|

काठमाडौं : राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)भित्र नेतृत्व परिवर्तनको विषयलाई लिएर असन्तुष्ट बनेका नेता महन्थ ठाकुरलाई सर्वोच्च नेता बनाइने तयारी भएको छ। मंसिर ४ गते अध्यक्ष मण्डलको संयोजक परिवर्तन गरेपछि असन्तुष्ट नेता ठाकुरलाई पहिलो मर्यादासहितको सर्वोच्च पद दिने तयारी भएको राजपा स्रोतले बताएको छ। 

उनलाई संयोजकबाट हटाएर राजेन्द्र महतोलाई संयोजक बनाएसँगै आफू निकट नेताबाट पार्टी फुटाउने धम्की दिँदै उनी नेतृत्व दबाब दिँदै आएका थिए। 
उनी पार्टीको बैशाखमा तोकिएको महाधिवेशनसम्म संयोजक चलाउन चाहन्थे तर अध्यक्ष मण्डलका चार सदस्यले बहुमतले संयोजकबाट हटाएपछि ठाकुर निकै तनावमा थिए। उनको साथमा अध्यक्ष मण्डलका सदस्य अनिल झा मात्र थिए। झा पनि स्वार्थमा ठाकुरको साथमा पुगेको राजपा स्रोतले बताएको छ। संयोजकबाट हटाइएपछि ठाकुरले पटक पटक भारतीय दूतावास गएको पनि स्रोतले बताएको छ। 

पार्टीभित्र सबैभन्दा ‘सिनियर’ नेता आफू नै रहेका कारण संयोजकबाट हटाइएपछि उनी असन्तुष्ट थिए। यसबीचमा उनको निवासमा संयोजक महतो पटक पटक पुगे तर उनी बैठक बस्न पनि तयार भएनन्। महतोले त्यसबीचमा अध्यक्ष मण्डलको बैठक दुई पटक बोलाए तर शुक्रबार बिहानै महतो एउटा नयाँ प्रस्ताव लिएर ठाकुरकहाँ पुगे। त्यो प्रस्ताव थियो, ठाकुरलाई पहिलो मर्यादाको नेता बनाउने। 

यो निर्णय सुनेपछि ठाकुर बैठकमा आउन तयार भए तर बैठकमा आउनुअघि उनी भारतीय दूतावास पुगेको राजपा स्रोतको दाबी छ। ‘उहाँलाई पहिलो मर्यादाको नेता बनाउने तयारी भएको अध्यक्ष मण्डलका पाँच जनाबाहेक कसैलाई थाहा छैन’, राजपा स्रोतले भन्यो, ‘फेरि बिग्रन्छ भन्ने हिसाबले बाहिर हल्ला नगरेको हो।’ तर शुक्रबार ठाकुरको स्वास्थ्य अवस्था ठीक नभएकाले बैठक बस्न सकेन। ‘बैठकमा म नजाँदा गलत सन्देश जान्छ भनेर आएको हुँ’, ठाकुरलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘अहिले अनौपचारिक छलफल गरौँ। म उपचार गरेर आएपछि बैठक बसौँ।’

ठाकुर आइतबार उपचारका लागि दिल्ली गएका छन्। उनी आएपछि बस्ने बैठकले पहिलो मर्यादाको सर्वोच्च नेता घोषणा गर्ने राजपाको तयारी छ। तर पार्टीको विधानमा भने संयोजक नै सबैभन्दा पहिलो मर्यादामा रहने व्यवस्था छ। ‘सबै विषय विधानमा समेटर साध्य पनि हुँदैन’, राजपा स्रोतले भन्यो, ‘यो व्यावहारिक कुरा भएकाले मिलाएर अघि बढ्ने हो।’

ठाकुरलाई अध्यक्ष मण्डलमा रहेर आफूखुसी गरेको आरोपमा संयोजकबाट हटाइएको थियो। यसअघि अध्यक्ष मण्डलका नेताहरूबीच महाधिवेशनपछि पनि अध्यक्ष मण्डल राख्ने र महाधिवेशनमा राजेन्द्र महतोलाई नेतृत्वका लागि अघि सार्ने सहमति भएको थियो। ठाकुरलाई भने पार्टी संसदीय दलको नेता बनाइने र महाधिवेशनसम्म संयोजक बनाइने सहमति भएको थियो। अन्तिम समयसम्म पनि संसदीय दलको नेताका लागि महतोले पनि प्रयास गरिरहेका थिए। 

ठाकुरले अन्तिम समयमा महाधिवेशनपछि नेतृत्व दिन तयार भएको बताएपछि महतो संसदीय दलको नेता छाड्न तयार भए। ‘उहाँलाई नै महाधिवेशनसम्म संयोजक मानेर जाने सहमति भएको थियो’, महतो समूहका एक नेताले भने, ‘तर बीचमा आफूखुसी गर्न थाल्नुभयो। महाधिवेशनमा पनि आफू नै नेतृत्व गर्ने तयारी गर्नुभयो। त्यसैले हामी सहमति तोड्न बाध्य भयौँ।’

मंसिर ४ गते बसेको बैठकमा महतोसहित शरदसिंह भण्डारी, महेन्द्र राय यादव र राजकिशोर यादव ठाकुरका विरुद्ध उभिए। बहुमत सदस्य आफ्नो विपक्षमा उभिए पनि असहमतिका बाबजुत ठाकुर विज्ञप्तिमा हस्ताक्षर गर्न बाध्य भए। त्यसपछि ठाकुर निकट नेताहरूले पार्टीमा सहमतिविपरीत महतोलाई संयोजक बनाइएको भन्दै विवाद सुरु गरे तर पार्टीभित्र कुनै विवाद नरहेको अध्यक्ष मण्डलका संयोजक महतो बताउँछन्। बाहिर मिडियामा चर्चा भएजस्तो पार्टीभित्र कुनै विवाद नरहेको संयोजक महतोको दाबी छ।

‘पार्टीभित्र कुनै विवाद छैन। संयोजक परिवर्तन पार्टीको वैधानिक व्यवस्थाअनुसार नै हो। त्यो पनि ठाकुरजीको बैठकको निर्णयबाट नै हो। मिडियामा आएजस्तो केही विवाद छैन’, उनले भने, ‘पार्टीको हित नचाहने केही साथीहरूले हल्ला मच्चाएका मात्र हुन्।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.