|

डडेल्धुरा : रोजगारीको अवसर नपाएर वर्सेनि लाखौँ युवा रोजगारीको खोजीमा विदेश गइरहेका छन्। यद्यपि, केही व्यक्ति आफ्नै सीपले प्रयोग गरी जीवन मात्र गुजारा गरारहेका छैनन्, परिवार पनि राम्ररी चलाइरहेका छन्। 

डडेल्धुराको अमरगढी- ६ दुमडाका शिवन ताम्राकारले तामाका भाँडाकुँडा बनाउने पेसा गर्छन्। उनले सोही पेसाबाट पाँच जनाको परिवार राम्ररी चलाउँदै आएका छन्। २०३२ कात्तिक १५ मा दुमडामा जन्मेका उनले लामो समयदेखि तामाका भाँडाकुँडा बनाउँदै आएका छन्।

सडक छेउको खुला आकाशमुनि उनको तामाका भाँडाकुँडा बनाउने आरन छ। त्यहीँ बनाइएका तामाका सामग्री बेचेर आएको आम्दानीले उनको जीवनशैलीमा परिवर्तन आएको हो। उनका दुई छोरा र एक छोरी यसै पेसाबाट आएको आम्दानीले विद्यालय पढाइरहेका छन्। वर्षभरिका लागि पुग्ने अन्न, लत्ताकपडा, औषधोपचार खर्च पनि यही पेसाबाट आएको आम्दानीले धानेको उनले बताए।

जीवनको 'यु टर्न'

सानैदेखि यस पेसामा आवद्ध शिवन रोजगारीका लागि भारतको गडवाल पुगेका थिए। त्यहाँ पनि उनले तामाका भाँडा बनाउने काम गरे। त्यहाँले उनलाई ‘मालिक’ले नेपाली कामदारमाथि गर्ने व्यवहार मनपरेन। त्यसैले उनी स्वदेश फर्किए।

भारत रहँदा उनलाई आफ्नो देशमै केही गर्न सक्छु भन्ने भावना जाग्यो। अर्काको देशमा जति नै पसिना बगाएर काम गरे पनि मालिकले हेप्ने, होच्याउने कार्य गरेकाले आफ्नै देश फर्केको उनको भनाइ छ। उनले भने, ‘यहाँ त्यति राम्रो लागेन। त्यही भएर आफ्नै देशमा केही गर्छु भनेर आएँ।’

उनले नेपाल आएर तामाका माना, पाथी, ताउली, दियो, विभिन्न किसिमका बाजा र मूर्तिहरू बनाउन सुरु गरे। उनले बनाएका तामाका सामग्री बजार क्षेत्र र जिल्लाका विभिन्न गाउँमा सहजै बिक्री हुने गरेको बताए। ‘आफ्नो कामलाई सबैले मनपराउने गरेकाले घरबाटै तामाका भाँडाकुँडा बनाइदिन आग्रह गर्छन्’, उनले सुनाए, ‘विवाहको सिजनमा तामाका भाँडाकुँडा कन्यालाई दान दिने भएकाले राम्रै कमाइ हुने गरेको छ।’

शिवनले एक किलो तामाका सामग्री एक हजार ३०० रुपैयाँ र ठूलाठूला ताउलीहरू पाँच हजारदेखि छ हजार रुपैयाँसम्ममा बेच्दै आएका छन्। उक्त सामग्री बेचेर उनले मासिक २० देखि ३० हजार रुपैयाँसम्म आम्दानी गर्दै आएका छन्। 

सरकारसँग आग्रह

देशमै केही गर्ने उद्देश्यले काम गरिरहे पनि अहिलेसम्म आफ्नो पेसा-व्यवसायलाई प्रवर्द्धन गर्न सरकारबाट सहयोग नपाएको उनको गुनासो छ। ‘अहिलेसम्म कुनै ठाउँबाट पनि सहयोग पाइएको छैन’, उनले भने, ‘यो पेसा-व्यवसाय बढाउनका लागि केही आर्थिक सहयोग पाए राम्रो हुन्थ्यो।’ सरकारले सहयोग गरेमा आफ्नो व्यवसायलाई विस्तार गर्ने उनको योजना छ।

गाउँघरको सरकारका रूपमा रहेको स्थानीय सरकारले पनि आफूलाई नहेरेको उनको आरोप छ। लोप हुँदै गइरहेको आरन पेसाको संवर्द्धनका लागि स्थानीय सरकारले विभिन्न किसिमका तालिमहरू दिनुपर्ने उनको सुझाव छ। अहिले तामाका भाँडाकुँडा बनाउने पेसा संकटमा परिसकेको बताउँदै उनले त्यस पेसालाई संरक्षण गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताए।

युवालाई सुझाव

रोगजारीका लागि लाखौँ लगानी गरेर विदेश जानुभन्दा आफ्नै देशमा पसिना बगाउन सके आम्दानीका साथै गर्वका साथ बाँच्न सकिने उनको भनाइ छ। ‘आधुनिक तरिकाले विभिन्न व्यवसाय गरेमा युवाहरू विदेश पलायन हुनुपर्दैन’, उनले भने, ‘आफूले गर्न लागेको पेसाबारे ज्ञान हुनुपर्छ। लगनशील भएर लाग्नुपर्छ।’

सरकारले बेरोजगार तथा गरिब युवाहरूलाई सीपमूलक तालिमको व्यवस्था गरे युवाले रोजगारीको खोजीमा विदेशिनु नपर्ने ताम्राकार बताउँछन्। हरेक स्थानीय तहले युवाका लागि सीपमूलक तालिमको व्यवस्था गर्नुपर्नेमा उनको जोड छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.