दाजुलाई छुटाउने क्रममा राजासँग पटक पटक वार्ता गरेका गिरिजाले लेखकलाई थुप्रै रोचक प्रसंग सुनाएका छन्। अघिल्ला भेटमा प्रायः सधैँ राजनीतिक कुरा मात्र गर्ने राजाले त्यस दिनचाहिँ परिवार र खेतीपातीबारे सोधे। त्यसपछि उनी फटाफट नेताहरूको मूल्य सुनाउन थाले। राजासँगको वार्तालाप कोइरालाले लेखकलाई यसरी सुनाए।
राजा : हेर गिरिजा, सबैको मूल्य हुन्छ।
गिरिजा : सरकारले के भन्नुभएको, मैले त बुझ्न सकिनँ नि!
राजा : बाख्राको मोल यति, भेडाको मोल यति। कसैको पाँच सय, पाँच हजार, १० हजार यस्तै मोल हुन्छ नि! त्यस्तै मान्छेको पनि मूल्य हुन्छ।
राजाको कुरा सुनेर गिरिजा झसङ्ग भए। के हो? किन मोलको कुरा गर्न थाले? कतै आफूलाई नै किन्न खोजेका हुन् कि भन्ने पनि उनलाई लाग्यो। मनमा यस्तै कुरा खेलिरहेका थिए। एकै पटक उनको कानमा राजाको आवाज ठोक्किन पुग्यो- फलानाको मूल्य यति, फलानाको यति। भन्दाभन्दा त टंकप्रसादको मूल्य यति भने। ...को मूल्य यति भन्दै जाँदा उनकै जेठा दाजु मातृकाको मूल्य सुनाइदिए। राजा एकोहोरो नेताहरूको मूल्य सुनाउँदै थिए। गिरिजालाई एकदमै तनाव भइरहेको थियो।
कुन बेला राजाले बिपीकै मूल्य यति भनेर सुनाइदिनेछन् भन्ने लाग्यो उनलाई। जे भए पनि अस्वीकार गरेर हिँड्छु, कुरै गर्दिनँ भनेर बसेका थिए उनी। गिरिजाले लेखकसँग भने, 'अब राजाले सान्दाजुको मूल्य सुनाउँछन्। जेसुकै भए पनि उफ्रिन्छु भनेर बसेको थिएँ। राजाले भने- एउटा मान्छेको मात्र मूल्य छैन। भित्तामा टाँसिएको एउटा तस्बीरतर्फ देखाउँदै भने- यसको मात्र मूल्य छैन (नेपाल, २०६७ : ६८)।'
गिरिजाले भित्तातिर नजर लगाए। बिपीको फोटो थियो। त्यही बैठक कक्षमा उनले पहिल्यै पनि पटक पटक राजासँग भेटिसकेका थिए तर त्यसअघि बिपीको फोटो देखेका थिएनन्। गिरिजाले मनमनै सोचे- सान्दाजुको तस्बीर आजै राखिएको हुनुपर्छ। अब बिपीको मूल्य सुनाउँछन् अनि जेसुकै भए पनि राजासँग झोक्किएर निस्कन्छु भन्ने सोचेर बसेका गिरिजालाई 'बिपीको मूल्य छैन' भन्ने राजाको भनाइले एकाएक नरम बनाइदियो। उनको दिमागमा राजाको आवाज ‘रिप्ले’ भइरहेको थियो- 'यसको मात्र मूल्य छैन। सबैको मूल्य छ।' राजाले भने- 'म बिपीको इज्जत गर्छु।' अन्तर्राष्ट्रिय क्षेत्रमा समेत यस्तो मानिस छैन। गिरिजा राजासँगको वार्ता सकारात्मक हुँदै गएको बुझेर दरबारबाट फर्किए।
त्यसको केही समयपछि राजाले नारायणहिटी दरबार (महेन्द्र मञ्जिल)मा मन्त्रिपरिषद् बैठक डाके। भर्खरै मन्त्री भएका रवीन्द्रनाथ शर्माका लागि दरबारमै भएको बैठकमा भाग लिने त्यो नै पहिलो अनुभव थियो। 'त्यही बैठकमा बिपीलाई छाड्नुपर्छ भनेर प्रधानमन्त्री थापाले राजालाई प्रस्ट शब्दमा भनेका थिए (शर्मा, २०६८ : २५६)।'
