|

पर्वतः ६० वर्ष उक्लिएपछि बुढ्यौली चढेको ठानिन्छ। बुढ्यौली चढेसँगै दैनिक व्यस्तताबाट विश्राम लिनुपर्ने हो। तर पर्वत मोदी गाउँपालिका २ का टिकाराम तिमिल्सिनाको दैनिकी भने अझै पनि उस्तै छ। जस्तो पहिले थियो।

१७ वर्ष लगाएर उनले गाउँमा बनाएको परिचय हो– मौरी बाजे। उनले विगत १७ वर्षदेखि मौरी पालनमा आफूलाई दत्तचित्त बनाएका छन्। उमेर ६५ भयो। दैनिकी उस्तै छ। विहानै उठ्छन्। मौरीका घारहरूमा पुग्छन्। के कसो छ हेर्छन्। घाम नचर्किंदै घार सफा गर्नुपर्ने भए गर्छन्। मह काढ्छन्। 
जिन्दगी मह जस्तै गुलियो छ। ध्यानमा जस्तै काममा दत्तचित्त छन् त्यसैले त जिन्दगी गुलियो भएको हो। उनीसँग अहिले ७० घर मौरी छन्। सुन्दा अचम्म लाग्छ उनले मह र मौरीका घार बेचेर वार्षिक ३५ लाख रुपैयाँ कमाउँछन्। यसमा खर्च कटाएर आधाभन्दा बढी नाफा बस्छ।

घर, कौसी, आगन, घर वरिपरिको बारी, कान्ला जताततै मौरी घारले ढाकेको छ। ‘पूरा दिन माैरीसँगै बित्छ, रमाइलो छ,’ उनले मुस्कुराउँदै सुनाए, ‘कहिलेकाहीँ खाना खान पनि बिर्सिन्छु। ध्यान जस्तै भएको छ।’

उनले वार्षिक तीन सय घार मौरी र सात क्विन्टलसम्म मह बेच्ने बताए। एक घार माैरीलाई ९ हजार र एक किलो महलाई एक हजार रुपैयाँमा बेच्छन्। आफ्नो घरमा मौरी हेर्न आउनेहरूलाई उनले एक हजार रुपैयाँ प्रवेश शुल्कसमेत लिने गरेका छन्।

उनले पर्वत, कास्की, स्याङजा, गुल्मी लगायत जिल्लाका ग्राहकलाई घार मौरी र मह बेच्ने गरेका छन्। ‘अहिलेसम्म १५ सयभन्दा बढी घार बेचिसकेँ,’ उनले भने, ‘पहिला–पहिला एक घारलाई २५ सयमा पनि बेचें  अहिले १० हजार सम्म पर्छ।’ उनले नयाँ किसानहरुलाई तालिमसमेत दिने गरेको बताए। जाँगर चलाउने हो भने थोरै दुःखले पनि राम्रो आम्दानी लिन सकिने उनी बताउँछन्।

उनले एपी सेरेना जातको माैरी पालन गर्दै आएका छन्। यो जात भीर मौरीकै हाराहारीमा गुणस्तरीय हुने भएकाले राम्रो फाइदा हुने उनले बताए। ‘अन्य जातको माैरीको मह गुणस्तरीय नहुने भएकाले मुल्य कम पर्छ,’ उनले भने, ‘एपी सेरेनाको मह धेरैले खोज्दै आउँछन्।’ मह गुणस्तरीय भएका कारणले पनि मह बेच्न बजार जानु नपरेको उनले बताए।

पर्वतमा व्यवसायिक मह उत्पादन गर्नेहरू कम भएका कारण पनि टिकारामले उत्पादन गरेको महको माग बढी छ। मुढे घारमा मौरीपालन गर्दै आएका उनले तालिम लिएपछि मात्रै आधुनिक घारमा थालेका हुन्। आधुनिक घारमा मौरी पाल्न थालेपछि मह उत्पादन झण्डै तेब्बरले बढेको उनले बताए। 

माग वढेपछि व्यवसायमा झनै जोशीला बनेका उनले गाउँवाट कुनै संभावना नदेखेर विदेश जाने युवालाई विदेश जान नपर्ने सुझाव दिन्छन्। ‘म जस्तो मर्ने बेलाको बुढाले त गाउँमै बसेर पैसा कमाएको छु भने तन्नेरीहरू बिदेशमा गएर पसिना किन बगाउने?’ उनले सुनाए।

तिमिल्सिना मौरी पालक कृषक मात्र होइनन्। सुन्तला बेचेर पनि राम्रो आम्दानी गर्छन्। मौरीलाई आवश्यक पर्ने फूलको रसको लागि उनले एक सय जति सुन्तलाका बोट लगाएका छन्। मौरीले सुन्तलाको रस खाएर मह उत्पादन गर्छ भने तिनै बोटमा फलेको सुन्तला बेचेर बार्षिक झण्डै एक लाख आम्दानी पनि हुन्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.