विचार

राष्ट्रिय पुँजीपति वर्गको खोजी
SHARES

मंसिर १२, २०७५

    उहिले अर्थात् नेकपा माले भएको बेलामा हामी वर्ष वर्ष दिनमा मुलुकको वर्ग विश्लेषण गर्थ्यौँ र नेपालमा राष्ट्रिय पुँजीपति वर्ग कमजोर भएकोमा दुःखी हुन्थ्यौँ। सामन्तवाद, नोकरशाही पुँजीवाद बलियो भएको, त्यसैले सत्ताको चाबी आफ्नो गोजीमा राखेको देखेर मन दुखाउँथ्यौँ। त्यतिबेला हामी त्यति बलियो भइसकेका थिएनौँ कि कुनै राष्ट्रिय पुँजीपतिलाई च्याप्प समातेर उसलाई नेता बनाएर सबै राष्ट्रिय पुँजीपति वर्गको संगठन बनाअौँ।

    बहुदलीय व्यवस्था आरम्भ भएपछिको दोस्रो चुनावमा हामी विजयी हुन्छौँ भन्ने जबर्जस्त विश्वासमा थियौंँ हामी। त्यसैबेला हामीले नेपालका ठूला घरानाका व्यापारीको भेला गर्‍यौँ। भरतमोहन अधिकारीजीले आफ्नो कुरा राख्नुभयो। अरूको प्रतिक्रिया सामान्य नै थियो तर विनोद चौधरीले मेरा लागि गंभीर लाग्ने एउटा प्रश्न उठाउनुभयो। उहाँले भन्नुभयो- 'तपाईंहरूले हामी व्यापारीहरूमै भेद गर्नुभएको छ। एउटा दलाल पुँजीपति, अर्को नोकरशाह पुँजीपति अनि अर्को राष्ट्रिय पुँजीपति। यो भेद गरुन्जेल हामी कसरी विश्वास गर्न सक्छौँ?’

    भरतमोहनजीले त्यो प्रतिक्रियालाई कसरी ग्रहण गर्नुभयो कुन्नि मचाहिँ सन्न भएँ। दलाल र नोकरशाही पुँजीवादको विरोध गर्ने चेनता बोकेको मेरो मनमा त्यतिबेला उदाएको चेतना थियो- कि त पार्टीले उद्योग चलाउनुपर्‍यो कि राष्ट्रिय पुँजीपति संगठित गर्न थाल्नुपर्‍यो। तर हामीले त्यो काम गर्ने पहल पनि गरेनौँ। केही उद्यमी साथीहरू पार्टीको असल सहयोेगी भइरहनुभयो। केहीसँग पार्टीका नेताहरूको व्यक्तिगत संबन्ध गाढा रह्यो। हाम्रै नेताले नेपाल पुँजीवादी भयो भने पनि हामी पुँजीवाद भन्दा कोशौँ टाढा थियौँ। नेताहरूका आर्थिक सहयोगीहरू राम्रै भएको र वर्ग विश्लेषण गर्ने स्वभाव मरिसकेको हुनाले हामी राष्ट्रिय पुँजीवादको प्रवर्द्धनमा लागेनौँ बरु उल्टै हामी पनि दलाल नोकरशाही पुँजीवादको पिछलग्गु जस्ता भयौँ। 

    अहिले संघीय लोकतान्त्रिक गणतन्त्र छ नेपालमा। यो भनेको पुँजीवादको सर्वोच्च अवस्था हो। यही अवस्थाबाट समाज, समाजवादतर्फ संक्रमण गर्ने हो। यो संक्रमणमा राष्ट्रियताको प्रवर्द्धन गर्ने शक्ति बलियो छ? छैन। त्यसो भए के गर्ने?

    मार्क्सवाद–लेनिनवाद, मालेमावाद, जस्ता जार्गनहरू बोकेर हामी आफ्नो देशको समाधान गर्न सक्दैनौँ। हाम्रो देशमा राष्ट्रिय पुँजीवादको विकास भएको छैन र तत्काल भइहाल्ने संभावना पनि देखिएको छैन। नोकरशाही दलाल पुँजीवादसँग टक्कर लिने स्थितिमा पुर्‍याउन नेकपा, वामपन्थी पार्टी र मोर्चाहरूले कुन व्यवसाय राष्ट्रिय पुँजीवादको विकाससका लागि सहायक हुन्छ र त्यसलाई कसरी अगाडि बढाउनुपर्छ भन्ने सोच अहिलेका सबै वामपन्थीको दिमागमा हुर्किनुपर्छ।

    अहिले नेपाल कम्युनिस्ट पार्टीको सरकार छ। अलिक दिन समाजवादको भाषण गर्न छाडौँ र राष्ट्रिय पुँजीवादलाई बलियो र दलाल पुँजीवादसँग प्रतिस्पर्धा गर्ने स्तरमा उचालौँ। राज्य निर्देशित पुँजीवादको विकास, आजको हाम्रो काम यही हो।

    मान्छेको पहिलो आवश्यकता भनेको खाना हो। खाने कुरै भएन भने कुनै पनि मानिस बाँच्दैन। मान्छेलाई बचाउने तत्त्व भनेको कृषिसँग जोडिएको उद्यम हो। अर्थात् खाद्य पदार्थ, पशुपन्छी पालन, जडिबुटी खेती यसभित्र पर्छन्। यो क्षेत्रमा नेपाल आत्मनिर्भर नभइन्जेल माथिबाट टपक्क टप्किएको पुँजीवाद उतैबाट फुत्त हराउन पनि बेर लाग्दैन।

