|

लहान : सिरहाको कर्जन्हा नगरपालिकास्थित कमला नदीमा स्नान र भूत मेला भर्न शुक्रबार बिहानैदेखि श्रद्धालुको ठूलो घुइँचो लागेका छन्।

सिरहा र धनुषा जिल्ला छुट्याउने कमला नदीको किनारमा प्रत्येक वर्ष कार्तिक पूर्णिमामा अनौठो तथा भव्य भूत मेला लाग्ने गर्छन्। सिरहासहित सप्तरी, धनुषा, महोत्तरी, उदयपुर र सीमावर्ती भारतको मधुवनी, दरभङ्गा, समस्तीपूर, जयनगरलगायतका स्थानबाट ठूलो सङ्ख्यामा सर्वसाधारण कमला नदीमा स्नान गर्ने गरेका छन्।

कमला नदीमा स्नान गरेपछि धाँमीझाँक्री बन्ने विश्वासका साथ देउता खेल्दै स्नान गर्नका लागि गाउँघरबाट आज ठूलो सङ्ख्यामा मानिसहरु बिहानैदेखि कमला नदीको तटमा पुगेका छन्।

कार्तिक पूर्णिमा आज परेको भएपनि सर्वसाधारण बिहीबारदेखि नै स्नान गर्नका लागि कमला नदीको तटमा आएर बास बसेको थियो। कमला नदीमा स्नान गरिए कमलेस्वरी देवीले तान्त्रिक विद्याको बर दिने तथा योग पाको हुने जनविश्वासका कारण वर्षेनी कमलामा स्नान गर्नेको सङ्ख्या बढ्दै गएको स्थानीयबासी राजकुमार लामाले बताए।

भूत मेलामा स्नान गरेपछि घर आउने बेलामा भक्तजनले कमला नदी र गङ्गासागरको शुद्ध पानी आआफ्नो घर लैजाने गर्छन्। मूल धाँमीले मन्त्र सिद्धि गरिदिएपछि धाँमी बन्ने प्रक्रिया पूरा हुन्छ। तन्त्रशास्त्रका अनुसार तन्त्र सिद्धिका लागि यस दिन पूर्णाहुती दिने चलन छ।

मिथिलामा सदियौँदेखि तन्त्र विधामा सर्वसाधारणको विश्वास छ। स्नानको समयमा मूल धाँमीले लोक भाकामा गीतसमेत गाउने गर्छन्। जसलाई स्थानीय भाषामा ‘महराई’ भन्ने गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.