|

पोखरा : पर्यटनकै राजधानी  भनिने पोखरालाई सात तालको शहर पनि भनिन्छ। यहाँ पर्यटकको आगमन तालकै माध्यमले पनि बढेको छ। फेवा, रुपा, बेगनास जस्ता चर्चित तालका किनारहरू दैनिक सयौँ संख्याका आन्तरिक तथा बाह्य पर्यटकले भरिएका छन्। तर पोखरा भन्दा केही टाढा कास्की कै अन्नपूर्ण गाउँपालिकामा पर्ने ‘हिडन लेक’ भने पर्यटकलाई आफ्नो सुन्दरता देखाउन पर्खिरहेको छ। 

पर्यटकीय सम्भावना बोकेको तर ठोस योजना, पूर्वाधार र प्रचार-प्रसारको कमीले प्राकृतिक सौन्दर्यले भरिपूर्ण 'हिडन लेक' ओझेँलमा परेको हो। चारहजार ८०० मिटर उचाइको हिडन लेक माछापुच्छ्रे हिमालको काखमै अवस्थित छ। माछापुच्छ्रेको काखमै रहेको हिडन लेकबाट निलगिरी, अन्नपूर्ण, धौलागिरी, मनास्लु हिमाललाई मिलेका सेता दन्त लहरझैं अगाडि नै देख्न सकिन्छ। हिडन लेकबाट सूर्योदय र सूर्यास्तको मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ। तालमा माछापुच्छ्रे धौलागिरीको रमणीय छायाँ देखिन्छ।

यस्तो छ जाने बाटो र खर्च

४८०० मिटरको उचाइमा रहेको हिडन लेक पुग्न पोखराबाट हिँडेरै जाने हो भने एक हप्ता लाग्छ। तर त्यहाँ जान घान्द्रुकसम्म गाडीमै जान सकिन्छ। घान्द्रुकसम्म गाडीमा जाने हो भने दुईदिन हिँडेपछि हिडन लेकमै पुगिन्छ। गाडीमा जाँदा पहिलो दिन घान्द्रुकमा बास बस्न पुगिन्छ। पर्यटकीय गाउँ घान्द्रुक हुँदै दोस्रो दिन अन्नपूर्ण सर्किटककै अर्काे पर्यटकीय गन्तव्य टाढापानीमा बास बस्न पुगिन्छ। त्यहाँबाट भोलिपल्ट बेलैमा हिडन लेकमा पुग्न सकिन्छ।

बास बस्नको लागि स्थानीयले होटल सञ्चालनमा ल्याएका छन्। हिडन लेक पुगेर फर्किँदा नेपालीलाई १० हजार रुपैयाँ खर्चले पुग्ने अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवर बताउँछन्। नजिकैको जंगलमा पाइने वन्यजन्तु, पंक्षी, जडिवुटी, वनपैदावार, भेँडा, चौरीका गोठ हिडन लेक जाँदा देखिने थप आकर्षण हो। 

यस्तो छ गाउँपालिकाको योजना

सामान्य प्रचार-प्रसारमा मात्रै गत वर्ष हिडन लेक घुम्नका लागि ७०० आन्तरिक तथा बाह्य पर्यटक गएको गाउँपालिका प्रमुख कुँवर सम्झन्छन्। ‘प्रचार-प्रसार भएकै छैन,’ उनले भने, ‘गत वर्ष लेककैनजिक बस्नको लागि टहराहरू बनाइयो। आफ्नो ठाउँबाट गर्ने हल्ला खल्ला गरियो ७०० पर्यटक त्यहाँ पुगे। त्यसैले यो वर्ष यसलाई पर्यटकको महत्वपूर्ण गन्तव्य बनाउनुपर्छ भनेर लागिरहेका छौँ।’

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.