'भाषण समानताका कुरा खानामा किन विभेद?'

|

पोखरा : मंगलबार बिहान पोखरास्थित होटल ग्राण्डको मनास्लु हलमा कार्यक्रम सुरु हुनु अघि सात बजेदेखि आठ बजेसम्म सहभागीले लाइन लाएरै चिया खाजा खाए। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय गण्डकी प्रदेशले आयोजनामा गरेको  प्रदेश समन्वय परिषदकाे दाेस्राे बैठकमा प्रदेशभरका स्थानीय तहका प्रमुख र उपप्रमुखहरूको सहभागिता रहेको थियो।

जनप्रतिनिधिसँगै उनीहरूका सवारी चालकले पनि खाजा नास्ता खाए। उद्घाटन कार्यक्रम चलिरहँदा होटलकै बाहिर गफिँदै सवारी चालकहरूले १ बजेसम्मको समय काटे। ठीक एक बजे होटलमा खाना खुल्ला भयो। त्यसलगत्तै कार्यक्रम सुरु भयो। बिहान ८ बजे चिया खाजा खाएर १ बजेसम्म बसेका चालकहरू पनि खाना खानको लागि कुपन लिन गए। कुपन लिन जाँदा सवारी चालक युवराज पुनलाई सरकारी कर्मचारीले सोधे, ‘तपाईं कुन गाउँपालिकाको जनप्रतिनिधि?’

पन्तले जवाफ दिए ‘म सवारी चालक हुँ ’पुनले यति भन्दा नभन्दै ती सरकारी कर्मचारीले ड्राइभरहरूको लागि खानाभित्र छ उता जानुहाेस् है भनेर कुपिन थम्याए।

कुपन लिएर साथीहरूसँगै भित्र छिरेका पुनले छनक बुझिँहाले भिआइपी र सवारी चालकको लागि भनेर भिन्दै खानाको ब्यवस्था गरेको । प्रदेश सरकारको आयोजनामा उक्त कार्यक्रममा जनप्रतिनिधिको लागि र सवारी चालकको लागि खाना नै छुट्टै, फरक गुणस्तरको बनाइएको होटलको स्रोतले पनि बतायो। होटलको स्रोतका अनुसार सवारी चालकले खाएको खाना र अन्य जनप्रतिनिधिले खाएको खानामा एक हजार रुपैयाँको अन्तर छ। गुणस्तर पनि उत्तिकै।

प्रदेश सरकार र स्थानीय सरकार मिलेर आपसमा समझदारी कायम गर्दै अघि बढ्ने, विषयमा छलफल भएको कार्यक्रममै फरकफरक खानाको व्यवस्था गरिएपछि सवारी चालकहरूले विभिन्न मन्त्रीहरूले नै सुन्ने गरी गुनासो गरे। सवारी चालकहरूले पानी पनि धाराबाट थापेर खानु परेको, खाना हातले हालेर खाएको र खाना खाने ठाउँ पनि सफा सुग्घर नभएको भन्दै विरोध गरे। ‘के हाम्रो शरीर शरीर होइन? भिआइपी मान्छेले खाएको ठाउँमा बसेर, उनीहरूले जे खाए हामीले त्यही खाना हामीले खान हुँदैन?,’ पुनले भने, 'खानकुरामा पनि ठूलो सानो हुन्छ? बरु खाना छैन भने हामी अरू ठाउँमा गएर खान्छौँ। तर यस्तो खत्तम खाना खादैनौँ। भाषण समानताका गर्ने। अनि खानामा विभेद गर्ने?’

अर्का चालक श्रीराम बरालले पनि चित्त दुखाउँदै भने, ‘तपाइ हामीले तिरेको करबाट सरकारले कार्यक्रम आयोजना गरेको छ। यही कार्यक्रममा हामीले तिरेको करकै पैसाले भिआइपीले खाना खाने अनि हामीले त्यही खाना खान नपाउने?’ चालकहरूले यसअघि पनि यस्तो समस्या भोगेका रहेछन्। पुनले भने, ‘पटक पटक यस्तै हुँदै आएको छ। यो पहिलो घटना हैन हामी चुप लागेको मात्रै थियौँ आज साह्रै नै भएर बोलेका हौँ।’

मंगलबारको कार्यक्रममा चालकहरूलाई दिइएको खानामा जम्मा चारवटा आइटम थियो भने अन्यले खाने खानाको १३ वटा आइटम थियो। त्यसैबीचमा अर्का चालकले भने, ‘खानाको व्यवस्था छैन भनेको भए हामी बाहिर गएर खान्छौँ, यस्तो विभेद गर्न पाइँदैन।’ चालकहरू यहाँ कति पैसा पर्छ थाहा छैन। बाहिर २०० रुपैयाँ तिरेर खाना खान नसक्ने हाेइनौँ भन्दै विरोधमा उत्रिए।

चालकहरूले चर्कै स्वरमा विरोध गरेपछि गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री तथा प्रवत्ता रामशरण बस्नेतले थमथम्याए। ‘अब यस्तो हुँदै हुँदैन। तपाईंहरू ढुक्क हुनुहाेस् आज बेलुकाबाटै यो भिन्नता पाउनु हुँदैन’ चालकहरूलाई मन्त्री बस्नेतले भने।

गण्डकी प्रदेश प्रमुख सचिव लक्ष्मीराम पौडेल भने आफूहरूले त्यस्तो नगरेको र होटल व्यवस्थापनले त्यस्तो गरेको बारे थाहा नभएको भन्दै पन्छिए। यता होटल व्यवस्थापनले भने अर्डरअनुसारको खाना व्यवस्था गरेको बताएको छ। ‘अर्डर अनुसारको खानाको व्यवस्था गरेका हौँ। यस्तो होटलमा हाम्रै सुरले खाना खुवाउने? सम्भव नहुने कुरा हो’ होटल ग्राण्डका सिनियर सेल्सम्यानेजर कमल शेरचनले भने। उनका अनुसार चालकहरूलाई दाल, भात, अचार र एकथरी मात्र मासु दिनु भन्ने आयोजक मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको आदेश थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.