|

ओखलढुंगा : ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिमा वाम्बुले राई मातृभाषाको २० औं राष्ट्रिय कविता प्रतियोगिता सम्पन्न भएको छ। वाम्बुले राई समाजको २१ औं स्थापना दिवसको अवसरमा आयोजित २० औं कविगोष्ठी वाम्बुले राई मातृभाषीको राष्ट्रिय कविता प्रतियोगिता हो।

वाम्बुले राईहरुको मूल थातथलो भनेर चिनीने ओखलढुंगा मानेभन्ज्याङमा आयोजित प्रतियोगितामा २४ प्रतियोगीलाई उछिन्दै मानेभन्ज्याङ ५ का मातृभाषी कवि प्रशान्त राई प्रथम भएका छन्। त्यस्तै गरी प्रतियोगीतामा मानेभन्ज्याङ ५ कै नमेश राई दोश्रो, मानेभन्ज्याङ ६ का मंगलदर्शन राई तेश्रो भएका छन्। प्रतियोगितामा ‘खाक्चीलुपा रिनाखा’ शीर्षकमा कविता लेख्न लगाइएको थियो। मुन्धुम अनुसार वाम्बुले किरातको मूल पूर्खा खाक्चीलुपा र रिनाखा हुन्।

प्रतियोगिताका प्रमूख अतिति राष्ट्रिय गितका सर्जक व्याकुल माइलाले उनीहरूलाई पुरस्कार प्रदान गरका थिए। पुरस्कार राशी क्रमशः ५ हजार, ३ हजार, २ हजार र एक/एक हजार रहेको थियो  सोही अवसरमा मातृभाषाकै पत्रिका ‘लिब्जु-भुम्जु’ मा प्रकाशित कविता मध्येबाट वर्षभरिको उत्कृष्ट कविको रुपमा सुमन जावाले लिब्जु भुम्जु पुरस्कार प्राप्त गरे। उनको आ कावा (मेरो साथी) शीर्षकको कविता उत्कृष्ट घोषित भएको थियो। नेपाली मातृभाषा साहित्यमा वाम्बुले राई भाषाको उपस्थिति बलियो भएको राष्ट्रिय गानका सर्जक व्याकुल माइलाले बताए।

वाम्बुले राईहरुको मूल थातथला ओखलढुंगाको उँबु चौरासलाई मानिन्छ। हाल ओखलढुंगा, उदयपुर, सिन्धुली, खोटाङ मुल थातथलोको रुपमा रही देश विदेशका विभिन्न भागमा वाम्बुले राईहरु बसोबास गर्दै आएका छन्। राष्ट्रिय जनगणना २०६८अनुसार १३ हजार ९०० ले वाम्बुले भाषा बोल्ने गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.