|

काठमाडौं : नेपाल आयल निगमले तिहारको समयमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन पेट्रोल पम्पलाई पर्याप्त मात्रामा इन्धन उपलब्ध गराएको छ।

निगमको थानकोटस्थित डिपोबाट काठमाडौं उपत्यकालगायत आसपासका विभिन्न पम्पलाई बुधबार ८.५ लाख लिटर पेट्रोल र ४.५ लाख लिटर डिजेल वितरण गरिएको डिपो प्रमुख इन्जिनियर भरत रेग्मीले बताए। निगमले मंगलबार ८.५ लाख लिटर पेट्रोल र ८.३ लाख लिटर डिजेल विभिन्न पम्पलाई उपलब्ध गराएको थियो।

डिपोले काठमाडौं उपत्यका, बनेपा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट र सिन्धुलीका केही भू–भागका पेट्रोल पम्पलाई इन्धन उपलब्ध गराउँदै आएको छ। प्रत्येक पम्पले माग गरेबमोजिमको इन्धन उपलब्ध गराइएको उनले बताए।

लक्ष्मी पूजाका दिन सार्वजनिक बिदा भए पनि थानकोटस्थित डिपो भने खुल्ला नै रहेको छ। निगमले सार्वजनिक बिदाका दिनसम्म पुग्ने गरी इन्धनको पर्याप्त मौज्दात राख्न र इन्धन आवश्यक परे ट्याङ्कर डिपोमा पठाउनसमेत आग्रह गरेको छ।

सार्वजनिक बिदाका दिन भए पनि आकस्मिक रूपमा इन्धनको माग भएमा उपलब्ध गराउन दुई अधिकृतकसहित आठ कर्मचारीलाई तयारी अवस्थामा राखिएको डिपो प्रमुख रेग्मीले बताए। निगमले दशैँको सार्वजनिक बिदाका दिनमा समेत उपत्यकामा इन्धनको अभाव हुन नदिन डिपो खुल्ला नै राखेको थियो।

निगमको थानकोटस्थित डिपोमा डिजेल ७० लाख र पेट्रोल ४० लाख लिटर भण्डारण क्षमता रहेको छ। डिपोमा पर्याप्त मात्रामा इन्धन मौज्दात रहेकाले कुनै अभाव नहुने उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.