|

काठमाडौं : उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले नेपालको आर्थिक समृद्धिका लागि फिलिपिन्ससँग सहकार्य गर्न चाहेको बताएका छन्। शुक्रबार फिलिपिन्सकी समकक्षी मारिया लेनोर जेरोना रोब्रेडोले शिष्टाचार भेट गर्दै उपराष्ट्रपति पुनले त्यस्तो चाहना व्यक्त गरेका हुन्।

नेपालले राजनीतिक स्थायित्व हासिल गरेर आर्थिक समृद्धिको यात्रामा अगाडि बढेको बताउँदै उपराष्ट्रपति पुनले नेपालको आर्थिक समृद्धिका लागि फिलिपिन्ससँग सहकार्य चाहेको समेत बताए। ‘हामी आर्थिक, सामाजिक रूपान्तरणसहितको समुन्नत र समृद्ध नेपाल निर्माण अभियानमा छौँ। नेपालको विकास र समृद्धिका लागि हामी सबै मित्र राष्ट्रसँग सहकार्य गर्न चाहन्छौं’, उनले भने, ‘नेपाल र फिलिपिन्स दुवै प्राकृतिक रूपमा सुन्दर मुलुक हुन्। दुई देशबीचको सहयोग र सहकार्य अझै फराकिलो बनाउनुपर्छ।’

एसिया प्रशान्त शिखर सम्मेलनमा भाग लिन नेपाल आएकी फिलिपिन्सकी उपराष्ट्रपतिले शुक्रबार दिउँसो उपराष्ट्रपतिको कार्यालय बहादुर भवन पुगेर नेपाली समकक्षीसँग शिष्टाचार भेट गरेकी हुन्। समकक्षीबीचको भेटमा दुई देशको सम्बन्ध र सहकार्यलगायतको बारेमा छलफल भएको थियो।

भेटमा उपराष्ट्रपति पुनले नेपालले कृषिको आधुनिकीकरण, पर्यटनको विकास, जलविद्युत उत्पादन तथा बिक्री, जडिबुटीको प्रवर्द्धन र भौतिक पूर्वाधार निर्माणको माध्यमबाट समृद्धि हासिल गर्न खाजेको बताए। सन् २०२० लाई नेपाल सरकारले नेपाल भ्रमण वर्ष घोषणा गरेको जानकारी गराउँदै त्यस अवसरमा नेपालको भ्रमणका लागि फिलिपिन्सका नागरिकहरूलाई आग्रहसमेत गरे।

नेपालका समकक्षीसँगको भेटमा फिलिपिन्सका उपराष्ट्रपति मारिया लेनोर जेरोना रोब्रेडोले प्राकृतिक सुन्दरताले भरिपूर्ण नेपालको भ्रमण गर्न पाउँदा आफूले गौरव महसुस गरेको बताइन्। दुई देशको सम्बन्ध प्रगाढ रहेको बताउँदै आउँदा दिनमा थप सुदृढ हुने धारणा राखिन्। नेपाल र फिलिपिन्सबीच धेरै समानता रहेको चर्चा गर्दै उनले विकास र समृद्धिका लागि सहकार्य गर्नुपर्ने बताइन्। ‘फिलिपिन्स र नेपालको धेरै समानता छन्। हाम्रो संस्कृतिमा समानता छ। हामी दुवै देशले विकासको प्रयास गरिरहेका छौँ। व्यापार घाटा जस्ता समानता पनि दुवै देशको छ’, उनले भनिन्।

फिलिपिन्सकी उपराष्ट्रपतिले राजनीतिक स्थायित्व र संविधान निर्माणका लागि नेपाललाई बधाईसमेत दिइन्। ‘यहाँहरूले नयाँ संविधान बनाउनुभयो। राजनीतिक स्थायित्व हासिल गर्नुभयो। त्यसका निम्ति बधाई छ’, उनले भनिन्, ‘नेपालको संविधानले महिला अधिकारसम्बन्धी गरेको व्यवस्था अत्यन्त प्रशंसनीय छ।’

उनले उपराष्ट्रपति पुनलाई फिलिपिन्स भ्रमणका लागि आमन्त्रणसमेत गरेको र उपराष्ट्रपति पुनले उपयुक्त समयमा फिलिपिन्स भ्रमण गर्ने बताएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्ती मगरले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.