|

बाँके : पप्पु कन्स्ट्रक्सनले धरौटीबापत बैंकमा राखेको नौ करोड ९० लाख रुपैयाँ सरकारले जफत गर्ने भएको छ। राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत सिक्टा सिँचाइ आयोजनाको डुडुवा शाखा नहर निर्माणको काम समयमा नगरेपछि धरौटी रकम जफत हुने भएको हो।

डुडुवा शाखा नहर निर्माणमा ढिलाई गरेपछि सरकारले पप्पु कन्स्ट्रक्सनको ठेक्का सम्झौता रद्द गरेर टेन्डरमार्फत् पुनः ठेक्का सम्झौता गर्ने भएको छ। पप्पु कन्सट्रक्सनले पेश्कीबापत आठ करोड ३७ लाख रुपैयाँ लिइसकेको छ। त्यसमध्ये पाँच करोडको मात्र काम भएको सिक्टा सिँचाइ आयोजनाका डिभिजनल इन्जिनियर प्रकाश बहादुर कार्कीले बताए। 

पप्पु कन्स्ट्रकसनले पेश्कीस्वरूप बढी लगेको रकम पनि फिर्ता हुने छ। २८ महिनामा सक्ने गरी ठेक्का लिए पनि समयावधि सकिँदा सात प्रतिशत मात्रै काम गरेपछि सरकारले ठेक्का सम्झौता रद्द गरेको इन्जिनियर कार्कीले जानकारी दिए।

यसैबीच, प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाअन्तर्गतको मूल नहरमा पानी छाड्न सरकारलाई निर्देशन दिए पनि आगामी वर्षातसम्म पानी छोड्न नसकिने आयोजनाका डिभिजनल इन्जिनियर कार्कीको भनाई छ। मुल नहरमा पानी छोड्नासाथ भत्किने गरेकोले मर्मत नहुँदै पानी छोड्न नसकिने आयोजनाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.