|
फाइल तस्बिर

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको पूर्ण कार्यान्वयन र लोकतन्त्रलाई सुदृढीकरण गर्ने अभियानमा आफ्नो पार्टी केन्द्रित रहेको बताएका छन्।

सभापति देउवाले मुलुकलाई समृद्ध बनाउने अभियानमा सरकारलाई प्रेरित गर्ने काम पनि आफ्नो पार्टीले गरिरहेको दावी गरे। नेपाल भ्रमणमा रहेका डेनिस सांसदहरूसँग बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको भेटवार्तामा पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले लोकतान्त्रिक पद्धतिलाई सुदृढ बनाउने अभियानमा आफ्नो पार्टी केन्द्रित रहेको बताएको भेटमा सहभागी कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए।

मोगेन्स जोनसन नेतृत्वको डेनिसका सांसदहरूको प्रतिनिधिमण्डलले त्यस अवसरमा कांग्रेस नेतृत्वसँग नेपालको आर्थिक, सामाजिक तथा राजनीतिक परिस्थितिका बारेमा पनि चासो व्यक्त गरेको थियो।

सभापतिले दूतावास पुनः खोल्न पनि डेनिस सांसदहरूसँग आग्रह गरेको सहमहामन्त्री महतले बताए। त्यसैगरी सभापति देउवाले नेपालको आर्थिक विकासमा डेनिस सरकारले गर्दै आएको सहयोगप्रति पनि आभार व्यक्त गरेका थिए।

डेनिस सांसदहरूसँगको भेटवार्तामा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइरालासहितका कांग्रेस नेताहरू सहभागी भएका थिए। भेटमा दुई देशबीचको सम्बन्ध र पार्टीहरूबीचको सम्बन्धका विषयमा पनि छलफल भएको कांग्रेसले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.