|

जनकपुरधाम : प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामको विकास निर्माणका लागि खानेपानी तथा सरसफाइ मन्त्रालयले जनकपुरधाम उप–महानगरपालिका नगर विकास तथा सौन्दर्यकरणका लागि करिब १ अर्ब रुपैयाँको लगानी गर्ने भएको छ। धार्मिक, ऐतिहासिक, पर्यटकीय तथा सांस्कृतिक केन्द्रको रूपमा रहेको जनकपुरधामको सौन्दर्यकरणका लागि १ अर्ब लगानी गर्ने भएको हो।

जनकपुरधामको ३२ वटा धार्मिक तथा ऐतिहासिक महत्वको पोखरी एवं बाह्रबिघा (रंगभूमि मैदान) को सौन्दर्यीकरण अन्तर्गत सो रकम खर्च हुने जनाइएको छ। जनकपुर उप–महानगरपालिकाका मेयर लालकिशोर साहसँग छलफल गरी आयोजनाको ठेक्का बन्दोबस्त कार्तिक मसान्तभित्र हुने मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले जानकारी दिए ।

सौन्दर्यीकरण आयोजना अन्तर्गत अंगराजसर र धनुषसागरमा जडान गरिने लाइट एन्ड साउन्ड (विद्युतीय फाउन्डेसन) तथा गंगासागरमा लेजर लाइटको माध्यमले दैनिक जानकी लिला प्रदर्शन हुनेछ।  खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव ठाकुरका अनुसार जनकपुरधाम नगर क्षेत्रका ३२ वटा पोखरी तथा रंगभूमि मैदानको सौन्दर्यीकरण सम्बन्धी ठेक्का बन्दोवस्त गरिनेछ ।

पहिलो चरणमा गंगासागर, धनुषसागर, अंगराजसर सागर तथा महाराजसर सागर, रत्नसागर सागर, विहार कुण्ड सागर सहितका ८ वटा पोखरीको सौन्दर्यीकरण सुरु हुने उनले जानकारी दिए। सौन्दर्यकरण अन्तर्गत पोखरीहरूको घेरा, सरसफाइ, विद्युतीकरण, पार्क निर्माण, बोटिङको व्यवस्था लगायतका काम हुनेछ । त्यस्तै गंगासागरमा अत्याधुनिक लेजर मार्फत जानकी लीला प्रदर्शनको व्यवस्था मिलाइनेछ।

लेजर लाइट मार्फत प्रदर्शन गरिने जानकी लीलामा सीताको जन्मदेखि विवाह तथा राम राज्यको दृश्य तथा मिथिला परम्पराको लोकगीत तथा नृत्यको अवलोकन गराइने मेयर लालकिशोर साहले बताए। २०६२ श्रावण २६ गते मन्त्रीमण्डल स्तरीय निर्णयद्वारा बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका तत्कालीन अध्यक्ष भोजराज घिमिरेको अध्यक्षतामा गठित उच्चस्तरीय कार्यदलले जनकपुर र यसको वरिपरि ४९ धार्मिक महत्त्वका सार्वजनिक पोखरीहरूको सूची सार्वजनिक गरेको थियो।

जनकपुर टाउन प्लानिंगको प्रोफाइल २०४८ मा उल्लेख अनुसार जनकपुरमा ५८ वटा सार्वजनिक पोखरी र अन्य माछापालन, मखाना, सिंघारा आदि खेती गर्ने प्रयोजनका ४० हेक्टर जग्गामा कुल ८० पोखरी रहेको उल्लेख छ।

जसमध्ये २४ दशमलव १५ ठीक अवस्थामा,४३ दशमलव १ प्रतिशत नराम्रो अवस्थामा तथा ३२ दशमलव ८ प्रतिशत अस्तित्व संकटोन्मुख एवं लोपोन्मुख भएकोे उल्लेख छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.