|

काठमाडौं : थारू जाति पूर्व-मेचिदेखि पश्चिम महाकालीसम्म छरिएर रहेका छन्। थारू जातिको उत्पत्तिका सन्दर्भमा कतिपय विद्वानहरू यो जातिको पुर्खालाई मंगोलियन हुन् भनेर भन्दछन् भने कति यसलाई आर्य राजपूतका वंशज मान्दछन्। थारू जातिका उत्पत्तिको विषयमा अध्ययन, खोजी लामो समयदेखि चल्दै आएको छ। नेपालमा थारू जातिको बसोबास लिच्छविकालदेखि नै हुँदै आएको भन्ने प्रमाण चापागाउँको शिवदेव प्रथमको अभिलेखमा 'स्थरुद्रङ्ग'को उल्लेख छ।

थारूको उत्पत्तिका विषयमा यो भनाइ पनि सुनिने गरेको छ, ‘चितौर, (राजपुताना) मा मुसलमानको आक्रमण भएपछि राजपूतहरूले १२औँ शताब्‍दीतिर घरका महिलाहरूलाई सुरक्षाका निम्ति उत्तर पहाडतिरका जंगलहरूमा पठाए। ती महिलाहरूले धेरै प्रतीक्षाको अन्तरपछि पनि श्रीमान फर्केर नआएपछि  त्यहीँका निम्न जातिका र आफूसँग आएका नोकरचाकरहरूलाई  श्रीमानका रूपमा स्वीकारेर घरजम गरे, यिनीबाट जन्मेका सन्तान नै ‘थारू’ भए। यसर्थ थारू जातिमा थरुनी घरमुली हुन्छन्। यो जाति मातृसत्तात्मक जाति हो। थारूहरू थरुनीलाई ‘रानी’ भन्दछन्। थारू जातिमा मातृसत्तात्मक प्रचलन अब रानाथारूमा मात्र सीमित हुन पुगेको छ। 

पश्चिम नेपालको बाँके, बर्दिया, कैलाली, कञ्‍चनपुर, सल्यान, दाङ र देउखुरीमा थारू जातिको बाहुल्यता बढी नै पाइन्छ। कुचिला, दनुवार, छरिया, दंगोरिया, कठरिया, रकटियाराना, खुनहा, सुनहार र राजि थारू जातिका थर हुन्। यी थारूमा कुचिला थरका थारूलाई माथिल्लो दर्जा दिने गरेको पाइन्छ। कुचिलाहरू जनै लगाउँछन् तर कुखुरा,सुगुर,जाँड, खाँदैनन्। यद्यपि यिनीहरू रक्सी खान्छन्। दाङबाट दंगोरिया,कठरबाट कठरिया,र रझटबाट रझटिया थारू भएका हुन्। यिनीहरू हाँस ,कुखुरा र सुँगुर पालेर त्यसको मासु खान्छन्। यिनीहरू स्याल र काग पनि खान्छन्। दंगोरिया (दङ्गाली) धेरैजसो दाङ,देउखुरी,सल्यान ,बाँके र बर्दियामा छन्। दंगोरियाले रानाथारूभन्दा आफूलाई बढी उन्नत जातको थारू ठान्दछन्। रानाथारू पनि आफूलाई द‌ंगोरियाभन्दा उन्नत नै ठान्दछन्।

आफैँमा थारू समुदाय चाड, पर्व संस्कृतिमा सम्पन्न समुदाय हो। मघौटा नाच, सखिया नाच, लठ्ठी नाच, तरबार नाच , छोक्रा नाच, बर्का नाच, मुङग्राहुवा नाच, झुम्रा नाच, हुर्दुङवा नाच, राम झुम्मर नाच,दस्या नाचका साथै चाडपर्व थारू समुदायका मौलिक पहिचान हुन्। विशिष्ट सांस्कृतिक तथा मौलिक पहिचान बोकेको संस्कृति मध्येको एक हो सखिया नाच। विशेष गरी दंगोरिया  (दङ्गाली) थारू समुदायमा सखिया नाचको प्रचलन रहेको पाइन्छ। कृष्णजन्म अष्टमिदेखि दसैँको पाँचौँ दिन अर्थात् कुजाग्रत पूर्णिमाको दिनसम्म सखिया नाच नाच्ने प्रचलन भएता पनि हालका दिनमा दसैँभन्दा १० ,१५ दिन अगाडिबाट सखिया नाच्न सुरु गर्ने गरेको देखिन्छ। गुरुवाको थान मा आफ्ना कुलदेवताको पूजा गरिसकेपछि कुलदेवताको अनुमतिबाट त्यही दिनदेखि सखिया नाच नाच्न सुरु गरिन्छ।

यस नृत्यको गीतमा कृष्ण भगवानको जीवन गाथा पाइन्छ। सखी अर्थात् साथीहरूले पंक्तिबद्द भई नृत्यमा सहभागिता जनाउँदछन्। सखिया नृत्य अरूवेला रातिमा मात्र नाच्ने गरिन्छ  भने अष्टमीदेखि कोजाग्रत पूर्णिमाको दिनसम्म दिउँसो परम्परागत पहिरन फरिया, चोलिया, सुतिया, कन्सेरी, पोते,माला र टौक आदि लगाई शृंगार गरेर नाच्ने गरिन्छ। गीत गाउँदै नाच्ने सखिया नाचलाई ‘मेर्री’ नाच भनिन्छ ,यसमा केटीहरू गीत गाउँदै नाच्छन्। अर्को मादलको तालमा नाच्ने सखिया नाचलाई ‘पैया’ भनिन्छ।