त्यहीताकाको अर्को एक प्रसङ्गबारे पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाले भनेका छन्, 'हामी तीन जना राजा महेन्द्र, सूर्य बाबु र म थियौँ। सूर्य बाबुले बिपीसँग भएका कुरा राजालाई सुनाउँदै उनीलगायत जेलमा रहेका नेताकार्यकर्तालाई मुक्त गर्न भन्नुभयो। राजा त्यो कुराबाट आश्वस्त नभएको बुझियो। बिपीलाई छाड्ने मानस्थितिमा राजा नभएको बुझियो (थापा, २०६८ : ३६३)।' उपचारका लागि राजा लन्डन जाने तय भइसकेको थियो। जानुपूर्व बिपीलाई रिहा गर्ने भनेर वार्ता थालेका उनी अब भन्न थाले, 'फर्किएपछि विचार गरौँला।' ‘अस्पष्ट’ आसय थियो राजाको। आफ्नो चाहनाअनुसार प्रधानमन्त्रीको राय आओस् भन्ठानेर राजाले सूर्यबहादुरतिर हेर्दै भने, 'के गर्ने त पिएम?' तत्कालीन प्रधानमन्त्री थापाले भनेका छन्, 'मैले नहिच्किचाई छोड्नुपर्छ सरकार भनेपछि सरकारको मुखै बदलियो र कान रातो भयो। रिस र आवेग थियो, चेहरामा। एकछिन चकमन्न भो। अनि अँ तिम्रो विचार यही हो त पिएम भन्ने हुकुम भयो। मैले हो सरकार भनेँ (थापा, २०६८ : ३६३)।'
एकछिनपछि राजाले सूर्यप्रसादलाई भने, 'ल भन सूर्यप्रसाद, तिमी बिपीको जिम्मा लिन्छौ? सूर्यप्रसादले एकछिन पनि नरोकिई तुरुन्त 'सरकार म जिम्मा लिन्छु' भने (थापा, २०६८ : ३६३)।' राजा अलमलमा परे। एकातिर सूर्यप्रसाद बिपीको जिम्मा लिन्छु भन्छन्, अर्कोतर्फ बिपीकै भाइ गिरिजाचाहिँ सान्दाइ आत्मसमर्पण गर्नुहुन्न भन्छन्। दुवैको कुरा बुझ्न एक दिन राजाले सूर्यप्रसाद र गिरिजालाई एकसाथ दरबारमा बोलाए। त्यो भेटमा राजाले भने, 'हैन सूर्यप्रसाद, एउटा केही त गर्नुपर्यो नि बिपीलाई छुटाउन। मैले त छोड्छु भनेकै छु।' सूर्यप्रसादले भने, 'हो सरकार, बिन्तीपत्रको मस्यौदा बनाऊँ। बिपीलाई छुटाउनुपर्छ।'
सूर्यप्रसादले बिन्तीपत्र हालेर छुटाउने कुरा गरेपछि राजाकै सामुन्ने गिरिजा रिसाए र भने, 'सूर्जा बाबु, तपाईंको पुच्छर काटिएको छ भन्दैमा अरूको पनि त्यस्तै छ भन्ने नठान्नुस्। हेर्नुस् सूर्जा बाबु, तपाईं र राजाले पनि बिपीलाई चिन्नुभएको छैन। उहाँ मर्नुहुन्छ तर अन्डरटेक दिनुहुन्न। तपाईंले भनेर हुन्छ (नेपाल, २०६७ :७८)?' यति भनेर उनी चुप लागे।
गिरिजाले लेखकसँग भनेका थिए, 'ल लेखौँ न त केही राजाले भने। सूर्जा बाबु खसाखस लेख्न थाल्नुभयो बा त्यहाँ! केके लेख्नुभयो कुन्नि! अनि राजालाई फ्याट्ट दिनुभयो।'
राजासँग भेटेको अर्को दिन सूर्यप्रसाद र गिरिजा दुवै बिपीलाई भेट्न सुन्दरीजल पुगे। 'राजासँग सकारात्मक कुरा भएको छ, बिपी बाबु', सूर्यप्रसादले कुरा सुरु गरे। त्यसपछि आफूले राजासँगै बसेर लेखेको कागज कोटको खल्तीबाट निकालेर बिपीलाई दिए। गिरिजा केही नबोली बसेका थिए। त्यो कागज पढेपछि बिपीको अनुहारै बदलियो। रिसको झोँकमा कागज हातले कच्याककुचुक पारेर गोलो बनाई सूर्यप्रसादको मुखमा हानिदिए र भने, 'तपाईं तत्काल फर्किहाल्नुस् (नेपाल, २०६७ : ७९)।'
त्यो दिनको भेटपछि बिपीलाई लाग्यो, बन्नै लागेको वातावरण बिग्रियो। सूर्यप्रसाद र गिरिजा फर्किए। बन्दीगृह सैनिकको सुरक्षाघेरामा थियो। महिनामा एक पटक परिवारसँग भेट्न दिइएको थियो। बाँकी समय एकान्तमा बिताउनुको विकल्प थिएन। बेलाबेलामा जनरलहरू निरीक्षणका लागि आइपुग्थे। उनीहरूका छाती अनेक प्रकारका तक्मा, ब्याजहरूले ढाकिएका हुन्थे। उनीहरू भन्ने गर्थे, 'हजुर हामीले त नुनको सोझो गर्नुपर्यो।' एउटा रोचक घटना भएको थियो त्यस बेला। बन्दीगृह निरीक्षणमा पुगेका एक जनरलले बडो विश्वासका साथ बिपीलाई भने, 'सर हामी त हुकुमका बन्दी हौँ। हामी हुकुमबाहेक अरू क्यै जान्दैनौँ।'
बिपी : कसको हुकुम?
