|

पाकिस्तानको मुद्रा अमेरिकी डलरसँग झण्डै पाँच प्रतिशतले अवमूल्यन भएको पाकिस्तानी केन्द्रीय बैंक, स्टेट बैंक अफ पाकिस्तानले जनाएको छ। मुलुकले भूक्तानी सन्तुलनको अत्यधिक समस्याबाट गुज्रिरहेका समय पाकिस्तानको मुद्रा अमेरिकी डलरसँग यस वर्षमात्रै छैठौँ पटक कमजोर देखिएको हो।

पाकिस्तानी प्रधानमन्त्री इमरान खाँनले सरकार गठनका एक सय दिन पुगेको अवसरमा आफूले धेरै कुराहरूमा सुधार गरेको गर्वसाथ घोषणा गरेको भोलिपल्ट नै यहाँको केन्द्रीय बैंकले अमेरिकी डलरसँगको तुलनामा पाकिस्तानी रुपैँया अहिलेसम्मकै सबैभन्दा कमजोर बनेको बताएको छ। केन्द्रीय बैंकले राज्यद्वारा सञ्चालनमा ल्याएको मुद्रालाई अप्रत्यक्ष रूपमा कैयौ पटक अवमूल्यन गरी व्यापक रूपमा असन्तुलित बनेको भूक्तानी घाटालाई कम गर्ने प्रयास गरेसकेको थियो।

पाकिस्तानी व्यापारीले देशको मुद्रामा झण्डै पाँच प्रतिशतले गिरावट भई प्रति डलर पाकिस्तानी रूपैँया १४३ हुँदासमेत प्रधानमन्त्री खान र उनको अर्थमन्त्री असद उमरले मुद्रा सङ्कुचनलाई नियन्त्रणमा राख्ने बृहद योजना ल्याउन नसकेको भन्दै सरकारको आलोचना गरेका छन्। व्यापारीहरूले  मुलुकको आर्थिक दूरवस्थाप्रति सरकार संवेदनशील बन्न नसकेको भन्दै आलोचना गरेका छन्।

यद्यपि सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग भएको एक हप्ता लामो वार्तामा राज्यलाई आवश्यक कर्जा सहायताका लागि बृहद् योजना प्रस्तुत गर्न नसकेको आरोप पाकिस्तानी व्यापारीहरूको रहेको छ।

पूर्वक्रिकेट खेलाडीसमेत रहेका खानले प्रधानमन्त्रीका रूपमा सपथ खाएसँगै आर्थिक सुधारका लागि भन्दै सरकारको स्वामित्वमा रहेका मूल्यवान गाडी, हेलिकोप्टरलगायतका सामानको प्रक्रिया पुर्‍याएर लिलाम बिक्री गर्ने र मित्रराष्ट्रबाट कर्जा लिने र मुद्रा कोषसँग आर्थिक सुधारप्रयासका लागि संवेदनशील भै वार्ता गर्ने बताएका थिए।

'सुधारका विषयमा ठूलाठूला कुरा गरे पनि अर्थतन्त्रलाई थप कमजोर हुनबाट जोगाउन प्रष्ट निर्देशन नआएको आइएमएफसँग थप कर्जा लिन वा कर नीतिलाई खानको कार्यकालमा पनि निदिष्ट लक्ष्य प्राप्त गर्नेगरी अघि बढाउन नसकेकोले पाकिस्तानी अर्थबजार निराश देखिएको छ,' एलिक्जिर सेकुरिटीका निर्देशक हमाद इकवालले बताए। 

पाकिस्तानी रुपैँयाले वर्षको शुरूदेखि अहिलेसम्म आफ्नो मूल्यको झण्डै एक तिहाइ मूल्य गुमाएको छ। पाकिस्तानमा विदेशी मुद्रा सञ्चितिको स्थितिमा निकै कमी आएका कारण इश्लामिक गणतान्त्रिक मुलुकमा मुद्रास्फितिको समस्या देखिएको छ। यस वर्ष पाकिस्तानमा विदेशी मुद्राको सञ्चितिमा करिब ४० प्रतिशतले गिरावट आएको छ।

पाकिस्तानी सरकारले अक्टोबरमा प्रधानमन्त्रीको साउदी अरबमा भएको भ्रमणमा पछिल्लो आर्थिक अवस्थालाई हेर्दै साउदी सरकारसँगबाट एक वर्षे सम्झौता गरी करिब छ अर्ब अमेरिकी डलर लिने सहमति गरेको छ।  यो कर्जा सहयोगका बाबजुद पनि पाकिस्तानी अर्थ मन्त्रालयले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग दीर्घकालीन आर्थिक योजनाअन्तर्गत वृहद् सहयोगका लागि आग्रह गरिरहेको छ।

पाकिस्तानले सन् १९८० देखि नियमितरूपमा आर्थिक कर्जा लिँदै आएको छ र खानको नयाँ सरकारले पनि अर्थतन्त्र सुधारका लागि कार्यक्रमसहित कर्जा लिन कोषलाई आग्रह गरिरहेको छ।

इश्लामावादले महत्वाकांक्षी भौतिक संरचना निर्माणका लागि विभिन्न योजनामार्फत अर्बौं डलर बराबरको चिनियाँ कर्जा लिएको छ। अन्तर्राष्ट्रिय मुद्रा कोषको सबैभन्दा ठूलो दाता अमेरिकाले कोषसँग लिएको ऋण सहयोग बेइजिङको जमानत रकम तिर्न प्रयोग गर्नसक्ने आशङ्कामा पाकिस्तानलाई कर्जा दिन आनाकानी गरिरहेको छ।

मुद्रा कोष तथा विश्व बैंकको प्रक्षेपणमा पाकिस्तानको अर्थतन्त्रमा आर्थिक वर्षको अन्त्य अर्थात् सन् २०१९ को जुनसम्ममा चारदेखि ४.५ प्रतिशतको आर्थिक वृद्धिदर रहने देखाइएको छ, जुन दर गत आर्थिक वर्षमा ५.८ प्रतिशत रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.