यसमा मादलको तालमा सबै सखीहरू अर्थात् थरुनीहरू  एकै किसिममा खुट्टाको ताल मिलाएर नाच्ने गर्दछन्। अन्तमा ‘गिदाहा पैया’ यसमा सबै थरुनीहरू गीत गाउँदै पैया लाग्ने गर्दछन्। पैयामा खुट्ठाको ताल मिलाइन्छ। यस नृत्यमा गीत गायन अगुवा र पछुवाको व्यवस्था गरिएको हुन्छ। त्यसैगरी मादल बजाउनका लागि  अगुवा थारू र पछुवा थारूको व्यवस्था गरिएको हुन्छ। कुनै कारणले गर्दा नृत्यमा अगुवा थारू उपस्थित हुन नसकेको अवस्थामा पछुवाले मादल बजाउने गर्दछ भने पछुवा नहुँदा अगुवाले मादल बजाउने गर्दछ।

 सखिया नाच नगरे गाउँमा अनिकाल पर्ने, महामारी फैलने जनविश्वास रहेको छ। यो नृत्य सुरु गर्नुपूर्व गुरुवाको अनुमति लिनुपर्ने र गुरुवाले मन्त्र फुकिदिने चलन रही आएको छ। मघोटा नाच जस्तो सखिया नाच छोडुवा हुँदैन। मघौटा नाच गाउँ,टोल जहाँ मन लाग्यो त्यही माया प्रेमका गीत गाई नाच्ने प्रचलन पाइन्छ। सखिया नाच निश्चित आफ्नो टोल मात्र नाच्ने गरिन्छ जसको गीतमा महाभारतको कृष्णलीलाको बारेमा वर्णन गरिएको हुन्छ। साथै नर्तकीहरूलाई दृष्टात्माबाट बचाउन गुरुवाको पनि व्यवस्था गरिएको हुन्छ। यदि अर्को टोल वा गाउँमा नाच्नुपर्ने भएमा गुरुवाको अनुमति लिएर मात्र नाच्न पाइने प्रचलन रहेको छ। सखिया नाचमा सुरुका दिन फर्सीको पात हातमा लिएर नाचिन्छ भने दोस्रो दिनदेखि केही दिनसम्म सनपाटको फुर्का हातमा लिएर मजिरा बजाउँदै नाचिन्छ।

सखिया नाचका क्रममा नाचेको प्रत्येक १०/१० दिनमा ‘चुकी’ खाइन्छ भने कोजाग्रत पूर्णिमासम्म नाचेर अन्तमा सबै गाउँका भद्र भलादमी,गुरुवा,बडघर र सबै गाउँलेलाई बोलाएर ‘ख्यारा’ खाइन्छ। पहिला-पहिला हरेक थारू समुदाय,टोल टोलमा नाचिने यो नृत्य वर्तमान समयमा केही छिटफुट ठाउँमा मात्र नाच्ने गरेको पाइन्छ। सदियौँदेखि नाच्दै आएको सखिया नृत्य विस्तारै हराउँदै गएको छ। पहिला कृष्णजन्म अष्टमिदेखि कोजाग्रत पूर्णिमासम्म नाचिने यो नृत्य हालका दिनमा १०/१५ दिनमा मात्र सीमित हुन पुगेको स्थानीय शिक्षक चन्द्रलाल चौधरी बताउँछन्।

अधिकांश दंगाली थारूहरूले विस्तारै यो नृत्य गर्न छोडिसकेका छन्। नयाँ पुस्तालाई यो संस्कारको महत्व थाहा नहुनु,सखिया नृत्यमा गाइने गीत गाउन नजान्नु र आयातित संस्कृतिमा आकर्षित हुनुले सखिया नाच हराउँदै गएको यथार्थता सखिया नाचका जानकार चन्द्रलाल चौधरी  बताउँछन्। थारूहरू सखिया नाचको क्रममा होस् वा चुकी खाने क्रममा जाँड खाने, होहल्लाा मच्चाउने,थरुनीमाथि दुर्वव्यहार गर्नेजस्ता असामाजिक कार्यले गर्दा पनि यो नृत्यप्रति थरुनीहरूको रुचि घट्दै गएको स्थानीय हरि चौधरी  बताउँछन्।

थारूहरूले नै यसरी आफ्नो मौलिकता बिर्संदै जाँदा विस्तारै यो संस्कृति मात्र नभई सभ्यता नै लोप हुँदै जाने कुरामा शंका नगर्न सकिन्न। थारूहरूको यो मौलिक संस्कृति बचाउन थारू समुदाय मात्र नलागी स्थानीय सरकारले पनि विशेष चासोको साथ सकारात्मक पहल कदमी गर्न जरुरी देखिन्छ। कुनै पनि जातजातिको सभ्यता,संस्कृति,मौलिकता भाषाको संरक्षण, सम्वर्द्धन,र प्रवर्द्धन गर्नु स्थानीय सरकारको दायित्व हो। यसर्थ पनि थारू जतिमा लोप हुँदै गइरहेको यो विशिष्ट मौलिक पहिचान बोकेको सखिया नृत्यको संरक्षण गर्नु स्थानीय सरकारको दायित्व हो।

सन्दर्भसूची

थारू जाति एक अध्ययन – डा.मोदिनीप्रसाद शर्मा
थारू जाति र तिनको संस्कृति   – ईश्वर बराल

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.