|

इलाम : लोपोन्मुख वन्यजन्तु रेडपाण्डा (हाब्रे) कुकुर र जंगली जनावरको शिकारको जोखिममा पर्न थालेको छ। गत साता सन्दकपुर गाँउपालिका–५ इङलाको मालिङगेडाँडा नजिकै जंगलमा रेडपाण्डाको पुच्छर मात्रै फेला प¥यो। स्थानीयले चितुवा वा कुकुरले शरीर खाएर पुच्छर मात्र छाडेको अनुमान गरे।

त्यसअघि गत बैशाखमा इलाम नगरपालिका–३, पुवामझुवाको ओराले चौर भन्ने ठाउँमा दुई वटा कुकुरले शिकार गरिरहेको बेला स्थानीयले रेडपाण्डाको उद्धार गरेका थिए। तर, कुकुरको टोकाइबाट गम्भीर घाइते उक्त भाले रेडपाण्डा केहीबेरमै मरेको थियो। रेडपाण्डा फेला परेको खबर पाएपछि जिल्ला वन कार्यालय र रेडपाण्डा संरक्षणमा काम गरिरहेको उच्च पहाडी जडिबुटी उत्पादक संस्थाका प्रतिनिधिहरु गएपछि मात्र उक्त वन्यजन्तु दुर्लभ रेडपाण्डा भएको खुलेको थियो।

यस्तै, गत चैत १५ मा ताप्लेजुङको पाथिभरा मन्दिर छेउमा समेत रेडपाण्डा मृत फेला परेको थियो। कुकुरले मृत रेडपान्डा च्यापेर ल्याउँदै गर्दा स्थानीयले फेला पारेका थिए। रेडपाण्डा संरक्षणका लागि गत वर्ष ताप्लेजुङमा रेडपाण्डा नेटवर्क र जिल्ला पशु सेवा कार्यालयको सहयोगमा कुकुर बन्ध्याकरण सेवा सुरु गरिएको थियो। कुकुरका कारण रेडपाण्डाको संरक्षणमा चुनौती देखिएकाले बन्ध्याकरण कार्यक्रमलाई अघि बढाइएको रेडपाण्डा नेटवर्ककी पेमा लामाले बताइन्।

इलामको उत्तरी क्षेत्रमा वन हेरालु नहुँदा रेडपाण्डा तस्करी हुने गरेको थियो। तर, चार वर्ष अघि ट्रयापिङ क्यामरा राखेपछि चोरी तस्करीमा कमी आएको संरक्षणकर्मी फिन्जु शेर्पाले बताए।

बढ्दो वनजंगल फडानी र आहाराको खोजीमा रेडपाण्डा औलतर्फ झर्न थालेको छ। दुई हजार मिटरभन्दा बढी उचाइमा पाइने रेडपाण्डा मालिङ्गो बाँसको खोजीमा एक हजार ८०० मिटरसम्म आउने गरेको संरक्षणकर्मीहरुको भनाइ छ।  १७ प्रकारका बाँस र निगालो प्रजाति रेडपाण्डाको मुख्य आहार हो। तीव्र बन फडानीका कारण बास र निगालो लोप हुँदै गएपछि आहार खोजीमा रेडपाण्डा मानव वस्ती नजिकै आउन थालेको रेडपाण्डा नेटवर्कले जनाएको छ।

अत्यन्त सोझो प्रकृतिको रेडपाण्डा शिकार गर्न सजिलो हुने भएकाले पनि कुकुर र अन्य जंगली जनावरको आक्रमणमा सजिलै पर्ने गरेको सन्दकपुर गाँउपालिका अध्यक्ष उदयबहादुर राईले बताए। माइपोखरी क्षेत्रमा केही समयअघिसम्म एक जोडी रेडपाण्डा रहेकोमा अहिले एउटा मात्र रहेको उनले बताए।

