|

काठमाडौं : बलिउड नायिका सन्नी लियोनले अहिले नेपाली फिल्ममा समेत काम गरिसकेकी छिन्। उनले 'पासवर्ड' नामक नेपाली फिल्ममा आफ्नो नृत्य प्रस्तुत गरेकी छिन्। सन्नी नाचेको 'सन्नी हो नाम मेरो' बोलको गीतमा अर्जुन पोखरेलले संगीत दिएका छन्। सन्नीले यस गीत मन परेको भन्दै ट्विट पनि गरेकी थिइन्।

नेपाली फिल्ममा हालसम्मकै सर्वाधिक बजेटमा निर्माण गरिएको भिडियोमा विष्णुदेभाले नृत्य निर्देशन गरेका छन्। विष्णुदेभाले सलमान खानदेखि शारूख खान, अक्षयकुमारजस्ता बलिउड स्टारका फिल्महरूमा नृत्य निर्देशन गरिसकेका छन्। उनले कहलिएका स्टारलाई नचाएका छन्।

गीतको छायांकनमा सन्नी सात जनाको टिम लिएर लण्डन पुगेकी थिइन्। यस गीतमा सन्नीलाई दुई सय बढी डान्सरले साथ दिएका छन्। भारत र बेलायतका नृत्याङ्गनाहरू गीतमा सन्नीसँगै फिचर छन्।

सन्नीले दुई करोड भारतीय रुपियाँमा टिमसहित सम्झौता गरेर नेपाली फिल्ममा नृत्य गर्न तयार भएकी थिइन्। साढे चार मिनेटको गीतमा कोरियोग्राफी गर्न सात जनाको टिमसहित विष्णुदेभा सन्नीसँगै लण्डन पुगेका थिए।

यसै बीचमा निर्माण युनिटले उक्त गीत छायांकनको केही तस्बिरहरू सार्वजनिक गरेको छ। फिल्म टिमले लुक्स आउट नगर्ने भन्दै फिल्ममा समावेश अन्य नेपाली कलाकारहरूको तस्बिरहरू भने 'रिभिल' गरेको छैन। 

फिल्मका निर्देशक सम्राट बस्नेतले 'पासवर्ड'को कथा र पटकथाले गरेको मागअनुसार नै आफ्नो फिल्ममा सन्नीलाई नृत्य गर्न भारतबाट लण्डन झिकाएको बताए। दुई दर्जनबढी फिल्ममा द्वन्द्व निर्देशन गरेका सम्राटको यो डेब्यु निर्देशन हो।

एक्सन थ्रिलर जनराको फिल्ममा विक्रम जोशी (विक्की), अनुपविक्रम शाही, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, विक्रान्त बस्नेत, रवीन्द्र झा, प्रवीण खतिवडा, लिशा सुनार, परी रानालगायतको अभिनय रहेको छ। 'एबी इन्टरनेशनल'को ब्यानरमा बनेको फिल्मको प्रदर्शन मिति तय भइसकेको छैन। विक्रम जोशी, हिरल जोशी र अमित बस्नेतले निर्माण गरेको फिल्ममा सौरभ लामाको छायांकन रहेको छ। एलिश अधिकारी फिल्मका मुख्य सहायक निर्देशक हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.