|

बाजुरा : बाजुराको बूढीनन्दा नगरपालिकाका विभिन्न वडाका अतिविपन्न परिवारका बालवालिकाहरूलाई काठमाडौंमा लगेर लालनपालन पढाइ दिने भन्दै सदरमुकाम मार्तडीबाट काठमाडौं लैजान लागिएका १० जना बालबालिकाको जिल्ला प्रहरी कार्यालय बाजुराले उद्धार गरेको छ।

शुक्रबार बिहान १० बजे जिल्ला सदरमुकाम मार्तडीको पाँणी होटलबाट अतिविपन्न परिवारका १० जना बालबालिका र बालबालिकाको पालनपोषण र पढाउने जिम्मा लिई  काठमाडौं लिन खोज्ने बूढीनन्दा नगरपालिकाका ८ कै वीरबहादुर लुहारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले बालबालिका र निज लुहारलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा जिल्लाका कुनै पनि सरकारी निकायहरूबाट अनुमति नलिई बिनाजानकारी बालबालिकालाई काठमाडौं लग्न खोजिएकोले बालबालिकालाई अभिभावकहरूको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख उद्धव सिंह भाटले जानकारी दिए।

यता बालबालिकालाई काठमाडौं लगेर उनीहरूको लालनपालन र पोषणको जिम्मेवारी लिने बूढीनन्दा नगरपालिकाका वीरबहादुर लुहारले भने आफूले सबै बालबालिकाको अभिभावकको अनुमति र उनीहरू अध्ययन गर्ने विद्यालयबाट सर्टिफिकेट र वडाको सिफारिसका साथ बालबालिकालाई काठमाडौं लान खोजेको बताएका छन्।

जिल्लाको जिल्ला बालकल्याण समिति र स्थानीय प्रसाशनलाई बिनाजानकारी बालबालिकालाई काठमाडौं लिन खाज्ने क्रममा बालबालिका र निज लुहारलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको हो। काठमाडौंमा पढाउन लैजाने भन्दै प्रति परिवारका एक बालबालिकाका अभिभावकबाट बाजुरादेखि काठमाडौंसम्मको भाडासमेत संकलन गरेर सदरमुकाम मार्तडीमा आएको थाहा पाएपछि दलित अधिकारकर्मी गोरखबहादुर सार्कीले प्रहरीलाई जानकारी गराएका थिए।

प्रहरीले बालबालिका र निज वीरबहादुर लुहारलाई नियन्त्रणमा लिएर सोधपुछ गरेपछि बालबालिकालाई जिल्लाको कुनै पनि सरोकारवाला निकायलाई जानकारी नदिएको थाहा पाएपछि शुक्रबार प्रहरीले बालबालिकालाई स्थानीय अभिभावक तथा दलित अधिकारकर्मी गोरख बहादुर सार्कीको जिम्मा लगाएका छन्।

विपन्न परिवारका बालबालिकालाई प्रहरीले जिम्मेवारीका साथ आफ्नो जिम्मामा सुम्पेका बालबालिकालाई शुक्रबार साँझ नै बूढीनन्दा नगरपालिकातर्फ पठाई सकेको दलित अधिकारकर्मी सार्कीले बताए। पछिल्लो समयमा बालबालिका बेचबिचनमा पर्ने खतरा बढेपछि सरकारले बालबालिकालाई एक जिल्लाबाट अर्को ठाउँमा लैजान विधि र प्रक्रिया पुर्‍याउनु पर्ने प्रावधान लागू गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.