    कृषिप्रधान देश भनिए पनि नेपाल कुनै उपजमा पनि आत्मनिर्भर छैन। अरूको त कुरै छाडौँ, कुअन्न भनिने कोदोको उत्पादनमा पनि हामी आत्मनिर्भर छैनौँ। वर्षमा एक पटक प्रयोग हुने फूलमा पनि आत्मनिर्भर छैनौँ। हामीलाई थाहा भइसकेको छ- कारखानाको चिनी विष हो। थाहा हुँदाहुँदै पनि हामी त्यही चिनी खाइरहेका छौँ। उखुबाट उत्पादित खाँडसारीको चिनी र घरेलु उत्पादनको सक्खर (गुड) खान हामीलाई मन लाग्दैन। जुम्लामा स्याउ कुहिन्छ, मार्फाको स्याउ रक्सी बन्छ तर नेपालीहरू न्युजिल्याण्डबाट आयात गरिएको स्याउ खान्छन्। सामान्य व्यक्तिलाई चासो भएर के हुन्छ?

    सरकार र सरोकारवाला मान्छेलाई कुनै चासो छैन। सरकार त सबैले बुझ्ने कुरो भइहाल्यो, सरोकारवाला भनेको यही राष्ट्रिय पुँजीपति वर्ग हो। स्याउ खेतीको अध्ययन गरेको र अलिकति लगानी गर्ने क्षमता भएको एउटा सानो समूहले प्रयत्न गरेमा हामी नेपालीहरू स्याउमा आत्मनिर्भर हुन्छौँ। दिनदिनै एउटा खाऊ, अस्पताल जानुपर्दैन भन्ने सत्य सबै पढालेखा नेपालीलाई थाहा छ। तर उनीहरूलाई पनि न्युजिल्याण्ड वा चीनको गुलियो र रसिलो स्याउ मीठो लाग्छ। आफ्नोे देशको कम गुलियो स्वादको स्याउ मनपर्दैन।

    आजको कर्णाली प्रदेश स्वास्थ्यकर खाद्यान्नको स्वर्ग हो। दिमागलाई चाहिरहने ओखर, धेरै प्रोटिन भएको चिनो अब त कर्णालीबासीका लागि पनि विस्मृतिमा गइसक्यो होला। विदेशबाट अनुदानमा आएको कुहेको चामलले उनीहरूको दिमागलाई बोधो बनाइसक्यो होला। तर नवऔपनिवेशिक चेतना भएका काठमाडौंका बुद्धिजीवीका कारण कर्णाली प्रदेश अहिले पनि अँध्यारो अनुहार लगाएर अनुदानको कुहिगन्धे चामल पर्खिबसेको छ।

    तर सजिलो छैन राष्ट्रिय पुँजीपति वर्गको उत्थान गर्न। राष्ट्रिय पुँजीपति वर्गको संपूर्ण निष्ठा नेपाल राष्ट्रप्रति हुनुपर्छ। दलाल पुँजीपतिहरूले पाउने राष्ट्रिय, अन्तर्राष्ट्रिय सहयोग पनि उनीहरूले पाउने संभावना छैन। राष्ट्रिय पुँजीपति वर्गको नेता हुन चाहनेले पहिले आफ्नै खुट्टामा उभिनुपर्छ। यो काम गाह्रो लाग्न सक्छ तर यो काम धेरै सजिलो छ। यो काम गर्नसक्ने मध्यम वर्गीय पुँजीपतिहरू एक दर्जन बढी त मै चिन्छु। काम थालेपछि यो संख्या तल झर्दैन, यो झनझन बढ्दै जान्छ। मुलुकमा पाइने कच्चा पदार्थ दोहन गरेर इमानदार भएर काम गरिखान कसलाई नराम्रो लाग्छ र?

    अहिले नेपाल कम्युनिस्ट पार्टीको सरकार छ। अलिक दिन समाजवादको भाषण गर्न छाडौँ र राष्ट्रिय पुँजीवादलाई बलियो र दलाल पुँजीवादसँग प्रतिस्पर्धा गर्ने स्तरमा उचालौँ। राज्य निर्देशित पुँजीवादको विकास, आजको हाम्रो काम यही हो।

    नेपालीले कामलाई प्राथमिकता दिए भने अर्काले दिएको कुहिएको चामल खाने दिनहरू समाप्त हुनेछन् र हामी अरूलाई राम्रो चामल दिन सक्ने अवस्थामा पुग्नेछौँ।प्रदेश सरकारले आफ्नो माटो चिनून्। लुम्बिनीमा काम गर्दा मैले खाँडसारीको नाम सुनेको थिएँ। खाँडी, कोगटी हाम्रा उत्पादन हुन्। कोदोलाई बेकारमा मिलेट भनेर हेपियो। हाम्रा स्थानीय सरकारले नेपालको पुँजी बढाउने उत्पादकहरूलाई चिनून् र उनीहरूलाई प्रोत्साहित गरून्।

    मचाहिँ एउटा यस्तो मान्छे खोजिरहेछु, जो हाम्रा नेपालीलाई समेटेर नयाँ नेपालको पुँजीवादी नेता बनोस्। जसको भित्र बाहिर सबैतिर नेपाल होस्, विदेशी उत्पादनको आयातलाई शून्यमा झारोस्।

प्रदीप नेपाल

नेकपाका नेता प्रदीप नेपाल राजनीतिसँगै साहित्य रचनामासमेत क्रियाशील छन् ।

 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]