|

इङ्लिस फुटबलर वायन रुनीलाई राष्ट्रिय टिमबाट अन्तिम पटक कप्तानको जिम्मेवारीसहित मैदानमा उतारिने भएको छ। देशका लागि कीर्तिमानी गोल गरेका इङ्लिस फवार्ड रुनीको बिदाइका लागि उनलाई समान स्वरूप कप्तानको जिम्मेवारी दिने तयारी इङ्लिस फुटबल एसोसिएसनले गरेको छ।

३३ वर्षे रुनीले अन्तर्राष्ट्रिय फुटबल करिअरबाट सन् २०१७ मा सन्यास लिएका हुन्। तर बिहीबार वेम्बलीमा हुने अमेरिकाविरुद्धको मैत्रीपूर्ण खेल रुनीका लागि इ‌ंग्ल्यान्डबाट १२०औँ तथा अन्तिम खेल हुनेछ। फावियन डेल्फले पहिलो हाफमा इंग्ल्यान्डको कप्तानी छन्। दोस्रो हाफमा वैकल्पिक खेलाडीका रूपमा मैदान छिर्दा डेल्फले रुनीलाई ‘आर्म ब्यान्ड’ सुम्पिनेछन्। वेम्बली रंगशालामा रुनीलाई ‘गार्ड अफ अनर’बाट सम्मान गरिनेछ।

म्यान्चेष्टर युनाइटेड र एभर्टनका पूर्वफरवार्ड रुनीले ११९औँ खेलमा ५३ गोल गरेपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए। इंग्ल्यान्ड फुुटबल संघले रुनीको ‘कीर्तिमानी अन्तर्राष्ट्रिय करियर’लाई सम्मान गर्ने अवसर भएको जनाएको छ। इंग्ल्यान्डले आइतबार नेसन्स लिगमा क्रोएसियाविरुद्ध खेल्नुअघि टोली छाड्नेछन्।

म्यान्चेष्टर सिटीका डेल्फले रुनीलाई सम्मान गर्न पाउनु आफ्ना लागि खुसीको समयम भएको बताए। उनले भने, ‘म इंग्ल्यान्डको टोलीमा पर्दा रुनी कप्तान थिए। उनले मलाई स्वागत गरेका थिए। रुनीले मलाई अँगालोमा बेर्दै घरजस्तो वातावरण महसुस गराएका थिए। अब मैले उनलाई आम ब्यान्ड हस्तान्तरण गर्न पाउनु ठूलो कुरा हो। चाँडोभन्दा चाँडो म उनलाई आम ब्यान्ड हस्तान्तरण गर्न आतुर छु।’ उनले रुनीका लागि मात्र नभई सिंगो इङ्लिस फुटबलका लागि विशेष रात हुनेसमेत दाबी गरे।

इंग्ल्यान्डका लागि कीर्तिमानी ५३ गोल गरेका रूनीले सन् २०१६ नोभेम्बरयता इंग्ल्यान्डको टिमबाट खेलेका छैनन्। रूनीको पछिल्लो खेलमा इंग्ल्यान्डले स्कटल्याण्डलाई ३-० ले पराजित गरेको थियो। गत जुलाईमा अमेरिका गएपछि रुनीले डिसी युनाइटेडबाट १२ गोल गरिसकेका छन्। मेजर लिग सकरको पुछारमा रहेको डिसी युनाइटेड रुनीको प्रेरणामा प्ले अफ खेल्न सफल भएको थियो। 

इंग्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेटले खेलको अवस्था हेरेर रुनीलाई मैदानमा उतार्ने बताए। उनले भने, ‘हामी उनलाई पर्याप्त समय दिन्छौँ तर त्यससँगै आइतबारको तयारीका लागि टोलीमा युवा खेलाडीको संयोजन पनि मिलाउनुपर्छ। आइतबारको खेल हाम्रो अर्को प्राथमिकता हो। त्यो हामी सबैका लागि महत्त्वपूर्ण छ। त्यसैले रुनीको इन्ट्री यही समयमा हुन्छ भनेर मैले ठ्याक्कै भन्न सक्दिनँ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.