|

कालिकोट : नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले स्थानीय तहहरूले जनताबाट चर्को कर असुलेर भ्रष्टाचार गरेकोले आफूहरूले जनसरकार बनाएर भ्रष्टाचार गर्ने जनप्रतिनिधिबाट क्रान्तिकारी कर उठाउने बताएका छन्।

बुधबार कालिकोटमा हुने आमसभालाई सम्बोधन गर्न आइपुगेका विश्वकर्माले सदरमुकाममा गरिएको नागरिक अभिनन्दन कार्यक्रममा भ्रष्टाचार गर्ने जनप्रतिनिधिबाट क्रान्तिकारी कर उठाउने बताएका हुन्। स्थानीय तहका सरकार बनेपछि जनताले समृद्धि आउँला भनेर आशा गरेका तर जनप्रतिनिधिले केवल जनतामा कर थुपारेर भ्रष्टाचार गरेकाले आफूहरूले भ्रष्ट जनप्रतिनिधिबाट क्रान्तिकारी कर उठाउने बताए।

‘सरकारको काम जनताको सेवा सुविधा वृद्धि गर्ने हो, सेवा दिने हो’, उनले भने,‘अहिलेका जनप्रतिनिधि भ्रष्टाचारी भए। जनतालाई करको मारमा पारे। यिनीहरूलाई हामी जनसरकार बनाएर क्रान्तिकारी कर लगाउँछौं।’ नेपालमा अहिले कम्युनिष्ट नामधारीको सरकार मात्र रहेको र सरकारले कुनै पनि राम्रो काम गर्न नसकेको विश्वकर्माले बताए। ‘अहिले याे सरकारका पालामा हत्या, हिंसा र बलात्कार घटना बढेका छन्। ती सरकारकै संग्लनतामा हुने गरेका छन्।’ उनले भने,‘कंचनपुरमा भएको निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटना सयदिन बढी बित्दा पनि पत्ता लगाउन सकेन। त्यो घटनामा को होलान् अपराधी आफै थाहा पाउनुहोस्।’

सरकार देश र जनताको काम गर्नभन्दा धर्म प्रचारमा लागेको विश्वकर्माको आरोप थियो। ‘ओली सरकार जनताको काम गर्न छाडेर अहिले धर्म प्रचार गर्न लागेको छ’, उनले भने, ‘हेर्दै जानुभयो भने यो सरकारलाई कसले चलाएको छ भन्ने पत्तै पाउन गाह्रो छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.