के हो समस्या?

|
फोटो : दीपक केसी

काठमाडौं : श्रम विभागको ब्लक 'बी'मा एक जना कर्मचारी माइकिङ गर्दै बोलाइरहेका छन्- इशारावाल अन्सारी ! इशारावाल अन्सारी !! 

दर्जनौ मान्छेहरुको भीडबाट एक जना व्यक्तिले हात उठाउँछ अनि त्यो हुल नै भन्यो, छ...छ...। मख्ख पर्दै अगाडि जान्छन् उनी, ठूलै जित हासिल गरेजस्तै उसलाई थमथमाउँदै सबैले बधाई दिन्छन्।

शुक्रबार बिहान १०:२० बजे हामी श्रम विभाग ताहाचल पुग्दा थुप्रै मान्छेहरु बधाई खाँदै थिए र बधाई दिँदै थिए। बधाई खानु र बधाई दिनुको कारणबारे बुझ्दा थाहा भयो १५/२० मिनेटमा हुनुपर्ने काम चार दिनको प्रतिक्षापछि सम्पन्न भएको रहेछ। चार दिनसम्म धाउँदा श्रम स्वीकृति पाउन सफल भएकाहरुको अनुहारमा छुट्टै चकम देखिन्थ्यो मानौ उनीहरुले ठूलै युद्ध जितेका छन्। तर, केहीको अनुहार भने मलिन। उनीहरुको अनुहारमा श्रम स्वीकृति पाएकोमा कुनै खुसी थिएन।

ठूलो मेहनतपछि श्रम विभाग अन्तर्गतको ब्लक 'बी'मा छिर्न पाएका हामी त्यहाँ गएर फोटो खिच्दै गर्दा एक व्यक्ति कालो मुख लगाएर हामी सामू आए। 'तपाईँ पत्रकार हो? बरबाद भयो हजुर फेरि अर्को टिकट काट्नु पर्ने भयो, फ्लाइट छुट्यो।'

महोत्तरीका शुलमानशफी धोबीले कतार जानको लागि बिहीबार बेलुका साढे १० बजेको टिकट काटेका उनलाई श्रम विभागले शुक्रबार बिहान १० बजे मात्रै श्रम स्वीकृति दिएपछि फ्लाइट छुटेको रहेछ।

यसभन्दा अघि दुई पटक कतार गएका उनी काठमाडौंमा एक दुई दिन काम भएको कारण गत सोमबार काठमाडौं आएका थिए। श्रम स्वीकृति गराएर मात्रै अरु काम सक्ने उद्देश्यले उनी मंगलबार नै श्रम विभाग पुगे। मगलबार बिहान सात बजेदेखि बेलुका ११ बजेसम्म श्रम विभागमै बसे। 'मंगलबार म यहाँ आएको हुँ एकैछिनमा हुन्छ भन्छन्, मंगलबार पर्खे, बुधबार बिहानै पुगेँ दिनभर पर्खे भएन, बिहीबार त होला भनेर बिहानै पुगे साँझ ७ बजेसम्म त आश थियो स्वीकृति पाइन्छ र फ्लाइट भेट्टाउन जाउँला भन्ने तर पालो आएन बरबाद भयो', उनले भने।

अब अर्को टिकट काट्नु पर्ने होला पैसा छैन, पैसा कहिले खोज्ने पैसा पायो भने पनि टिकट कहिलेलाई पाइने हो बरबाद भयो हजुर' रुन्चे अनुहार लगाएर उनले भने। श्रम स्वीकृति पाउन किन ढिला भएको हो? उनले कुनै कारण थाहा पाउन सकेनन्। जसलाई सोधे पनि अब होला भन्छन् उनी त्यही विश्वास गरेर प्रतिक्षा गरिरहे।

यस्तैमा हामी भएकै ठाउँमा अर्का एक जना आए 'र भने सहयोग गर्नु पर्यो हजुर।' महोत्तरीका धोबी भन्दा केही जानकारी राखेका सिन्धुपाल्चोकका पुष्पराज दुनुवार अझ धेरै समस्यामा परेका रहेछन्।

छुट्टीमा साउदीबाट आएका दुनुवार २२ गते नै श्रम स्वीकृतिको लागि श्रम विभागमा पुगे। पहिलो दिन नै किन भएन भनेर सोधखोज गर्दा सर्भर डाउन भएको कारण थाहा पाए र त्यो दिन नहुने जस्तो लागेपछि उनी फर्किए। अर्को दिन बिहानै पुगे श्रम विभाग। सोध खोज गरे अब हुन्छ होला जस्तो लागेको थियो बेलुका अवेरसम्म प्रतिक्षा गरे तर उनको हात खाली नै रह्यो।

महानिर्देशक कृष्ण दवाडीलाई भेटे र छिटो गरिदिन आग्रह गरे। केही समयमा हुन्छ भनेको उनको श्रम स्वीकृति दिउँसो २ बजेसम्म पनि नपाएपछि दुवाडी नै तातिए उनलाई श्रम स्वीकृति दिन। तर, दुवाडी भित्र गएर दुनुवारको पासपोर्ट खोजे, तर दुनुवारको पासपोर्ट नै भेटिएन

