|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्ट राष्ट्रका लागि जस्तोसुकै अप्ठ्यारो परिस्थितिमा पनि उभिन सक्ने राष्ट्रवादी नेता भएको बताएका छन्।

पूर्वप्रधानमन्त्री विष्टको जीवनमा आधारित पुस्तक 'कीर्तिनिधि विष्ट : प्रखर राष्ट्रवादी नेपाली नेता'को शुक्रबार लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले विष्टको राष्ट्रवादी छविको प्रसंशा गरे। पूर्वप्रधानमन्त्री वास्तवमै प्रखर राष्ट्रवादी नेता भएका भन्दै प्रधानमन्त्री ओलीले सामान्य अवस्थामा राष्ट्रवादी बन्नु र अप्ठ्यारो अवस्थामा राष्ट्रवादी हुनुमा निकै भिन्नता रहेको बताए।

प्रधानमन्त्री ओलीले विष्टलाई अप्ठ्यारो बेलामा बाघसँग कुस्ती खेलेर विजय प्राप्त गर्न सक्ने क्षमता र हिम्मत भएको व्यक्ति भएको बताए। 'राष्ट्रवादी बन्न सजिलो छ। सजिलोका बेलामा जो पनि राष्ट्रवादी बन्न सक्छ तर अप्ठ्यारो बेलामा निकै गाह्रो हुन्छ', प्रधानमन्त्री ओलीले भने, 'उहाँ बाघ नआएको बेला बाघसँग कुस्ती खेल्ने व्यक्ति होइन। बाघ आएको बेला कुस्ती खेलेर बाघलाई फिर्ता पठाउने व्यक्ति हो। उहाँ अप्ठ्यारो बेलामा पनि राष्ट्रका पक्षमा उभिने व्यक्ति हो।'

पूर्वप्रधानमन्त्री विष्टलाई महान् देशभक्त तथा राष्ट्रवादी नेताका रूपमा चिन्न सकिने भन्दै ओलीले विष्ट नेपाल र नेपालीले चिनेको राष्ट्रवादी नेता भएको बताए। विष्टसँग आफूले विद्यालयमा भेटेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले पहिलो पटक प्रधानमन्त्री भेट्दा सबै हिसाबले प्रधानमन्त्री हुन लायक व्यक्तित्वका रूपमा देखेको समेत बताए। 'मैले भेटेको पहिलो प्रधानमन्त्री उहाँ हो। प्रधानमन्त्री भएर उहाँ मैले पढेको स्कुल जानुभयो, मैले स्वागत भाषण गर्ने मौका पाएँ', उनले भने, 'मैले उहाँलाई सबै रूपमा प्रधानमन्त्री जस्तै देखे। जिउडाल, विचार, मन, उचाइ, व्यक्तित्व, भावना, दृढता सबैको उचाइ मिलेको लाग्यो।'

नेपालको उत्तरी सीमामा भारतले स्थापना गरेको चेकपोस्ट हटाउने काम गरेर पूर्वप्रधानमन्त्री विष्टले प्रधानमन्त्रीले चाहेमा राष्ट्रका लागि जस्तोसुकै काम पनि गर्न सक्छ भन्ने बलियो उदाहरण दिएको बताए। 'हामी सुस्तालगायतका सीमा क्षेत्रमा आन्दोलन गरिरहेका थियौँ', प्रधानमन्त्री ओलीले विगत स्मरण गर्दै भने, 'हामीलाई सरकारले चेकपोस्ट हटाउँछ जस्तो लागेको थिएन तर उहाँले उत्तरमा रहेको भारतीय चेकपोस्ट हटाउने निर्णय गर्नुभयो। मुख्य पक्ष देश बनाउने सोचको आवश्यकता रहेछ। प्रधानमन्त्रीले चाह्यो भने सक्दोरहेछ भन्ने हो।'

विष्टको मुख्य पक्ष भनेको देशभक्ति नै भएको भन्दै प्रधानमन्त्री ओलीले विष्टले बरु छाड्नुपरे पद छाड्छु तर चेकपोस्ट हटाउँछु भनेर देशका लागि काम गरेको बताए। कसैले मन नपराए पनि विष्टको नाम कसैले मेटाएर मेट्न नसकिने गरी योगदान दिएर गएको उनले बताए। भारतले उत्तरमा लगाएको चेकपोस्टका कारण स्वतन्त्र राष्ट्रको हैसियत कुण्ठित भएको अवस्थामा विष्टले चेकपोस्ट हटाएर राष्ट्रका लागि उच्चतहको योगदान दिएको बताए।

