|

बैतडी : जिल्लामा सञ्चालित जिपमा थपिएका अवैध सिटहरू ट्राफिक प्रहरीले हटाएसँगै यात्रुलाई सास्ती भाेग्नुपरेकाे छ। ट्राफिक प्रहरीले बोलेरो जिपको पछाडिको सिट हटाएसँगै यात्रुसँग दोब्बर भाडा तिरेर यात्रा गर्न बाध्य भएका छन्।  

सवारीसाधन संचालकले नियमविपरीत जिपका पछाडि सिट थपेको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालयले जिल्लामा चल्ने ८० भन्दा बढी जिपहरूको पछाडिका सिट हटाएका हो। यसअघि बोलेरो जिपले १५ जनासम्म यात्रु बोक्ने गरेका थिए। तर अहिले प्रहरीले पछाडिका जिपका सिट हटाउँदा ५ जना यात्रु मात्र बोक्नुपर्ने बाध्यता सवारी चालकलाई भएको छ।

एउटा जिपमा ५ जना मात्र यात्रु बोक्नुपर्ने भएकोले आजभोलि आवतजावत गर्नको लागि सवारीसाधन पाउनै मुस्किल भएको दशरथचन्द नगरपालिका ४ का चन्द्र प्रकाश लोहियाको भनाई रहेको छ। कहिँकतै जान परे गाडी कुर्दा-कुर्दा थाक्नु पर्ने अवस्था आए पनि सवारीसाधन नपाइने गरेका उनको गुनासो रहेको छ। मुख्य ठाउँबाट सवारीसाधन प्याक भएर आउने गरेकोले अन्य ठाउँमा चालकले जिप नरोक्ने भएकोले निकै समस्या भएको दोगडाकेदारका गणेश विष्टको भनाइ छ।  

सवारीसाधान नपाइएकै कारणले घण्टौँ हिँड्नुपर्ने समस्या भएको सुर्नया ३ कि पवित्रा भट्टले बताइन्। पाइएका सवारीसाधनले पनि चर्को भाडा लिने गरेका उनी बताउँछिन्। बैतडीका राजमार्ग तथा ग्रामीण क्षेत्रका १ दर्जन बढी सडकमा बोलेरो जिप संचालनमा रहेका छन्। गोकुलेश्वरदेखि गन्ना सम्मको भाडा १०० भए पनि आजभोलि जिप संचालकहरूले यात्रुबाट २५० सम्म लिने गरेका स्थानीय गंगासागर जोशीको गुनासो रहेको छ।

सीमित मात्रामा चल्ने जिपले गर्दा यात्रु महँगो भाडा तिरेर पनि यात्रा गर्न बाध्य भएका जोशीले जानकारी दिए। जिप संचालकले बढी भाडा लिएको भन्ने सुन्नमा आएको बैतडीका प्रमुख जिल्ला अधिकारीले चन्द्रप्रसाद गैरेको भनाइ रहेको छ। बढी भाडा लिएको भनेर कोही आएको छैन। उनले भने,'प्रमाणसहित कोही आएमा कारबाही गर्छौं।' 

सम्भावित दुर्घटनालाई कम गर्नपछि थप गरिएका सिट हटाइएको जिल्ला ट्राफिक  प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी सहायक निरीक्षक आकाश रावलले जानकारी दिए। दुर्घटनामा कमी ल्याउने उद्देश्यले आफूहरूले यो अभियान थालेको उनको भनाइ छ। पाँचसिटे जिपमा १४ जनासम्म यात्रुसँगै सामान बोक्दा दुर्घटनाका घट्ना धेरै हुने गरेका प्रहरीको भनाइ छ। पाँच सिटको लागि पास भएका जिप दुर्घटनामा पर्दा पछाडिको यात्रुले क्षतिपूर्ति पनि नपाउने भएकोले नागरिकको सहजताको लागि जीपको पछाडिका सिटहरू हटाउन सुरु गरिएको प्रहरीले जनाएको छ।

पहिले यस्ता जिप दुर्घटनामा पर्दा यातायात कम्पनीले क्षतिपूर्ति दिने व्यवस्था भए पनि सरकारले यातायातमा सिन्डिकेट हटाएपछि यात्रुले क्षतिपूर्ति पाउन सकेका छैनन्। सरकारले पास भएका सिटका यात्रु दुर्घटनामा पर्दा मात्र क्षतिपूर्ति दिने गर्दछ। यता, यातायात व्यवसायीले भने १४ जनायात्रु बोक्ने जिपमा ५ जना यात्रु मात्र बोक्न पाउने भएपछि व्यवसाय गर्न कठिन हुने बताउँदै आएका छन्। 

जिपको पछाडिका सिट हटाउँदा कम यात्रु बोक्नुपर्ने र कम यात्रु बोक्दा तेलको पैसासम्म नपुग्ने भएकोले आफूहरू बढी भाडा लिने गरेको यातायात व्यवसायीको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.