|

जनकपुरधाम : यस वर्षको तिहारका लागि धनुषाको जनकपुरधाममा करिब ५० लाख रुपैयाँको फूल आयात गरिएको छ। धनुषाको प्रमुख धार्मिक तथा ऐतिहासिक नगरी जनकपुरधाममा गत वर्ष ४५ लाख रुपैयाँ बराबरको फूल आयात गरिएको रामजानकी माली कुटीका अध्यक्ष सुरेन्द्र भण्डारीले बताए। यस वर्ष फूलको माग बढेको उनले बताए।

पुष्प व्यवसायीहरुका अनुसार यस वर्षको कागतिहार र कुकुर तिहार मात्र २५ लाख रुपैयाँ बराबरको फूल बिक्री भएको छ। धनुषामा फूल किसान बढेको र यस वर्ष फूलको राम्रो उत्पादन भए पनि माग बढेकाले गत वर्षभन्दा बढी फूल आयात गर्नुपरेको जानकी मन्दिरमा वर्षौदेखि फूल बेच्दै आएका रामनारायण मालीले बताए। ‘हामीले लगाएको फूल यस वर्ष राम्रो फस्टाएको छ,’ उनले भने, ‘तर पूmलको माग बढेपछि गेना, रजनीगन्धा, मखमली, गुलाबजस्ता फूल बाहिरबाट मगाएका हौं।’ यहाँ भारतको कलकत्ता, पटना, सिलिगुडीबाट फूल आयत गरिने व्यापारीहरु बताउँछन्।

व्यापारीहरुका अनुसार भारतबाट आयात हुने फूलको आकार एकै प्रकारको हुने भएकाले उपभोक्ताले त्यस्तै फूलको माग गर्छन्। यस्तै, भारतबाट आयात भएको फूलको मूल्य पनि नेपालमा उत्पादन भएका भन्दा सस्तो भएको हुनाले भारतबाट आयात गर्नुपर्ने परेको मालीको भनाइ छ।

यस क्षेत्रमा रहेका जानकी मन्दिर, राम मन्दिर, राजदेवी मन्दिर, धनुषाधाम लगायतका धार्मिक मठमन्दिरहरुमा दैनिक २० देखि २५ हजार रुपैयाँ बराबरको फूल बिक्री हुँदै आएको जनकपुरधाम उप–महानगरपालिका–७ का फूल व्यवसायी गणेश मालीले बताए। ‘म जानकी मन्दिर तथा राममन्दिरको फूल स्टलबाट दैनिक तीनदेखि चार हजार रुपैयाँको फूल बेच्ने गर्छु,’ उनले भने, ‘सोही अनुपातमा हेर्दा दैनिक २० देखि २५ हजारको फूल बिक्री हुने अनुमान लगाउन सकिन्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.