|

जाजरकोट : पंचभयार माध्यमिक विद्यालय नलगाड- ८ मा विगत दुई वर्षदेखि पढाउँदै आएका शिक्षकले एक वर्षदेखि तलव पाएका छैनन्। निम्नमाध्यमिक तहमा विज्ञान विषय पढाउने ईन्द्र खत्रीले वर्ष दिनको तलव बुझ्न नपाएका हुन्। विद्यालयमा विद्यार्थीअनुसार शिक्षक दरबन्दी सरकारले व्यवस्था नगर्दा स्थानीयले निजी स्रोतबाट खत्रीलाई यहाँ दुई वर्षअघि तलवभत्ता व्यहोर्ने गरी राखिएको थियो।

त्यस्तै, अर्का शिक्षक रवीन्द्र खत्रीले पनि अहिलेसम्मको तलव पाएका छैनन्। मावि तहमा पढाउनका लागि एक वर्षअघि उनलाई निजी स्रोतबाट नियुक्त गरिएको थियो। सोही विद्यालयमा पढाउने अंग्रेजी विषय शिक्षिका मीना बुढा खत्रीले पनि सात महिनाको तलब भत्ता पाएकी छैनन्।

तलबभत्ता माग गर्दा विद्यालय व्यवस्थापन समितिको बैठक बोलाएर कतैबाट रकम खोजेर ल्याएर दिने जवाफ विद्यालय प्रशासनले दिने गरेको पीडित शिक्षकहरूले बताए। उधारोमा पढाउँदा पढाउँदै हैरान भएको उनीहरूको भनाइ छ।

त्यस्तै पीडा छ, सोही वडाकै सूर्यकिरण प्राविमा पढाउने शिक्षक गोपाल केसी, हिमकुमारी खत्री, लालबहादुर खत्रीलगायतको। उनीहरूले पनि सात महिनाको तलबभत्ता पाएका छैनन्। त्यस्तै, लेकवेँसी प्रावि कार्यखेत, धासाइना प्रावि, सरस्वती प्रावि बारेकोट गाउँपालिका- ५ लगायतका दर्जनौँ विद्यालयका शिक्षकहरूले पनि तलबभत्ता नपाएको गुनासो गरेका छन्।

विद्यार्थी र तहअनुसारको शिक्षक दरबन्दी नहुँदा गाउँलेहरूले आफैँ व्यहोर्ने गरी राखिएका शिक्षकले तलबभत्ता नपाएका हुन्। स्थानीय सामुदायिक वन, विद्यार्थी भर्नाबाट उठेको रकम, गाउँलेहरूले उठाएको रकमबाट शिक्षकलाई तलबभत्ता दिँदै आएको विद्यालय व्यवस्थापन समितिले बताएका छन्।

कतै विद्यालय निर्माण गर्नका लागि छुट्याइएको रकमबाट शिक्षकलाई तलब खुलाएको पनि भेटिएको छ। गाउँलेहरूले विद्यालय निःशुल्क निर्माण गरी, विद्यालयमा आएको बजेट तलब दिने व्यवस्थासम्म गरेको पंच भयार माविका प्रधानाध्यापक हुमप्रकाश सिंहले बताए। ऋण काढेर शिक्षकलाई तलब भत्तासमेत उपलब्ध गराउन बाध्य भएको सिंहले बताए। केही ठाउँमा गाउँलेहरू रकम उठाउन नसक्दा निजी स्रोतबाट राखिएका शिक्षक हटाएर विद्यालयमा कक्षा तहसम्म घटाएको स्थानीयले बताए।

तह घटाउँदा आफ्ना छोराछोरी घर नजिकैको विद्यालयमा पढ्न नपाएर बाहिर जान बाध्य भएको स्थानीयबासीको गुनासो छ। विद्यालयका संरचनासमेत विद्यार्थीमैत्री नभएका कारण दैनिक समस्या हुँदै आएको शिक्षकहरूको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.