|

काठमाडौं : साउन १० मा कंचनपुर भिमदत्त नगरपालिका २ की १३ वर्षिया निर्मला पन्तको बलात्कार पछि हत्या भयो। बलात्कार र हत्या प्रकरणमा प्रहरीबाट नै अनुसन्धानमा त्रुटि भएको भन्दै स्थानीयवासीले विरोध गरे।

गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको छानविन समितिको अनुसन्धानबाट हत्या प्रकरणमा प्रहरीको गम्भीर कमजोरी देखिएपछि गृह मन्त्रालयले तल्कालिन कंचनपुर जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई नोकरीबाट नै हटाएको थियो।

यो त एक उदाहरण मात्रै हो। यस्तै विभिन्न साना ठूला अपाराधिक घटनामा प्रहरीको मिलेमतो र कमजोरी हुने गरेको भन्दै विभिन्न ठाउँबाट प्रहरी विरुद्ध नै प्रहरीमा उजुरी आउने गरेको छन्।

आर्थिक वर्ष ०७३/ ७४ मा प्रहरी विरुद्धमा ३२३ उजुरी परेका थियो। त्यस्तै आर्थिक वर्ष ७४/७५ मा ५२२ उजुरी परेका छन्। त्यसैगरी चालू आर्थिक वर्ष ७५/७६ को पाँच महिनामा १९९ उजरी परेको छन्। तीन अार्थिक वर्षमा एक हजार ४४ उजुरी परेका छन्।

यसरी परेको उजुरी मध्ये आर्थिक वर्ष ०७३ / ७४ मा ९७ जना कर्मचारीलाई कारवाही गरेको छ। त्यसैगरी ७४/७५ मा ७२ जनालाई विभागीय र अरुलाई सामान्य कारवाही गरिएको छ। त्यस्तै चालू आर्थिक वर्षमा १०२ जनालाई कारवाही गरिएको प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) उत्तमकुमार सुदेदिले जानकारी दिए।

प्रहरीविरुद्ध उजुरी आउनेमा प्रहरी आचरण विपरित काम गरेका, भ्रष्टचार र अन्य प्रहरीसँग सम्बन्धित नरहेका विषय मा समेत उजुरी आउने गरेको प्रवक्ता सुवेदीको भनाइ छ।

तीन अार्थिक वर्षमा कुल २३६ जनालाई विभागीय कारबाही गरिएको र अन्यलाई सचेत गराउने काम भएको प्रवक्ता सुवेदीको भनाइ छ। विभागीय कारवाही अन्तर्गत पदोन्नति रोक्का, तलब वृद्धमा रोक्का, स्केलमा घटुवा, निलम्बनदेखि नोकरीबाट नै हटाइने सुवेदीले बताए। धेरैलाई भने सचेत गराइने गरेको सुवेदीको भनाई छ।

प्रहरी हवल्दार र जवानमाथि सबैभन्दा बढी उजुरी

यसरी विभिन्न ठाँउबाट उजुरी आउनेमा प्रहरी जवानदेखि वरिष्ठ प्रहरी उपरीक्षक सम्मलाई मौखिक र इमेलमार्फत् उजुरी आउने गरेका छन्। यसमध्ये सबैभन्दा बढी प्रहरी जवान र प्रहरी हवल्दारमाथि उजुरी पर्ने गरेको तथ्यांकले देखाएको छ।

जुनियर प्रहरी कर्माचारीमा नियम कानुनसम्बन्धी ज्ञानको कमी र कसैको प्रलोभनमा चाँडै पर्ने र प्रहरीको आचरण विपरित काम गर्ने हुँदा उनीहरुमाथिका उजुरी बढी हुने गरेको एसएसपी सुदेवीको भनाइ छ।

प्रहरी प्रधान कार्यालयले ल्यान्डलाइन नम्बर ०१४४१००७९ र मोबाइल नम्बर ९८५१२९३००० र इमेल [email protected] मार्फत प्रहरीमाथिको उजुरी सुन्ने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.