|
File Photo

उदयपुर : भारतीय नागरिकलाई नागरिकता दिएको आरोप लागेका वडा अध्यक्षलगायत प्रहरीसमेत छानबिनको दायरामा परेका छन्। भारतीयसँग विवाह गरेकी त्रियुगा नगरपालिका ११ उदयपुर बोक्सेकी लजिना खातुनलाई नेपाली नागरिकता दिएको आरोप लागेका वडा अध्यक्षलगायत प्रहरीसमेत छनबिनको घेरामा परेका हुन्।

लजिनाको नागरिकता सिफारिससँगै प्रहरी सर्जमिन मुचुल्कासमेत भेटिएपछि प्रहरीको पनि मिलेमतो हुन सक्ने भन्दै छानबिन गर्न लागिएको हो। जिल्ला प्रशासन कार्यालयले वडा सर्जिमिनमा बस्ने र प्रहरी सर्जमिनमा बस्नेहरूलाई बोलाएर बयान लिइएको उदयपुरका प्रमुख जिल्ला अधिकारी विष्णु कार्कीले जानकारी दिए। ‘छानबिनका क्रममा लजिनाको नागरिकताका लागि सिफारिस सर्जमिन मुचुल्कामा सहीछाप गर्ने दर्जनभन्दा बढीसँग बयान लिइएको छ,’ उनले भने, ‘प्रशासन कार्यालय सुस्म तरिकाले छानबिनमा लागिपरेको छ।’

झुटो विवरण पेस गरी त्रियुगा नगरपालिका १०, बोक्से बस्ने भारतीय लजिनाले नेपाली नागरिकता लिएकी थिइन्। भारतीय नागरिकसँग विवाह गरेकी दिल मोहमदकी ३१ वर्षीया छोरी लजिनालाई स्थानीयको अविवाहित सर्जमिन मुचुल्कासहित त्रियुगा नगरपालिका १० का वडाध्यक्ष प्रकाश खड्काको सिफारिसमा नेपाली नागरिकता दिइएको रहस्य जिल्ला प्रशासन कार्यालयबाट बाहिरिएको थियो।

भारतमा विहे भएकी महिलालाई अविवाहित भनेर नागरिकता दिएपछि वडा अध्यक्ष खड्काले जिल्ला प्रशासनमा नागरिकता सिफारिसमा गल्ती भएको भनी पत्र लेखेका थिए। ‘काम गर्दै जाँदा गल्ती भयो,’ उनले थाहा खबरसँगको कुराकानीमा भने, ‘मैले नागरिकता खारेज गर्नको लागि पत्रसमेत लेखेको थिएँ।’

लजिना भारत मधुवनी जिल्ला, लौकाहा थाना, एकासी मझौरा बस्ने नसरुल मियाँकी पत्नी हुन्। उनी विवाहित भए पनि अविवाहित भनी वडा कार्यालयको सिफारिसमा नेपाली नागरिकता दिइएको थियो।

वडाध्यक्ष खड्काले छरछिमेकसँग सर्जिमिन मुचुल्का गराएर नागरिकता सिफारिस गरेका थिए। त्यही सर्जिमिन मुचुल्कामा लजिना अविवाहित भन्दै सहीछाप गर्ने १३ जनासँग बयान लिइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। गएको सोमबारसम्म चार जनाको बयान सकिएको छ भने अन्यको बयान चलिरहेको प्रशासन कार्यालयले जानकारी दिइएको छ।

‘नागरिकता वितरणमा संलग्न जति सबैको आवश्यक छानबिन हुन्छ, प्रहरीको समेत संलग्नता भए कारबाही हुन्छ’ प्रजिअ कार्कीले पुनः भने ‘पहिले छानबिन सकेर नागरिकता रद्द गछौँ, अनि कारबाहीको लागि प्रहरी हुँदै अदालतमा मुद्दा पेस हुन्छ, दण्ड जरिवाना गरेर मात्र छाड्नेछौँ।’

संविधानअनुसार नेपाली महिला विदेशी नागरिकसँग विवाह गरेपछि स्वतः विदेशी हुने व्यवस्था छ। अविवाहित भनेर नागरिकता दिलाइएकी लजिनाका दुई सन्तान भएको परिवारले जानकारी दिएको छ। २०५६ सालमा पहिलो र २०६८ सालमा दोस्रो विवाह गरेकी लजिनालाई जिल्ला प्रशासन कार्यालय उदयपुरले २०७४ मंसिर २४ मा ०५२३० नम्बरको नागरिकता प्रदान गरेको गरेको थियो। २०४४ वैशाख १५ गते जन्म भई अविवाहित भएको भनी वडा कार्यालयको २०७४ मंसिर १३ गतेको सिफारिसको आधारमा प्रशासकीय अधिकृत कृष्णप्रसाद पौडेलले नेपाली नागरिकता दिएका हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.