जनरल : माथिको।
बिपी : माथिको भनेको को?
जनरल : हाम्रा उच्चाधिकारीको आदेश।
बिपी : ऐनकानुनलाई मिचेर दिएको आदेश पनि?
जनरल : हजुर। कानुन र हाम्रा उच्चाधिकारीहरूका आदेश आपसमा बाझ्छन् भन्ने कुरा बुझ्दैनौँ। हाम्रा लागि माथिको आदेश, हुकुम, अर्डर, जे भन्नोस्, सर्वोच्च हुन्छन्। हाम्रा लागि आदेश अकाट्य छ।
बिपी : माथिको आदेश भएपछि तपाईंहरू कुनै पनि अपराध (बलात्कारसम्म पनि) गर्न तयार हुनुहुन्छ त?
जनरल : हो हजुर।
बिपी : साँच्चै तपाईं बलात्कार पनि गर्न सक्नुहुन्छ? आदेश पाए ऊ त्यो (सुन्दरीजलतिरको पहाडका गाउँ देखाउँदै) गाउँका आइमाईहरूलाई बलात्कार पनि गर्न सक्नुहुन्छ?
जनरल : सक्छु हजुर।
बिपी : आदेश पाए के तपार्इं आफ्नी आमालाई बलात्कार गर्न सक्नुहुन्छ?
जनरल : सर (सानो स्वरमा, नूर गिरेको अवस्थामा) म तपाईंसँग बहस गर्न सक्दिनँ सर।
बिपीले त्यो घटनालाई व्याख्या गर्दै भनेका छन्, 'हरेक चीजको एउटा सीमा हुन्छ। त्योभन्दा माथि कोही जान सक्दैन। जसरी नुनको सोझो र आदेशको पालक हुनुमा गर्व गर्ने जनरलले पनि सबै आदेश पूरा गर्न सक्दैनन्।' बन्दीगृहमा यस्ता घटना भइरहन्थे।
राजा बिपीलाई छोड्न आतुर थिए तर पूरै आत्मसमर्पण गराएर। बिपी मर्न तयार थिए तर राजासामु आत्मसमर्पण गर्न तयार थिएनन्। राजाको चाहना बिपी कम से कम एक वर्ष नेपालभित्र राजनीतिक गतिविधि नगरेर बसून् भन्ने थियो। त्यसैले गिरिजासँगको भेटमा उनको प्रायः जिज्ञासा हुन्थ्यो, 'बिपी छुटेपछि के गर्छन्?' गिरिजा भन्थे, 'सरकार! राजनीतिक मानिस भएकाले राजनीतिक कुरा राख्दै जनतामाझ जानुहुन्छ। एक पटक देश घुम्नुहुन्छ।' राजाले सोध्थे, 'देश घुम्दा के भन्छन् त?' गिरिजाले भन्थे, 'राजनीतिक मानिसले राजनीतिक कुरा त गर्छ नै, तर उहाँ आफ्नो लेभलमा बसेर कुरा राख्नुहुन्छ। देशको परिस्थिति बुझ्नुहुन्छ।'
राजाले एकै पटक भने, 'बिपीसँग भएको सबै सहमति र वार्ताको च्याप्टर अब बन्द भयो। अब तिम्रा दाइलाई अरू १० वर्ष थुनिदिन्छु।' गिरिजालाई पनि झोँक चलेर आयो। उनले भने, 'ठीक छ सरकार, घरको झगडा घरमै मिलाउनुपर्छ भन्ने लागेर यो प्रयास गरेको हुँ। अब घरको झगडा बाहिरबाट मिलाउनुपर्ने रहेछ। भारत गएर इन्दिरा गान्धीसँग भेट्छु। म पनि हेर्छु, बिपी कसरी छुट्नुहुन्न !' दरबारभित्र राजालाई भेट्दै गर्दा उनी जुरुक्क उठे र हिँडिहाले। राजासँगको वार्ता अलमलियो।