२३ जिल्लामा रेडपाण्डा

नेपाल सरकारले रेडपाण्डा नेटवर्कको सहयोगमा गरेको पछिल्लो सर्वेक्षणले नेपालका २३ जिल्लामा रेडपाण्डा पाइने तथ्यांक निकालेको छ। नेटवर्कले ३५ जिल्लामा गरेको सर्वेक्षणले मुलुकको पश्चिमी क्षेत्रमा रेडपाण्डाको वासस्थान बढी रहेको समेत पहिचान गरेको छ। सर्वेक्षणको नेतृत्व गरेको ‘रेडपाण्डा नेटवर्क’का संरक्षण व्यवस्थापक डम्बर विष्टले रेडपाण्डाको उपस्थिति, तिनको वासस्थान, आहार र प्रजातिबारे नयाँ तथ्य पत्ता लागेको बताए।

मुलुकभर १६ हजार ३१६ वर्गकिलोमिटर क्षेत्रमा रेडपाण्डाको वासस्थान रहेको पत्ता लागेको छ। सन् १९९६ मा डा. प्रह्लाद योञ्जनले ३०० को संख्यामा रेड पाण्डा भएको अध्ययनमा देखाएका थिए।

रेडपाण्डा स‌ंरक्षणको प्रयास

रेडपाण्डा पाइने पूर्वी पहाडका इलाम, पाँचथर र ताप्लेजुङमा संरक्षणमाका लागि विभिन्न कार्यक्रमहरु अघि सारीएको छ। तीन जिल्लामा संकाटापूर्ण वन्यजन्तुलाई सरक्षण गर्दैै विश्वकै पहिलो रेडपाण्डा संरक्षित क्षेत्र बनाउने पहल सुरु भएको हो। इलाममा  सन् २०११ देखि सुरु भएको पहिलो चरणको कार्यक्रम सकिएर सन् २०१६ देखि २०२० सम्मका लागि रेडपाण्डा नेटवर्कले दोस्रो चरणको कार्यक्रम सञ्चालनमा गरिरहेको छ।

इलामको उच्च पहाडी जडिबुटी उत्पादन तथा सरक्षण मञ्च, रेडपाण्डा संरक्षण तथा पार्या–पर्यटन समिति, पाँचथरमा दीपज्योति युवा क्लब र ताप्लेजुङमा हिमाली संरक्षण मञ्चले रेडपाण्डा संरक्षणको कार्यक्रम सञ्चालन गरिरहेका छन्। हरेक वन क्षेत्रमा वन अभिभावक राखिएको छ। रेडपाण्डाको अवस्थाबारे मोबाइल एप्लिकेशनबाट सूचना दिइन्छ। कार्यक्रममा वासस्थान संरक्षण, आहारा संरक्षण, स्थानीयवासीको जीविकोपार्जन, गोठ सुधारलगायतका क्रियाकलाप सञ्चालित छन्।

चोरी शिकारी नियन्त्रण, अनुगनम, सामुदायिक वनहरुको क्षमता विकास, पशुपालकलाई सचेतना लागयतका विभिन्न कार्यक्रम रहेका छन्। सन २०१८ मा इलाममा ५८ लाख ३६ हजार ५००, पाँचथरमा ३८ लाख ३६ हजार ५०० र ताप्लेजुङमा ६८ लाख ४६ हजार ३०० रुपैयाँ छुट्याइएको छ। रेडपाण्डा सरक्षणमा विद्यार्थीलाई सचेत गराउन तीन जिल्लाका एक–एक विद्यालयमा १०० पूर्णाङ्कको पाठ्यक्रम लागू गरिएको छ। स्थानीय पाठ्यक्रम बनाएर कक्षा ६ र ७ मा सरक्षण शिक्षा पढाइँदै आएको छ।

रेडपान्डा संरक्षणका लागि सन्दकपुर गाँउपालिकाको टप्पुमा प्रजनन केन्द्र र चिडियाखाना स्थापनाको योजना अगाडि बढाइएको गाउँपालिका अध्यक्ष उदयबहादुर राईले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.