|

नवलपरासी : पश्चिम नवलपरासीमा दिन प्रतिदिन उद्योगहरू थपिने क्रम जारिरहेको छ। अहिलेसम्म जिल्लाको रामग्राम नगरपालिकाभित्र मात्र झण्डै २५ ठूला तथा बहुराष्ट्रिय कम्पनीका उद्योगहरू संचालनमा रहेका छन्।

संचालनमा रहेका उद्योग मध्ये एकदुई भन्दा अरु अहिलेसम्म नगरपालिकामा दर्ता भएका छैनन्। नगरमा दर्ता नहुँदा स्थानीय तहको करको दायरामा समेत उद्योग तथा कम्पनीहरू आउन सकेका छैनन्। स्थानीय सरकार संचालन ऐनमा स्थानीय तहभित्र रहेको जुनसुकै उद्योग तथा व्यवसाय अनिवार्य दर्ता हुने प्रावधान रहेको छ। तर ठूला र बहुराष्ट्रिय उद्योगहरू आफूहरू कम्पनी रजिस्टारको कार्यालय र उद्योग मन्त्रालयमा दर्ता भएको भन्दै नगरपालिकामा दर्ता हुन मानिरहेका छैनन्। 

नगरभित्र संचालनमा रहेका उद्योगहरू नगरमा दर्ता नहुँदा रामग्राम नगरपालिकाले वार्षिक ७० देखि ८० लाख रुपैयाँ राजश्व गुमाउँदै आएको छ। पछिल्लो समय राजश्व संकलनमा बृद्धि गर्न नगरपालिकाले नयाँ रणनीति अपनाउने तयारी गरेको छ। कर बृद्धि नगरी करको दायरा बढाएर राजश्वमा बृद्धि गर्नका लागि त्यस क्षेत्रमा काम गर्न स्पेसल टास्क फोर्स टिम गठन गरिने नगर प्रमुख नरेन्द्र गुप्ताले बताए। 

नगरपालिकाले करको क्षेत्र पहिचान गर्न र नागरिकलाई कर शिक्षा प्रदान गर्नका लागि स्पेसल टास्क फोर्सले काम गर्ने गरी तयारी थालेको हो। शाखा अधिकृतसँगै जनप्रतिनिधि उद्योग र व्यवसायिक प्रतिष्ठान मै गएर नगरपालिकामा दर्ता गर्नका लागि अनुरोध गर्नेदेखि तत्काल टिमले नै दर्ता गरिदिने गरी काम अगाडि बढाइने बताइएको छ। 

नगरपालिकाले परिचालन गर्ने टास्क फोर्स ले नयाँ करका क्षेत्र समेत पहिचान गरेर नगरको आम्दानीको स्राेत बढाउने काम गर्नेछन्। रामग्राम नगरपालिकाले नगरभित्र रोजगारी बढाउनका  लागि उद्योग संचालनमा ल्याउनका लागि उद्योग स्वागत कार्यक्रम समेत अगाडि सारेको छ। नगरपालिकाले नगरसभाबाट पारित गरेरै चैत्र मसान्तसम्म दर्ता हुन आउने तथा उद्योग तथा ब्यवसायलाई करमा छुट दिने निर्णय गरेको छ। 

नगरपालिकाले कृषि क्षेत्रमा ८० प्रतिशतसम्म छुटको गरेको छ। यस अघि किसानले कृषि क्षेत्रमा लगाएको कर बढी भएको भन्दै नगरपालिकामा कर घटाउनका लागि आग्रह गरेपछि नगरपालिकाले नगरसभाबाट संशाेधनमार्फत कृषि क्षेत्रमा ८० प्रतिशत कर छुट दिने निर्णय गरेको हो। नगरभित्र अहिले करिव ७० प्रतिशत कृषि भूभाग रहेको नगर प्रमुख गुप्ताले बताए। 

रामग्राम नगरपालिकामा हाल सबै ठाउँमा सडक संजाल पुगिसकेको र अधिकांस सडक कालोपत्रे समेत भइसकेको छ। केही सडक ग्रावेल गरिएको अवस्थामा रहेको छ। नगर प्रमुख नरेन्द्रकुमार गुप्ताले आगामी तीन वर्षभित्र नगरभित्रका कालोपत्रे हुन बाँकी रहेका सवै सडक कालोपत्रे गरेर सक्ने दावी गरेका छन्। गुप्ताले अबको ३ वर्षमा नगरपालिकाभित्र कतै पनि कच्ची र ग्रावेल सडक नदेखिने बताए। 

नगसरसभाले न्यायिक समिति पुनर्गठन

त्यसैगरी रामग्राम नगरपालिकाले चौथो नगरसभामार्फत न्यायिक समितिमा समेत हेरफेर गरेको छ। यस अघि उपप्रमुख रम्भा कुँवरको संयोजकत्वमा कार्यपालिका सदस्य अनिता तिवारी र सुनिता सुवेदी श्रेष्ठ सहितको तीन सदस्यीय समितिलाई फेरबदल गरेको हो। यस अधिको न्यायिक समिति कार्यपालिकाले गठन गरेकोमा नेपालको संविधान २०७२ अनुसार न्यायिक समितिको गठन नगरपालिकाले गर्ने भन्ने उल्लेख भए बमोजिम चौथो नगरसभाले न्यायिक समिति पुनर्गठन गरेको हो। 

नगरसभाले पुरानो न्यायिक समितिले हालसम्म गरेका सम्पूर्ण काम कारबाही र निर्णयहरू समेत अनुमोदन गरेको छ। नव गठित न्यायिक समितिको संयोजक नगर उपप्रमुख रम्भा कुँवर र सदस्यमा कार्यपालिका सदस्य अनिता तिवारी र राजु देवान रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.