|

काठमाडौं : २०१७ साल पुस १ गते राजा महेन्द्रले बिपी कोइराला लगायत कांग्रेस नेता दिवानसिंह राईलाई पनि जेल चलान गरेका थिए। बिपी कोइराला जेलमा पनि अध्ययन र लेखनमा व्यस्त थिए। उनै साहित्यिक व्यक्तित्वसँग २०२५ सालसम्म ८ वर्ष सुन्दरीजल जेलमा बसेका राईले २ वटा उपन्यास लेखेका थिए।

जसमध्ये 'निर्दोष हत्या' २०३० सालमा प्रकाशित भएको थियो भने 'रिकुटे' पाण्डुलिपीमै सिमित भएको थियो। जुन पाण्डुलिपी राईकी छोरी एवम् नेपाली कांग्रेसकी सांसद लक्ष्मी राईको हातमा पर्‍यो र उनले उक्त उपन्यास प्रकाशन गर्ने निणर्य गरिन्।

बिहीबार उक्त उपन्यास राजधानीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विमोचन गरे। भोजपुरमा जन्मिएका राई २००७ सालमा नेपाली कांग्रेसमा लागेर प्रजातन्त्रका लागि लडेका थिए। बिपी कोइराला प्रधानमन्त्री भएका बेला राई सहायक गृहमन्त्री भएका थिए। पछि राईलाई २०३१ सालमा मोरङको एउटा जंगलमा हत्या गरिएको थियो।

साहित्यकार शैलेन्द्र शाकारले दिवानसिंह राईबारे भने ‘सन् १९३९देखि १९४५ सम्म चलेको विश्व युद्धमा लाहुरेका रुपमा लडेका राईले गोरखा सैनिकका रुपमा महत्वपूर्ण भूमिका खेलेका थिए।’ बिपी कोइरालाको चर्चित उपन्यास ‘सुम्निमा’को किराती सौन्दर्यका बारेमा बिपीलाई पनि राईले नै दिएको जानकारीका बारेमा लेखिएको उपन्यास भन्ने गरिन्छ।

उपन्यास 'रिकुटे' का सम्पादक हरि अधिकारीले राईको उपन्यासले नेपाली उपन्यासको क्षेत्रमा आञ्चलिक उपन्यासको परम्परालाई पूर्वि पहाड र किराँत संस्कृतिसँग जोडेको बताए। उनका अनुसार ‘उपन्यासले नेपालका त्यतिबेलाको पूर्वी पहाडी भेगको जीवन्त चित्रण गरेको छ। राई नेपाली कांग्रेसका नेता भएपनि उपन्यास राजनीतिबाट टाढा रहेको र नित्तान्त आख्यान रहेको छ।’

सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राईलाई मोरङको एउटा झोडामा अमानवीय तरिकाले हत्या गरियो। अब यस्ता मर्ने र मार्ने कार्यको अन्त्य हुनुपर्छ।’ साथै देउवाले राईको उपन्यास नेपाली इतिहासको ठूलो सम्पत्ति भएको बताए। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राईको साहित्यिक र राजनीतिक व्यत्तित्वमाथि धारण राखेका थिए।

२८० पृष्टको 'रिकुटे' उपन्यासको मूल्य ३७३ रहेको छ। हरि अधिकारीले सम्पादन र जीके पोख्रेलको भाषा सम्पादन रहेको उपन्यासलाई शिखा बुक्सले प्रकाशन गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.