|

संखुवासभा : एकमहिना अघिबाट बन्द रहेको प्रसूति सेवा आइतबारबाट सुचारु भएको छ। निक साइमन नामक संस्थाले सुरक्षित मातृत्व गराउन जिल्ला अस्पताल खाँदबारीमा राखेको चिकित्सक दुईजना मध्ये एकजना चिकित्सकको समय अवधि सकिएको र एकजना घर विदामा बसेपछि प्रसूति सेवा दशैँ अघिबाट ठप्प भएको थियो।

निक साइमन संस्थाले राखेको चिकित्सक डा. युवराज बस्नेत दशैँ अघि नै समय अवधि सकिएको भन्दै खाँदबारी अस्पताल छाडिसकेका थिए। प्रसूति सेवा बन्द भएको एक महिनापछि मात्र निक साइमन संस्थाले डा. अनामिका मिश्रलाई जिल्ला अस्पताल संखुवासभामा खटाएको छ। प्रसूति चिकित्सक डा. अनामिका आइतबारबाट हाजिर भएपछि सेवा सुचारु गरिएको अस्पतालका प्रमुख डा. लक्ष्मण खड्काले जानकारी दिए। 

२४ सै घण्टे प्रसूति सेवा सुचारु भएपछि जिल्ला बाहिर लैजानु पर्ने बाध्यता हटेकाे छ। अस्पताल प्रशासनको लापरवाहीले  जिल्ला अस्पताल खाँदबारीमा पटक-पटक प्रसूति सेवा अवरुद्ध हुने गरेको छ। निक साइमन संस्थाले सुरक्षित मातृत्व गराउन राखेको अर्को चिकित्सक डा. शैलिका श्रेष्ठ कात्तिक ३० गते अस्पतालमा हाजिर हुने भनिए पनि अहिलेसम्म हाजिर हुन सकेकी छैनन्। 

२४ सैघण्टे प्रसूति सेवा पुन: संचालनमा आएपछि काठमाडौं, jविराटनगर, धरान जानुपर्ने बाध्यता हटेको छ। खाँदबारी अस्पतालमा प्रसूति सेवा लिन जिल्ला बिभिन्न स्थान र छिमेकी जिल्ला भोजपुर र धनकुटाबाट समेत आउने गरेकाे अस्पताल स्रोतले जनाएको छ। प्रसूति सेवा लिन जिल्ला अस्पतालमा दैनिक ५ देखि ७ जनासम्म सेवाग्राही आउने गरेको अस्पताल प्रशासनले जनाएको छ।

प्रसूति सेवा लिन जिल्लाका विभिन्न स्थानबाट आइतबार मात्र पाँचजना सेवाग्राही आएको अस्पतालका प्रमुख लक्ष्मण खड्काले जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.