|

टर्कीले साउदी अरबको महावाणिज्यदूतावासमा भएको पत्रकार जमाल खसोग्गीको हत्या प्रकरणसँग जोडिएको एउटा श्रव्यसामग्री वासिङ्टन र रियादलाई बुझाएको छ। 

राष्ट्रपति रेसेप तैयप एर्दोआनले उक्त श्रव्यसामग्री साउदी अरब र वासिङ्टन, जर्मनी, फ्रान्स र बेलायतलाई उपलब्ध गराएका बताएका छन्। ‘महावाणिज्य दूतावासमा भएको विवाद उनीहरूले सुनेका छन्। तर उक्त सामग्रीबारे सहायक लिखित सामग्री भने दिइएको छैन', टेलिभिजनमा सम्बोधन गर्दै उनले भने।  

पत्रकार खसोग्गीलाई अन्तिम पटक गत अक्टोबर २ मा टर्कीमा रहेको साउदी अरबको महावाणिज्य दूतावासमा विवाहका लागि आवश्यक दस्तावेज लिन प्रवेश गर्दा देखिएको थियो। सोही दिन उनको हत्या गरिएको बताइँदै आएको छ। उनान्साठी वर्षीय खसोग्गीको हत्या भएको कुरालाई लामो समयसम्म साउदी अरबले नस्वीकारे पनि बढ्दो अन्तर्राष्ट्रिय दवाबपछि महावाणिज्य दूतावासमा भएको विवादमा पत्रकार मारिएको जनाइएको थियो।

एर्दोआनले उक्त घटनामा साउदी अरबका सबैभन्दा उच्च तहकोको नै निर्देशन रहेको आरोप लगाएका छन्। तर टर्कीका केही अधिकारीले भने उक्त घटनामा शक्तिशाली अधिराजकुमार मोहम्मद विन सलमानको सम्लग्नता रहेको हुनसक्ने जनाएका छन्। 

टर्कीको सञ्चारमाध्यमहरू तथा अधिकारीहरूले उक्त श्रव्य सामग्री अमेरिकी गुप्तचर संस्था सिआइएका प्रमुख जिना हास्पेलको टर्की भ्रमणका सन्दर्भमा अमेरिकालाई उपलब्ध गराइएको थियो। तर उक्त सामग्री रहेकोबारे वासिङ्टनले कहिल्यै पुष्टि गरेको छैनन्।  खसोग्गीको हत्या भएको साउदी अरबले स्वीकार गरे पनि उहाँको मृत शरीर अहिलेसम्म पनि भेटिएको छैन।

परिवारले आफ्ना अविभावक खसोग्गीको मृत शरीर दिन सरकारसँग पटक पटक आग्रह गरे पनि एर्दोआनका सल्लाहाकार यासिन आक्तेले गत हप्ता एसिडमा हाली शरीर नष्ट गरिएको हुनसक्ने बताएका थिए। 

पछिल्लो समाचार  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.