान्छ – जनता
मोटाउन डर मान्छ – जनता
देश छोडी भाग्छ – जनता
फेसबुकमा जाग्छ – जनता
ऐनामा हेरौँ – जनता
ऐनामा हेरौँ – जनता
आफैँलाई फेरौँ – जनता
आफैँलाई फेरौँ – जनता

बालुवाटारमा छिर्छन् मन्त्री जोश बोकेर जुरुक्क
फर्की आउँदा पर्छन् तिनै किन लुरुक्क?
केही गर्न खोज्छन् मन्त्री सल्लाहकारले छेक्छन् रे!
पि.एम. एक्लै समृद्धिको सपना देख्छन् रे

उड्डयन र पर्यटन, श्रमको क्षेत्र सुध्रियो
भौतिक तथा यातायात ह्वाङ्गै उध्रियो
फेर्छु भन्छन् प्रचण्ड सरकारको गियर
गियर हो कि फेर्न खोज्या पि.एम. चियर?

ठेकेदारलाई कारबाही गर्न हाम्रो सरकार मच्चियो
घरबेटीले थर्काएछन् आफैँ थच्चियो
के.सी. अनशन बस्नाले कांग्रेसले पायो काम
तिनले जुस खाएपछि कांग्रेस ठण्डाराम

कसले भन्छ काँग्रेस हार्‍यो कम्निस्ट भन्दा कडा छ
रुखका ठुटा भन्दा धेरै गुट खडा छ
के हेर्‍याथे चुनाउमा काँग्रेस पार्टी बगुन्जेल
काँग्रेस रहला नरहला देउवा रहुन्जेल

ल्याङल्याङ गर्दै बिन्तिी गर्छन् माधव र झलनाथ
हाम्रो पालो आउँछ आउन्न भन्देऊ भोलेनाथ
देखाउन खोज्या थे रामवीर कमरेड दानवीर भै
वामदेवलाई हरियो काँक्रो कसले देला खोई

अख्तियारले पप्पुलाई एक झप्पु हानेछ
राष्ट्र बैंकले उसैलाई ठेकदार छानेछ
न्वारानको भोज गर्न पार्टी प्यालेस पाइएन
बालुवाटारमै पाइने भयो अन्त चाहिएन

राष्ट्रसेवक कर्मचारी, देशका हुन् कि पार्टी का
नि लै लै
सरुवा–बढुवा रुङ्दछन् काममा भने उङ्दछन्
आफ्नै माऊलाई आफैँ ठुङ्दछन्

संविधान दिवसैमा, तक्मा–बाँड्ने के सै मा
नि लै लै
स्यालले पदक भिरेका, छेपारा नि छिरेका
मुसुमुसु हाँस्दै फिरेका

भन भन साथी हो – विचरा
कठै बरा – विचरा
नेकपा बैठक – विचरा
कांग्रेसको विधान – विचरा
संघीयता – विचरा
प्रदेश सरकार – विचरा
प्रदेश प्रमुख - विचरा
प्रदेश राजधानी – विचरा

पुनर निर्माण – विचरा
स्मार्ट लाइसेन्स – विचरा
शेरबहादुर तामाङ – विचरा
सर्वेन्द्र खनाल – विचरा
नारायण काजी – विचरा
लालबाबु पण्डित – विचरा
बाबुराम भट्टराई – विचरा
रामचन्द्र पौडेल – विचरा

टिभी वरिपरि घुम्छन् सन्चारकर्मी धमला
केपी वरिपरि घुम्छिन् ओली कोमल
जति धेरै जन्म मिति उति योग्य न्यायाधीश
नेपालको न्यायालय टाँय टाँय फिस

आइएनजिओ नेपालमा विश्लेषक पाल्दछन्
आगो बाल्छन् द्वन्द्वको घिऊ हाल्दछन्
हाम्रा ठूला मिडिया विदेशीका गुडिया
फस्ने हुन् कि मछली तिनकै ढडिया

हेर्दा हेर्दै सिंहदरबार आयोे हाम्रो ठाउँमा
दरवारसँगै राजा – रानी आए गाउँमा
वडा अध्यक्ष पनि उही डोजर पनि उसैको
डाँडाकाँडा चिरा पारे बजेट भुसै भो

मोबाइल किन्छन्, गाडी किन्छन्, ठेक्कापट्टा मिलाउँछन्
आफूलार्ई तलवभत्ता आफैँं दिलाउँछन्
करमाथि भ्याट लाग्छ भ्याटमाथि कर लाग्छ
निन्द्रामा नि कर लाग्ला कि भन्ने डर लाग्छ

बिहे नवीकरण गराऊ वर्षैपिच्छे कर लगाऊ
जनता हो कर नतिरी हात नबढाऊ
विद्या जीको महानगरमा फोहोरको डंगुर
पर्यटकलाई निषेध गरौँ पालौँ बङ्गुर

कस्तो शान्त सुन्दर, काठमाडौं शहर
विद्यासुन्दर ब्युँझेलान् हल्ला नगर

हाम्रा मधेशवादी नेता, संविधानलाई कालो भन्छन्
नि लै लै
कति–साह्रो ज्ञानी त्यै संविधान मानी
मन्त्री खान्छन् छानी छानी

सर्वहारा सरकारैले, हाम्रो दुःख देखेको
नि लै लै
जनपक्षी बनेर ठण्डी लाग्ला भनेर
महंगीले ढाडै सेकेको

आशीष
एम्बुलेन्स जाममा नपरोस्
जुवाडे झ्यालबाट नझरोस्
टिको थाप्दा लम्पसार पर्नु नपरोस्
सरकारले विरोध पचाओस्
आफूलाई पाँच वर्ष बचाओस्
ढिला सुस्ती गर्ने अङ्ग छिटो जँचाओस्

मार्सी खुवाउने खेत नहोस्
एअरपोर्टमा भिसी भेट नहोस्
नेकपाको एकता चङ्गा चेट् नहोस्
किला ठोकी सडकमा बलात्कारी बाँधियोस्
भोटे कुकुर छाडेजस्तो टिपर छाडियोस्

अहिले नगरे कहिले तिमीले नगरे कसले
इन्धन आयात घटाउला त यौटो बिजुली बसले
डाँडा काँडा काटो सेनाले बनायो बाटो
यस्तै कर्म गरोस् सधैं व्यापारको साटो

सत्यमोहनझैं शक्ति होस्, राष्ट्र कविझैं आयु होस्
वागमती झैँ सफाइ होस्, स्वच्छ वायु होस्
हावाबाट बिजुली पाइपबाट ग्याँस आउला
भाइबर बाट दालभात खाउँला झ्याप्प निदाउँला

निजगढ एयरपोर्ट झरौँला, फास्ट ट्रयाकभित्र छिरौँला
मेची पुगी महाकाली आजै फिरौँला
पर्ख पर्ख मयालु म पनि त आउँला
चुच्चे रेलमा चढाएर रारा घुमाउँला

भन्ने दिन आएसि तिम्रो भर परौँला
चन्द्र सूर्य झण्डा बोकी जयजय गरौँला

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.