|

लहान : सप्तरीको दक्षिणी सीमावर्ती डाकनेश्वरी नगरपालिका ४ र ५ का गरी पाँच जनाको दुर्घटनामा मृत्यु भएपछि सिंगाे दुई गाउँ शोकमा डुबेको छ। 

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १० इनरुवामा शुक्रबार राती बस पल्टिँदा डाकनेश्वरी ४ भुतहीका दुई र ५ पातोका तीन गरी पाँच जनाको मृत्यु दुई गाउँ शोकमा डुबेको हो। सुनसरीको बराह क्षेत्र चतरा धामबाट ६० तीर्थयात्रु बोकेर फर्किदै गरेको को. १ ख २७९९ नम्बरको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो। 

मृत्यु हुनेमा डाकनेश्वरी ४ भुतही गाउँका ५५ का ५५ वर्षीय दिनेश रजक र उनकी पत्नी ५० वर्षीया बौकीदेवी रजक, डाक्नेश्वरी ५ का ७० वर्षीया बेचनीदेवी यादव, ६० वर्षीया सिकिलादेवी साह र ६० वर्षीया भुखनीदेवी यादव रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृतकहरुको शवको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा शनिबार पोष्टमार्टम गरी परिवारजनलाई जिम्मा लगाइएको छ।

बस पल्टिँदा तीन जनाको घटनास्थल र दुई जनाको अस्पतालमा उपचारका लागि ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो। दुर्घटनामा पाँच जनाको मृत्यु र ४५ जना घाइते भए पछि भुतही र पातो गाउँ स्तब्ध भएको स्थानीय मदनेश्वर सदायले बताए। बस चालक फरार रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। 

घाइतेमध्ये बढी महिला, ४५ को उपचार हुँदै

दुर्घटनामा घाइते भएका मध्ये बहुसंख्यक महिला छन्। दुर्घटनामा चार महिलाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन्। प्रहरीका अनुसार दुर्घटनामा घाइते मध्ये थप उपचारका लागि ११ जनाको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, दुई जनाको विराटनगरस्थित न्यूरो अस्पताल र ३४ जनाको राजविराजस्थित सगरमाथा अंचल अस्पतालमा उपचार भइरहेको छ। 

दुर्घटनामा घाइते भएका डाकनेश्वरी १ की प्रनिता यादव, ४ की ४० वर्षीया इनकुमारीदेवी पण्डित, ३८ वर्षीया ठकनीदेवी यादव, २ का ५५ वर्षीय बेचन यादव, ७० वर्षीया भोलवीदेवी यादवको धरानमा उपचार भइरहेको छ। त्यस्तै, २ की ६५ वर्षीया अरुहुलदेवी यादव, १० वर्षीया अञ्जनीकुमारी यादव, ७० वर्षीय रामउदगार यादव, ६५ वर्षीया रेवनीदेवी यादव, ६५ वर्षीया गेनावती यादव, चाँदनी कुमारी यादव, सकुनियादेवी पण्डितको पनि धरानमा उपचार भइरहेको प्रहरीले जनाएको छ। त्यस्तै, डाक्नेश्वरी ४ की ११ वर्षीया अर्चनाकुमारी यादव र चन्द्रकुमार यादवको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको भने बाँकी ३४ जनाको राजविराजमा उपचार भइरहेको छ।

मृतक परिवारलाई एकलाख राहत 

दुर्घटनामा मृत्यु भएका परिवारलाई प्रदेश २ सरकारले प्रतिपरिवार एक/एक लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ। प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले शनिबार राहतको घोषणा गरेका हुन्। मृतकप्रति श्रद्धाञ्जलि तथा घाइतेको अवस्था बुझ्न मन्त्री यादवले सप्तरीको डाकनेश्वरी पुगेका थिए। मन्त्री यादवले घाइतेको उपचार खर्च समेत प्रदेश सरकारले उपलब्ध गराउने मन्त्री यादवले घोषणा गरे। त्यस्तै डाकनेश्वरी नगरपालिकाले मृतका परिवारलाई २५/२५ हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.