|

काठमाडौं :  वि.स. २०४२/०४३ सालतिरको कुरा हो- रेडियो नेपालमा भ्वाइस टेष्ट गर्न देविका वन्दना काठमाडौं आइन्। केही समय उनले शिलाबहादुर मोक्तानसँग संगीत सिकिन्। संगीत प्रवीण नरराज ढकालसँग पनि उनले संगीत सिकिन्। नेपाल टेलिभिजनमा प्रसारण हुने 'सिर्जनाको आधा घण्टा' भन्ने कार्यक्रममा उनले संगीतकार शम्भुजीत बाँस्कोटासँग काम गर्ने अवसर पाइन् पनि। त्यहाँ काम गर्दा धेरैले उनको स्वर मनपराए। त्यसलगत्तै उनले 'एउटा परदेशी', 'यस्तै रहेछ यहाँको चलन' गाइन्। यिनै रचना गाएपछि उनलाई गायिका भनेर चिनिने अवसर जुरेको बताउँछिन्। त्यसपछि उनले नेपाली सांगीतिक क्षेत्रमा कहिल्यै पछाडि फर्केर हेर्नु नपरेको खुसी व्यक्त गर्छिन्।

नेपाली चलचित्रमा स्वर भर्ने अवसर दिने काम शम्भुजीत बाँस्कोटाले गरेको उनी बताउँछिन्। उनले नेपाली गीत रेकर्ड गर्न त्यस बेला मुम्बई, कलकत्ता जानुपर्ने बाध्यात्मक अवसरलाई सम्झना गरिन्। अहिले भने रेकर्डिङका लागि लामो यात्रा गर्न नपर्ने भएकाले अहिले नयाँ पुस्ता धेरै भाग्यमानी रहेको उनी सुनाउँछिन्।

अहिलेको नेपालमा प्रविधिले ठूलो फड्को मारेकाले मुम्बईकै गुणस्तरका नेपाली रेकर्डिङ स्टुडियोहरू खोलिएको छ। उनले भजनहरू, शुभकामना गीत, राष्ट्रिय गीतहरूमा स्वर भरेकी छन्। चलचित्रका गीतहरूलाई समेटेर 'सपनीमा' आधुनिक र भजनहरूलाई समेटेर 'यस्तै रहेछ' भन्ने पुस्तक पनि निकालिसकेकी छन् उनले। आजको मितिसम्म नेपाली भाषालगायत उनले नेवारी, मैथिली, भोजपुरी, हिन्दी भाषाका गीतमा पनि स्वर भरेकी छन्। संख्यामा गन्ती गर्ने हो भने हजार बढी गीत उनले गाइसकेकी छन्।

स्वरमा 'गड गिफ्ट' नै हुनुपर्ने उनको तर्क छ। यसका बाबजुद पनि स्वरलाई माझ्न र तिख्खर बनाउन अभ्यासको जरुरत पनि रहेको बताउँछिन् उनी। जब सिकिन्छ, तब यस क्षेत्रमा आफूलाई स्थापित गर्न गाह्रो नहुने उनी बताउँछिन्। उनको जन्म इलामको पशुपतिनगरमा भएको थियो। बाबु भारतीय सेनामा कार्यरत भएकाले उनी भारतका विभिन्न कुनामा पुगिन्। बसाइ धरान थियो। सपनाको उडान भरेर उनी काठमाडौं आइन्। अहिले उनी बुटवलमा बस्छिन्।

घरकी कान्छी छोरी उनलाई बुबाआमाले नर्स हुनुपर्छ भन्थे। उनको रोजाइ भने संगीत थियो। सुरुवातमा बाबुआमाले यस क्षेत्रमा आउन खोज्दा नाक खुम्च्याए पनि आफ्नो संगीतप्रतिको लगाव देखेर बुबाआमाले नर्स बन्न कुनै दबाब नदिएको उनी बताउँछिन्। वि.सं. २०५० पछि भने उनले शम्भुजीत बाँस्कोटासँग संगीत सिकिन्। बाँस्कोटासँग सिक्दा आफूले गाउन सक्छु भन्ने आत्मविश्वास बढेको बताउँछिन् उनी।

नेपाली सांगीतिक उद्योगको भविष्य उज्यालो रहेको बताउँछिन् देविका। आफूले चलचित्रमा गाउँदा लोकशैलीमा गाउने गरेको र अहिलेका नेपाली चलचित्रका गीतहरूमा पनि लोकशैलीले आफ्नो स्थान सुरक्षित गरेको उनले बताइन्। अहिले क्षमतावान् गायक/गायिकाहरू प्रशस्त रहेको उनको भनाइ छ। अलिक पहिलेसम्म नेपाली समाजमा नपच्ने शब्द (दुई अर्थी शब्द)को प्रयोग हुने गरे पनि अहिलेचाहिँ लोकशैलीमा आधारित गीतहरूले गर्दा अहिलेका गीतहरू सभ्य र सुललित रहेको बताउँछिन् उनी।