प्रधानमन्त्री ओलीले विष्टले नैतिकताको राजनीति गरेकोसमेत उल्लेख गरे। 'पदका लागि जे पनि गर्न तयार होइन, उहाँ देशका लागि पद छाड्न तयार हुनुहुन्थ्यो', प्रधानमन्त्री ओलीले भने, 'उहाँ र मेरो बाटो फरक भए पनि देशभक्तिको भावना एउटै थियो, त्यस्तो देशभक्तिको भावना पंचायतकालमा कीर्तिनिधि विष्टले देखाउनुभएको छ।'

कतिपय सन्दर्भमा असहमतिहरू भए पनि देशभक्तिको सन्दर्भमा पूर्वप्रधानमन्त्री विष्ट र आफ्नो भाव मिल्ने भन्दै भेट्दा आफूहरू लामो समय गफिने गरेको स्मरण गरे। 'उहाँसँग मेरा केही असहमति पनि थिए। उहाँ जस्तो व्यक्तिले लिड गर्नुपर्छ भन्ने लाग्थ्यो मलाई', ओलीले भने, 'देशभक्तिका सन्दर्भमा उहाँ र मेरो भाव मिल्थ्यो। कार्यक्रममा भेट्दा पनि हामी धेरै बेर छुट्टै कुराकानी गर्थ्यौं।'

आफू पंचायती व्यवस्थाका विरुद्धमा लड्दै गर्दा त्यही व्यवस्थाभित्र बसेर विष्टले देशभक्तिका काम गर्न सकिँदोरहेछ भन्ने उदाहरण दिएको प्रधानमन्त्री ओलीले बताए। कीर्तिनिधिले देशलाई माया गर, देशका लागि सत्यको पक्षमा काम गर भन्ने सन्देश दिएको उनको भनाइ थियो।

विष्टको जीवनको अन्त्यतिर आफू भेट्न जाँदा पनि विष्टको कुराले आफूलाई विद्यार्थीकालको स्मरण गराएको बताए। 'उहाँको जीवनको अन्त्यतिर पनि म उहाँको निवासमा पुगेर उहाँलाई भेटेँ। उहाँको कुरा सुन्दा फेरि आफूलाई कक्षा कोठामा बसेर पढिरहेको विद्यार्थी जस्तो महसुस गरेँ', प्रधानमन्त्री ओलीले भने।

परिस्थितिको बाध्यतालाई हेरेर कसरी जनताको पक्षमा काम गर्न सकिन्छ भनेर काम गर्नका निम्ति विष्टबाट सिक्नुपर्ने भन्दै ओलीले पूर्वप्रधानमन्त्री विष्टले पंचायती निरंकुशतन्त्रको समर्थक नभएर 'मोडरेट पोलिटिक्स' गरेको बताए।

सिंहदरबारमा आगलागी हुँदा तत्कालीन प्रधानमन्त्री विष्टले नैतिकताका आधारमा राजीनामा दिएका थिए। पूर्वप्रधानमन्त्री विष्टको २०७४ कार्तिक २५ गते ९१ वर्षको उमेरमा निधन भएको थियो।

विष्टको संस्मरणमा उनका छोरा विनोद विष्टले  'कीर्तिनिधि विष्ट : प्रखर राष्ट्रवादी नेपाली नेता' पुस्तक लेखेका हुन्। उक्त पुस्तकको शुक्रबार एक कार्यक्रम गरी काठमाडौंमा लोकार्पण गरिएको हो। पुस्तक नानु पन्त, कमला पाठक र रजनी उपाध्यायले प्रकाशन गरेका हुन्। 

कार्यक्रममा सभामुख कृष्णबहादुर महरा, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, शताब्दी पुरुष सत्यमोहन जोशी, प्रथम महिला राधिका शाक्य, पुराना पत्रकार भैरव रिसाल, कूटनीतिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरू, व्यवसायी अजेयराज सुमार्गीलगायतको सहभागिता थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.