|

काठमाडौं : उपत्यका जात्रै जात्राको शहर हो। उपत्यकाका बिभिन्न समय र ठाउँमा बिभिन्न किसिमका जात्राहरू भइनैरहेका हुन्छन्। यस्ता जात्राको आ आफ्नै महत्व र परम्परा पनि रहेको हुन्छ। यसै क्रममा काठमाडौंको चावहिलमा श्री चन्द्रविनायक र श्री भैरवनाथको जात्रा मनाइयाे।

करिव ३०० वर्ष पुरानो मानिएकाे यो जात्रा राजा भुपालेन्द्र मल्लको शासनकाल नेपाल सम्वत् ८०० बाट सुरु भएको स्थानीयवासीको विश्वास छ। याे जात्रामा पशुपतिनाथ अमालकोट कचहरीबाट द्वारेले पूजा ल्याउने परम्परा रहेको छ। कात्तिक शुक्ल पूर्णिमाका दिनबाट चार दिनसम्म चावहिल क्षेत्रमा जात्रा लाग्ने गर्छ। यो जात्रामा भैरव र गणेशको दर्शन गर्नाले मानव शरीरमा आएका घाउ खटिरा निको हुने विश्वासमा भएकाले भक्तजनको भीड लाग्ने गर्छ।

मार्ग कृष्ण प्रतिपदाका दिन बिहीबार गणेश र भैरवको रथ चावहिल क्षेत्रका घर घर पुर्‍याई पूजा गरिन्छ। द्वारेले रथमा सिन्दूर चढाएपछि स्थानीय परम्परागत बाजागाजासहित गणेश र भैरवको रथ नचाउने विधि रहेको छ। नचाई नचाई चाबहिल क्षेत्रमा परिक्रमा गराइएपछि चन्द्रविनायकको उत्तरतर्फको गंगाहिटी अर्थात् प्राचीन ढुंगेधारामा लगि दुवै रथलाई स्नान गराइन्छ। स्नानपछि मध्यरातसम्म मन्दिर नजिकका घर र चोकमा रथ राखी पूजा गरिन्छ। पूजापछि राति यी रथलाई चारुमति बिहार अगाडि बिसाइन्छ।

मार्ग कृष्ण द्वितीयाका दिन चावहिल क्षेत्रमा सिन्दूर जात्रा गरी दिनभर चावहिलका परम्परागत तथा प्राचीन बस्ती रहेको चावहिल बहाल, नाट्यश्वरी मार्ग, भगवानस्थान र मुसे गणेशस्थानमा रथ घुमाइन्छ। यसपछि चन्द्रविनायकको रथलाई पशुपतिनाथ मन्दिर परिक्रमाका लागि लगिन्छ। भैरवनाथको रथलाई कुटुबहाल चोकमा पूजाका लागि राखिन्छ।

मार्ग कृष्ण तृतीयाका दिन सिन्दूर जात्रा गरेपछि चारदिने जात्रा सम्पन्न हुन्छ। बोली नफुटेका बच्चालाई यो जात्रामा ल्याई गणेश र भैरवको दर्शन गराउँदा बोली फुट्ने विश्वास पनि रहिआएको छ। यही जात्राको चौथो दिन सिन्दूर जात्रा र रथयात्रा फोटोमा।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.