अर्को दिन पुन: बिहानै पुगे श्रम विभाग र विभागको महानिर्देशक कृष्ण दवाडीलाई भेटेर छिटो गरिदिन आग्रह गरे।  'केही समयमा हुन्छ' भनेको उनको श्रम स्वीकृति दिउँसो २ बजेसम्म पनि हात नलागेपछि दुवाडी नै तातिए उनलाई श्रम स्वीकृति दिन। तर, दुवाडी भित्र गएर दुनुवारको पासपोर्ट खोजे, तर दुनुवारको पासपोर्ट नै भेटिएन। 'धेरै ढिला भएपछि मैले महानिर्देशक सरलाई नै काम छिटो गरिदिन आग्रह गरेको तर पासपोर्ट नै हराएछ अब के गर्नु छट्टिमा आएको' दुनुवारले हामीसँग भने। 'तपाईँहरुले केही गर्न सक्नुहुन्छ भने सहयोग गरिदिनुस्', उनले थपे।

'साह्रै गाह्रो भयो, चक्कर नै आउला जस्तो भएको छ' भन्दै हामीलाई समेत नम्बर टिपाएर उनी बाहिर जान्छु भन्दै त्यहाँबाट हिडे।

काम र मामको खोजीमा विदेश जाने तयारीमा रहेका ज्ञवालीको श्रम स्वीकृति समेत नपाई मृत्यु भयो।

गत २३ गते श्रम स्वीकृतिको लागि गएका गुल्मीका दुर्गा ज्ञवाली श्रम स्वीकृतिको लागि लाइनमा बसेकै समयमा बहोस भए। काम र मामको खोजीमा विदेश जाने तयारीमा रहेका ज्ञवालीको श्रम स्वीकृति समेत नपाई मृत्यु भयो। उपचारको लागि कालीमाटीमा रहेको ज्योती अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भयो। तर विभागका अधिकारी लाइनमा नबसेको भर्खर आउँदा आउँदै बेहोस भएको दाबी गर्छन्।

 

के हो समस्या?

कात्तिक २२ गते श्रम विभागमा वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिनेको संख्या ठूलो थियो। २२ गते नै विदेश जानका लागि टिकट काटेकाहरु समेत श्रम स्वीकृतिको लागि श्रम विभाग पुगेका थिए। दिउँसो ११ बजेबाट सर्भर डाउन हुँदा सबै काम ठप्प हुन पुग्यो।

'२२ गते श्रम स्वीकृति लिनेहरुको ठूलो भीड थियो, दिउँसो ११ बजेबाट नै सर्भर डाउन भयो, सर्भर पूर्ण रुपमा डाउन भएको थिएन, त्यसदिन घण्टामा १५ जनालाई पनि दिन सकिएन, व्यवस्थापन गर्न निकै समस्या पर्‍यो', विभागका निर्देशक रुद्र पंगेनीले थाहाखबरलाई भने। सामान्य अवस्थामा एक घण्टामा ५० जनालाई स्वीकृति दिन सकिने जानकारी विभागका निर्देशक पंगेनीले बताए।

उनले आफूलाई थाहा भएसम्म टिकट छुट्न नदिएको हातले लेखेर भएपनि छिटो टिकट हुनेहरुको काम गरेको दाबी गर्छन्। तर श्रम स्वीकृति लिनको लागि विभागमा पुगेका एक व्यक्तिले म्यानपावरबाट आउने व्यक्तिहरुको काम भएको तर आफै आउनेहरुको काम नभएको बताए। 'मैले पनि बुझेको छु,मेरा पनि मान्छे छन्, सर्भर डाउन भएको हो, पूर्ण रुपमा डाउन भने भएको थिएन तर काम ढिला थियो, त्यसबेला म्यानपावरबाट आउनेहरुको स्वीकृति दिइएको हो', ती व्यक्तिले गुनासो गरे।

पत्रकारलाई श्रम विभागमा छिर्न कत्रो सकस

शुक्रबार बिहान श्रम विभागको व्लक 'बी'मा सर्वसाधारणको भीड थियो। त्यही भीडमा जाँदै थियौ हामी तर, गेटमै रोके सुरक्षाकर्मीले र मागे परिचय-पत्र। हामीले हाम्रो परिचय-पत्र दियौँ तर उनले हामीलाई भित्र छिर्न दिएनन्। पटक पटकको आग्रहपछि महानिर्देशकको स्वीकृति लिएर आउन भने। 'डीजीसाप आइसक्नु भएको छ उहाँको स्वीकृति लिएर आउनु अनि भित्र जानु होला', उनले भने।

महानिर्देशक लगायतका उच्च कर्मचारी बस्ने कक्ष व्लक 'ए'मा हामी गयौँ तर त्यहाँ ठूलो ताल्चा झुण्डिएको थियो। 

गेटपालेले महानिर्देशक नभएको जानकारी गराए। पल्लो विल्डिङमा जान कसको स्वीकृति लिनु पर्ने हो त? हामीले सोध्यौ। उनी केही पनि बोलेनन् त्यही विल्डिङबाट अर्को विल्डिङमा जाने बाटो रहेछ, त्यही बाटो प्रयोग गरेर हामी अर्को विल्डिङमा गयौ तर ती सुरक्षा अधिकारीले थाहा पाएनन्। पछि फर्कने बेलामा पुन: महानिर्देशकको कक्षतर्फ लाग्यौ। बिहानै आएका महानिर्देशक मन्त्रालयमा बैठकको लागि गएका रहेछन्। निर्देशकसँग कुरा गर्‍यौ। 'हामीलाई जान किन रोक लगाइएको हो?', उनले भने, 'हामीले त त्यसो भनेका छैनौ किन रोक लगाइयो थाहा भएन।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.