पहिलो पल्ट स्टुडियोमा गाउँदा

रेडियो नेपालमा भ्वाइस टेष्ट गरेर पास हुनपर्थ्यो त्यस बेला। गायनका लागि सर्टिफिकेट हातमा आइसकेपछि मात्र गाउने बाटो खुला हुन्थ्यो। सुरुवातमा कोरसमा बसेर उनले गीत गाइन्। रेडियो नेपालको भव्य स्टुडियोमा गीत गाउन पाउँछु भन्ने आफूलाई कहिल्यै नलागेकाले पनि पहिलो पल्ट स्टुडियो छिर्दा संसारकै सबैभन्दा भाग्यमानी व्यक्तिको रूपमा आफूलाई सम्झिएको उनी बताउँछिन्। वि.सं. २०५० तिर उनले रेडियो नेपालबाट ललिजन रावलको शब्दमा नरेन्द्र प्यासीको संगीतमा रहेको 'एउटा परदेशी' गजल रेकर्ड गरिन्। त्यसअघि पनि उनले प्रवीण गुरुङको शब्द र संगीतमा रहेको 'संगम' एल्बममा समावेश गीतमा पनि स्वर दिइसकेकी थिइन्। लगत्तै उनले 'यस्तै रहेछ यहाँको चलन' बोलको गीत गाइन्। एकैचोटि आएका दुई गीतले गर्दा गायनमा स्थापित भएको स्वीकार्छिन्।

अहिलेको पुस्तालाई मनपर्ने गायक गायिकाको नाम सोध्ने हो भने नारायण गोपाल, अरुण थापा, तारादेवीलगायतका सर्जकको नाम अग्रपंक्तिमा आउने गरेको छ। के अहिलेको पुस्ताले उनीहरूको जस्तो पहिचान बनाउन सक्लान्? अथवा उनीहरूको जस्तै पहिचान बनाउन सक्लान्? भन्ने प्रश्नमा उनी भन्छिन्, 'अहिले राम्रा, गायनमा कला भएका पुस्ता आइसकेका छन्। चर्चित हुने माध्यम आइसकेको छ। रेडियो नेपाल र नेपाल टेलिभिजनको युग नरहेकाले पनि ती अग्रज सर्जकको स्तरसम्म अहिलेको पुस्ता पुग्न सक्छन्, यद्यपि, मिहिनेत पनि उस्तै गर्नुपर्छ।'

नयाँ पुस्तालाई सुझाव

गायक/गायिकाले आफ्नो स्वरको परीक्षण गर्न जरुरी रहेको उनको ठम्याइ छ। संगीतको सिकाइबिना यस क्षेत्रमा नलाग्न सुझाव छ उनको। कोही कोही भने पैसाको भरमा पनि नेपाली सांगीतिक क्षेत्रमा आउने पनि रहेको बताउँछिन्। पैसाले क्षणिक चर्चा त दिन सक्ला तर दीर्घकालीन रूपमा उपलब्धि शून्य नै हुने उनको दाबी छ। उनी भन्छिन्, 'संगीत भनेको बग्ने खोला जस्तै हो। विस्तारै बग्छ तर सागरसम्म पुग्छ।' मुख्य कुरा त के भने आफूभन्दा अग्रजको स्वर कपी गर्ने काम गर्न नहुने बताउँछिन् उनी। यसले आफ्नो परिचय गुम्ने र आफ्नोपन नहुने उनी सुनाउँछिन्। 'बरु केही धैर्य गर्नुहोस्, मिहिनेत गर्नुहोस्। आफ्नोपन ल्याउने कोसिस गर्नुहोस्, ताकि छुट्टै पहिचान बन्न सकोस्। चिनारी बन्न सकोस्', देविका भन्छिन्।

यस्ता गीत सुन्छिन् देविका

उनी पपलगायत फरक फरक शैलीका गीत सुन्ने गरेको बताउँछिन्। सबै भाषाका गीत सुन्न रुचि लाग्ने उनले बताइन्। फरक फरक क्षेत्र र परिवेशकमा गीतले आफूलाई गायनमा थप ऊर्जा दिने उनको भनाइ छ। नयाँ पुस्ताले गाएका गीतहरू उनले अझ बढी सुन्ने गरेकी छन्। विशेष गरेर मेलोडी गीतहरू सुन्न रहर लाग्ने बताउँछिन् उनी।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.