|
प्रतीकात्मक तस्वीर

लहान : किशोरीलाई सामूहिक बलात्कार गरेको अभियोगअन्तर्गतको मुद्दामा जिल्ला सप्तरी अदालतले धरौटी राखेर तारेखमा रिहा भएका दुईजना उच्च अदालतको आदेशपछि पुनः पक्राउ परेका छन्।

जनकपुरस्थित उच्च अदालतको राजविराज इजलाशको आदेशअनुसार आरोपीहरूलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरीका कार्यालय सप्तरीले जनाएको छ। अदालतले पछिल्लो कात्तिक १५ गते कारागारमा थुनामा राखी पुर्पक्ष गर्नु भन्ने आदेश दिएपछि राजविराज नगरपालिका ३ का २४ वर्षीय शम्भु साह र ५ का २८ वर्षीय नवीन दत्तलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

को-को थिए संलग्न ?

सप्तरीको राजविराज ५ का भूपेन्द्र यादवको घरमा डेरा लिएका अमरकुमार यादवको कोठामा २०७१ चैत १३ गते शम्भु र नवीनसहित आठ जनाको समूहले १६ वर्षीया किशोरीलाई सामूहकि बलात्कार गरेका थिए। पीडितको किटानी जाहेरीको आधारमा प्रहरीले सप्तरीको मलेठ ७ का २१ वर्षीय फुदिन खान, राजविराज ५ का २५ वर्षीय कमलकिशोर साह, नर्घो ९ का २० वर्षीय दिपेशकुमार यादवमाथि जबरजस्ती करणीको मुद्दा चलाएको थियो। किटानी जाहेरीअनुसार प्रहरीले सप्तरीको तेरहौता ३ का २५ वर्षीय जितेन्द्र मण्डल खंग र सुनसरीको सतेरझोरा २ का १८ वर्षीय दीपक खेरवार यादवविरुद्ध समेत मुद्दा चलाएको थियो।

पीडित किशोरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल र विराटनगरमा उपचार गरिएको थियो भने स्वास्थ्य परीक्षण राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा गरिएको प्रहरीले जनाएको छ।

फरार रहेकाहरू पालैपालो पक्राउ

जिल्ला अदालतमा जबरजस्ती करणी अन्तर्गतको मुद्दा दर्तापछि फरार रहेका जीतेन्द्र र दीपकलाई प्रहरीले चैत २५ गते पक्राउ गरी अदालतमा उपस्थित गराएको थियो। अदालतको आदेशमा जीतेन्द्र २०७२ बैशाख २४ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा थिए भने दीपक सोही दिन साधारण तारेखमा रिहा भएका थिए।

त्यससँगै अदालतले घटनामा संलग्न फुदिन, शम्भु, नवीन, कमल, दीपेश, भूपेन्द्रलाई अदालतले पक्राउ गर्न वारेण्ट पूर्जीसमेत जारी गरेको थियो। जिल्ला अदालतको आदेशमा २०७२ वैशाख २४ गते साधारण तारेखमा रिहा भएका दीपक त्यही दिनदेखि फरार थिए। प्रहरीले आरोपी कमल भनिने कमलकिशोर साहलाई राजविराज ५ बाट पक्राउ गरी अदालतमा उपस्थित गराएको थियो। जिल्ला अदालतले २०७३ जेठ २४ गते जीतेन्द्र, कमल र दीपकलाई सफाई दिँदै शम्भु, नवीन, फुदिन र दिपेशको हकमा मुद्दा मुल्तवी राख्ने ठहरसहित अंश रोक्काको फैसला सुनाएको थियो। त्यसपछि जिल्ला अदालतमा २०७३ पुस ८ गते हाजिर भएका शम्भु र नवीन तथा २०७४ वैशाख ५ गते हाजिर भएका फुदिनलाई हाजिर भएकै मितिमा जिल्ला अदालतले जनही ४० हजार रुपियाँ धरौटी राखी तारेखमा रिहा गरेको थियो।

जिल्ला अदालतको निर्णय उल्टियो

जिल्ला अदालतको आदेश बेरितको भएको भन्दै बदर गरी थुनामा राखेर कारवाहीको मागसहित जिल्ला न्यायाधिवक्ताको कार्यालयले २०७५ असार ५ गते अदालती बन्दोवस्तको १७ नम्बर बमोजिम उच्च आलतमा निवेदन दिएको थियो। उक्त निवेदनको आधारमा उच्च अदालतले २०७५ कात्तिक १५ गते पुर्पक्षका लागि थुनामा राखी कारबाही गर्ने आदेश दिएपछि आरोपीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.