त्यसपछि गिरिजा दिल्ली गए। भारतीय प्रधानमन्त्री इन्दिरालाई भेटेर बिपीलाई छुटाउने रणनीतिमा थिए उनी। भेटका लागि जयप्रकाश नारायणले पहल गरेका थिए। समय पनि मिलिसकेको थियो। तर इन्दिरालाई भेट्न नपाउँदै दिल्लीस्थित नेपाली दूतावासले गिरिजालाई खबर गर्यो, 'तपार्इंको टिकट दूतावासमा छ। तत्काल काठमाडौं जानुपर्यो। सरकारले बोलाइबक्सेको छ।' गिरिजालाई राजासँग झोँक चलेको थियो। उनले दूतावासका अधिकारीलाई भनिदिए, 'म त जान्नँ, राजाको त्यो थोत्रो कुरा सुन्न। तिम्रो राजालाई
गएर भनिदेऊ।'
दरबारको पहलमा जयप्रकाश नारायणले सम्झाएपछि मात्र उनी काठमाडौं फर्किए। एयरपोर्टमा सामानको प्रतीक्षामा थिए उनी। एक जना मानिस आएर भन्यो, 'गिरिजाबाबु, दरबार जाऊँ। तपाईंको सामान घरमा पुगिहाल्छ। तपाईंलाई दरबारमा बोलाइबक्सेको छ, जाऊँ।' उसैले मोटरमा राखेर गिरिजालाई दरबार पुर्यायो। त्यो भेटमा राजाले उनलाई तीनवटा शब्द मात्र भने।
राजा : बिपीलाई कहाँ छोड्ने?
गिरिजा : जहाँबाट पक्रिएको हो, त्यहीँ छोड्नुपर्छ।
राजा : घरमा छोडे हुन्न?
गिरिजा : हो, घरमा हुन्छ।
राजा : कति बजे?
गिरिजा : जाडोको समय छ। ७ बजे ठीक होला।
राजाले सुवर्ण, सूर्यप्रसाद, गिरिजा र भारतसँग एकसाथ संवाद चलाएका थिए। बिपीलाई छुटाउन भारतीय राजदूत राजबहादुर सिंह सक्रिय थिए। बिपीलाई छाड्ने निश्चित भएपछि कांग्रेसको कार्यकारी सभापतिको हैसियतमा सुवर्ण शमशेरले कात्तिक १४ गते निःसर्त राजालाई सहयोग गर्ने व्यहोराको वक्तव्य जारी गरे। वक्तव्यमा भनिएको थियो, 'जब राजाले देश नै खतरामा छ भनिसकेको छ, देश खत्तम भयो भने राजासँग हामीले कसरी लड्ने? राजासँग लड्नलाई पनि त देश रहनुपर्यो। जब राजाले नै देश खतरामा छ, मलाई सबैले सहयोग गर्नुपर्छ भनेपछि राजासँग बार्गेनिङको कुराचाहिँ गर्नुहुँदैन। हामीले अनकन्डिसनल राजालाई सपोर्ट गर्नुपर्छ।'
सुवर्णको त्यही वक्तव्यका आधारमा सुन्दरीजलको आठ वर्ष लामो बन्दी जीवनबाट २०२५ कात्तिक १४ गते बिपी र गणेशमान छुटे। बेलुकीको ७ बजे सुरक्षाकर्मीले दुवै नेतालाई बिपीका भाइ तारिणीको चाबहिलस्थित घरमा ल्याएर रिहा गरेका थिए।
बाह्रखरी बुक्सले प्रकाशन गरेको जगत नेपालको पुस्तक बिपीको विद्रोह शुक्रबार काठमाडौंमा सार्वजनिक हुँदै छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।