|

हेटौँडा : वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध नेपाल तरुण दल मकवानपुरले हेटौँडामा विरोध जुलुस निकालेको छ। हेटौँडा–२ स्थित कांग्रेस पार्टी कार्यालयबाट सुरु भएको विरोध जुलुस हेटौँडा बजार परिक्रमा गरी जिल्ला प्रशासन कार्यालय मकवानपुरअगाडि पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै तरुण दल मकवानपुर सभापति ईश्वर पाठकले दुईतिहाइ नेतृत्वको वर्तमान सरकारले देशमा सुशासनको प्रत्याभूति दिलाउन नसकेको भन्दै विरोध गरे। उनले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेको कारण सरकारविरुद्ध देशभर जनमत सिर्जना भएको दाबी गरे ।

उनले वाइडबडी खरिदमा भएको घोटला भएको दाबी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई १८ करोड रुपैयाँ बराबरको गाडी किन्ने निर्णयको कारण वर्तमान सरकार अलोकप्रिय भएको दाबी गरे। ‘दुई तिहाइको दम्भ देखाउन ओली सरकारको कारण  लामो संघर्षपश्चात् प्राप्त संघीयतासहितको गणतन्त्र धरापमा परेको छ’, उनले भने।

तरुण दलले विभिन्न मागसहितको ज्ञापनपत्रसमेत जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बुझाएको तरुण सचिव सचित थापाले जानकारी दिए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.