|

रौतहट : रौतहटकाे गौर नगरपालिका लगायत जिल्लाका करिब १८ वटै स्थानीय तहमा संचालित अधिकांश अटो चालक सवारीचालक अनुमति पत्रविहीन छन्। यहाँका यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।

जिल्लाको केन्द्र शहरको रूपमा रहेको चन्द्रपुर, गौर र गरुडा नगरपालिकामा संचालित अटो तथा इ-रिक्सा चालकहरूले चालक अनुमतिपत्र लिएका छैनन्। अन्य स्थानीय तहमा त झन हुने कुरै भएन। जिल्लाभित्र संचालित करिव ५०० देखि ७०० सम्म अटो र इ-रिक्सा संचालित छन्। तर ८० प्रतिशत भन्दा बढी चालकको चालक अनुमति पत्र लिएका छैन। 

सवारी चेक जाँचका क्रममा आधा भन्दा बढी अटो तथा इ-रिक्सा चालकको सवारी अनुमति पत्र नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक बिजय श्रेष्ठले जानकारी दिए। चालक अनुमति पत्र नभएका चालकलाई कारवाही गरिँदै आएको प्रहरी निरीक्षक श्रेष्ठले बताए। यातायात व्यवस्था कार्यालयले लाइसेन्स नखुलाइ दिँदा यो समस्या आएको उनको भनाइ रहेको छ। प्रहरी निरीक्षक श्रेष्ठले भने, ‘चालक लाइसेन्स लिन तयार छन्। तर यातायात व्यवस्था कार्यालयले लाइसेन्स खुलाउँदैन।’

यातायातले लाइसेन्स खुलाए सबै समस्याको समाधान हुने अटो तथा इ-रिक्सा व्यवसायी देवेन्द्र अर्यालले बताए। लाइसेन्सविहीन चालकहरूले सवारी चलाउँदा समस्या आएको बताउँदै व्यवसायी अर्यालले भने, ‘यातायात व्यवस्था कार्यालयले अविलम्ब लाइसेन्स खुलाउनु पर्छ। योग्य चालकलाई लाइसेन्स दिनु पर्छ।’ यता अटो तथा इ-रिक्सा चालकले पनि आफूहरूले चालक अनुमति चाहेर पनि लिन नसकेको बताए।

केही वर्ष अगाडि सवारीचालक अनुमति पत्रको लागि फारम भर्न जाँदा नियम कानुनले दिन नमिल्ने भन्दै फर्काएको चन्द्रनिगाहपुरका  इ रिक्सा चालक केदार तिमल्सिनाले बताए। लाइसेन्स लिने प्रक्रिया धेरै झन्झटिलो भएको समेत उनले बताए। यहाँका स्थानीयले चालक अनुमति पत्र बनाउनको लागि बीरगंज धाउनुपर्ने छ।

बालकले पनि हाक्छन् इ रिक्सा

चन्द्रनिगाहपुरको बजार तथा आसपास क्षेत्रमा बालकले नै इ-रिक्सा तथा अटो चलाउँदै आएकाछन्। १२/१५ वर्ष उमेरका बालकले नै निर्धक्क रूपमा इ रिक्सा चलाउँदै आएका छन्। चन्द्रनिगाहपुरबाट जुडिबेला, पौराइ, बागमती, बालचनपुर, सन्तपुर, डुमरिया लगायतका ग्रामीण क्षेत्र जाने ठाउँमा बालकले नै निर्वाध रूपमा इ रिक्सा चलाउँदै आएका छन्।

भाडा मनपरी

चन्द्र निगाहपुरदेखि ग्रामीण भेगमा संचालित अटो तथा इ रिक्साले मनपरी भाडा असुल्दै आएका छन्। तीनदेखि पाँच किलोमिटर यात्रा तय गरेको प्रतिव्यक्ति ५० रुपैयाँ लिँदै आएको जुडिबेलाका स्थानीयले बताए। राजमार्गमा ५० किलोमिटर यात्रा गरे बराबरको भाडा लिने गरेको स्थानीय दीपक कार्कीले बताए। केही वर्षअघि चन्द्रपुर नगरपालिकाले हचुवाको भरमा भाडा निर्धारण गरेअनुरुप नै अटो तथा इ रिक्साले भाडा असुल्दै आएका छन्।

दाउरा ओर्सान व्यस्त ई-रिक्सा

पूर्व-पश्चिम राजमार्गको चन्द्रनिगाहपुर-लमाहा खण्डमा हरेक बिहान दाउरा बोकेर फर्किएका इ-रिक्साको लाम लाग्छ। दिनभर यात्रु बोक्दा भन्दा धेरै कमाइ हुन थालेपछि इ-रिक्सा चालकहरू जंगल पस्न थालेका हुन्। उनीहरू दैनिक दुई टिप दाउरा ओसार्छन् र चारहजार रुपैयाँसम्म कमाउँछन्। बजारका होटल व्यवसायी र पाउरोटी कारखानाले एक रिक्सा दाउराको दुई हजारसम्म दिने गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.